राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनमा जुम्लाको हिमा गाउँपालिका जिल्लामै पहिलो बनेको छ।
आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादन मूल्यांकनमा हिमा गाउँपालिकाले कुल ६४ दशमलव २ प्रतिशत अंक प्राप्त गर्दै उत्कृष्ट नतिजा हात पारेको हो। जुम्लाका एक नगरपालिकासहित सात गाउँपालिकामध्ये हिमा शीर्ष स्थानमा परेको आयोगको प्रतिवेदनमा उल्लेख छ।
आयोगले स्थानीय तहको मूल्यांकन आर्थिक वर्षको राजस्व तथा आय–व्यय अनुमान समयमै गाउँसभामा पेस भए/नभएको, बजेट समयमा पारित भएको/नभएको, प्रदेश र संघमा पठाउनुपर्ने राजस्व समयमै पठाइएको/नपठाइएको, शिक्षा, स्वास्थ्य, राजस्व संकलन, विद्यार्थी भर्ना, चालु तथा पुँजीगत खर्चलगायत १७ वटा सूचकका आधारमा गरेको थियो।
प्रतिवेदन सार्वजनिक भएपछि हिमा गाउँपालिकाले आगामी दिनमा अझ प्रभावकारी ढंगले काम गर्ने ऊर्जा मिलेको जनाएको छ।
यस्तै, कनकासुन्दरी गाउँपालिकाले ६० दशमलव ८४ प्रतिशत अंकसहित दोस्रो स्थान हासिल गरेको छ भने सिंजा गाउँपालिकाले ५७ दशमलव ९५ प्रतिशत अंक ल्याउँदै तेस्रो स्थानमा रहन सफल भएको छ। तातोपानी गाउँपालिकाले ५७ दशमलव ८८, गुठिचौर गाउँपालिकाले ५४ दशमलव २८ र चन्दननाथ नगरपालिकाले ४८ दशमलव ६५ अंक प्राप्त गरेका छन्।
त्यसैगरी तिला गाउँपालिकाले ४७ दशमलव ९० प्रतिशत अंक पाएको छ भने सबैभन्दा कमजोर प्रदर्शन पातारासी गाउँपालिकाको देखिएको छ, जसले ४४ दशमलव १६ प्रतिशत अंक मात्र प्राप्त गरेको आयोगको तथ्यांकमा उल्लेख गरिएको छ।
प्रकाशित: १ फाल्गुन २०८२ २२:०० शुक्रबार





