१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

बाँदर आतंकले हैरान किसान नाराबाजी गर्दै सदरमुकाममा

गाउँमा बाँदर आतंकले चरम सास्तीसँगै मानवीय क्षतिसमेत हुन थालेपछि जिल्लाको मेलुङ गाउँपालिका ७ का स्थानीयले बुधबार सदरमुकाम चरिकोटमा प्रदर्शन गरेका छन्।

गाउँबाट सदरमुकाम आइपुगेका उनिहरुले बजार क्षेत्रमा बाँदर आतंक रोक्न सरकारले पहल नगरेको भन्दै आक्रोशस्वरुप नाराबाजी गरे। मेलुङ– ७ का वडाध्यक्ष नवराज खड्काको नेतृत्वमा आएका गाउँलेको जुलुस सदरमुकामका विभिन्न क्षेत्रको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय पुगेको थियो। प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई गाउँलेले ज्ञापनपत्र बुझाएका थिए।

स्थानीय बलराम श्रेष्ठले गाउँमा हुलका हुल बाँदर पसेर बालीनाली सखाप पार्नुका साथै घर र बस्तीमै पसेर मानिसलाई टोकेर घाइते बनाउने गरेको सुनाए।

श्रेष्ठकी बुहारी लक्ष्मी श्रेष्ठको बाँदर धपाउने क्रममा गत वर्ष भीरबाट लडेर मृत्यु भएको थियो। ‘गाउँलेको कामै बिहानदेखि रातिसम्म खेतबारीमै बसेर बाँदर धपाउने भएको छ, हुलका हुल आउँछन्, घाइते बनाउँछन्’, उनले भने, ‘गत वर्ष बुहारी गुमायौं।’

स्थानीय संगीता भण्डारीले बाँदर घरमै पसेर खानेकुरा बोकेर हिँड्न थालेको र आतंकले चरम रुप लिएको सुनाए। ‘पालीबाट घरभित्र पसेर भद्रगोल मच्चाइदिन्छ, घरभित्रको अन्नसमेत जोगाउन सकेनौं’, उनले भनिन्।

गाउँमा युवा नरहेको र वृद्ववृद्वा र केटाकेटी मात्रै रहेकाले हुलका हुल आउने बाँदर नियन्त्रण गर्न नसके बालीनाली मात्र सखाप नभई मानवीय क्षति झन् बढ्ने वडाध्यक्ष खड्काले बताए। गाउँलेले जिल्लास्थित राजनीतिक दलका प्रमुखहरुलाई समेत ज्ञापनपत्र बुझाएका छन्।

प्रकाशित: ३० जेष्ठ २०८१ १२:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App