२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

काठमाडौं पुगे चीनका नयाँ राजदूत झाङ माओमिङ

चीनले झाङ माओमिङलाई नेपालका लागि २३औँ राजदूत नियुक्त गरेको छ। चीनका राष्ट्रपति सी चिनफिङको विश्वास र सन्देश बोकेर उनी शुक्रबार काठमाडौं आइपुगेका छन्।

नेपाल पुगेपछि जारी गरेको सन्देशमा राजदूत झाङले नेपाल र चीनबीचको मित्रता अझ बलियो बनाउने पूर्ण प्रतिबद्धता जनाएका छन्।

उनले भनेका छन्, ‘दुई देशबीच ७१ वर्षदेखि राम्रो मित्रता छ। नेपालले सधैं चीनको एक चीन नीतिलाई बलियो समर्थन गरेको छ। चीनको मुख्य हितका विषयमा नेपालले सधैं साथ दिएको छ।’

उनका अनुसार चीनले पनि नेपालको स्वतन्त्रता, सार्वभौमिकता र देशको अखण्डता जोगाउन, आफ्नै अवस्थामा मिल्ने विकास बाटो अपनाउन तथा आर्थिक र सामाजिक विकास गरी जनताको जीवन राम्रो बनाउन सधैं सहयोग गर्दै आएको छ।

सन् २०१९ मा राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमण गर्दा दुई देशको सम्बन्धलाई ‘सदाबहार मित्रता, विकास र समृद्धिका लागि रणनीतिक साझेदारी’ मा उकासेको उनको भनाइ रहेको छ।

उनको सन्देशमा सन् २०२६ चीनको १५औं पञ्चवर्षीय योजनाको सुरुको वर्ष भन्दै यस वर्ष चीनले आधुनिकीकरणलाई तीव्र बनाउने र बाहिरी देशसँग अझ बढी खुला हुने नीति अघि बढाउने बताइएको छ। यसले नेपाललगायत विश्वका देशलाई नयाँ अवसर दिन्छ। नेपाल पनि अहिले ठूलो परिवर्तनको चरणमा छ।

उनले भनेका छन्, ‘हामी दुवै देशले चारवटा विश्वव्यापी पहललाई कार्यान्वयन गर्नेछौं। दक्षिणी देशहरूबीच एकता र सहकार्य बढाउँछौं। समान र सबैलाई फाइदा पुग्ने विश्वव्यापीकरणलाई अगाडि बढाउँछौं। यसरी मानवजातिको साझा भविष्य बनाउन योगदान दिन्छौं।’

नयाँ राजदूतको रूपमा उनले राष्ट्रपति सी चिनफिङ र नेपालका नेताहरूले गरेका सहमति पूरा गर्ने बताएका छन्। नेपालका विभिन्न क्षेत्रका मानिसहरूसँग मिलेर पुरानो मित्रता जोगाउने र सबै क्षेत्रमा सहकार्य बढाउने उनको योजना छ।

सन्देशमा दूतावासले जनतामुखी कूटनीति जारी राख्ने उल्लेख छ। साथै, नेपालमा बस्ने चिनियाँ नागरिकको अधिकार र हितको रक्षा गर्ने सन्देश दिएका छन्।  

एक अर्को सन्देशमा उनले चीन र नेपाललाई हिमाल र नदीले जोडिएका निकट छिमेकीका रूपमा उल्लेख गरेका छन्। १६ सय वर्षभन्दा पहिले फा हिङ र बुद्धभद्र जस्ता भिक्षुहरूले एकअर्काको देश भ्रमण गरी बौद्ध ग्रन्थहरूको अनुवाद गरेको कुरा पनि उनले स्मरण गरेका छन्। ताङ वंशमा नेपाली राजकुमारी भृकुटीको विवाह तिब्बतका राजा स्रोंगत्सेन गम्पोसँग भएको थियो भने चिनियाँ भिक्षु ह्वेन साङले लुम्बिनी भ्रमण गरी बहुमूल्य विवरण लेखेका थिए।  

युआन वंशमा नेपाली वास्तुकार अरनिकोले बेइजिङको मियाओयिङ मन्दिरको सेतो स्तूपलगायतका संरचनाहरू निर्माण गरेका थिए। यी ऐतिहासिक सम्बन्धले दुई देशको सदाबहार मित्रतालाई अझ गहिरो बनाएको टिप्पणी समेत उनले गरेका छन्।

प्रकाशित: १ फाल्गुन २०८२ २१:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App