१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

भारतलाई बुझाइयो हत्या आरोपी हुसेन

बंगलादेशका सांसद अनवरुल अजिम अनारको हत्यामा संलग्न रहेको आरोप लागेका बंगलादेशी नागरिक मोहम्मद सियाम हुसेनलाई नेपाल प्रहरीले सुटुक्क भारत पठाइदिएको छ। नेपाल प्रहरीले सोमबार बिहान हुसेनलाई भारतीय अधिकारीको जिम्मा लगाएको हो। उनलाई स्थलमार्गबाट भारततर्फ पठाइएको नेपाल प्रहरी उच्च स्रोतले बतायो।

नेपाल प्रहरीले हुसेनलाई बिहीबार पक्राउ गरेको थियो। हुसेनलाई बंगलादेश प्रहरीले मागेको भए पनि उनी भारतबाटै आएको कारण देखाएर भारततर्फ पठाइएको हो। ‘मोहम्मद सियाम हुसेनलाई सोमबार बिहान नेपाल इन्टरपोल शाखाले नेपाल प्रहरीको सम्पर्कमा आएका भारतीय अधिकारीको जिम्मा लगाइदिएको हो,’ प्रहरी उच्च स्रोतले भन्यो। प्रहरीका अनुसार सुरुदेखि नै विशेष ब्युरो र इन्टरपोल शाखाले हुसेनलाई डिपोर्ट गर्ने विषयमा छलफल गरेका थिए।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी दानबहादुर कार्कीले यो विषयमा आफूलाई कुनै जानकारी नभएको बताए। ‘मलाई र नेपाल प्रहरीलाई जानकारी छैन, शनिबार बंगलादेशबाट प्रकाशित हुने पत्रपत्रिकामा समाचार आएको देखेथें। अरू केही थाहा भएन,’ प्रवक्ता एवं डिआइजी कार्कीले भने। उनका अनुसार यस्ता किसिमका शंकास्पद मानिस पक्राउ परेकोबारे केन्द्रीय प्रहरीलाई जानकारी नै हुँदैन।  

बंगलादेशी सांसदको हत्या आरोप लागेका हुसेन नेपालको सीमा क्षेत्रबाट बिहीबार राति पक्राउ परेका थिए। उनलाई बंगलादेश नपठाउन भारतको उच्च तहबाट समेत नेपाल प्रहरीलाई आग्रह गरिएको थियो।

भारतीय गृह मन्त्रालयका एक अधिकारीले नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवरलाई हुसेनको पक्राउप्रति धन्यवादसमेत दिएका थिए। हुसेनलाई लिन बंगलादेशबाट नेपाल आएका प्रहरीले कूटनीतिक पहल गरेको भए पनि नेपाल प्रहरीले दिल्ली प्रहरीसँग समन्वय गर्न आग्रह गर्दै आफूहरूले उतै पठाइदिने भनेको थियो।.

‘हामीले दिल्लीमै सम्पर्क गर्नुस् उतै पठाइदिन्छौं, जीवन रक्षाको पनि कुरा भएकाले सिधै बंगलादेश पठाउन नसकिने भनेर बंगलादेशबाट आएको प्रहरी टोलीलाई भनेका थियौं,’ नेपाल प्रहरी विशेष ब्युरोका एक अधिकारीले भने। ती अधिकारीका अनुसार नेपाल प्रहरीका आइजिपी कुँवर, डिआइजी रामदत्त जोशी र इन्टरपोल शाखाका एक अधिकारीलाई मात्रै यसबारे जानकारी थियो।

बंगलादेश प्रहरीलाई नेपालको कुनै पनि मुलुकसँग हालसम्म सुपुर्दगी सन्धि नभएको भन्दै हुसेनलाई बंगलादेश पठाउन नसकिने जवाफ पनि प्रहरीले दिएको थियो। हुुसेनलाई सिधै बंगलादेश पठाउँदा त्यहाँको कानुनअनुसार मृत्युदण्ड हुने भएकाले पनि नेपाल प्रहरी हच्किएको हो।

‘यो घटनामा संलग्नलाई क्रिमिनल कन्स्पाइरेसी एक्टअनुसार कारबाही हुन्छ। त्यसकारण पनि हामीले बंगलादेशलाई भन्दा भारतबाट आएको भएकाले उतै पठाउँदा ठिक हुन्छ भन्ने लागेर पठाएका हौं,’ नेपाल प्रहरीका एक अधिकृतले भने।

नेपाल–भारतका प्रहरीबीच अनौपचारिक रूपमा लामो समयदेखि अपराध नियन्त्रणमा सहकार्य हुँदै आएको र अपराधी पनि लेनदेन हुँदै आएकाले यसमा दुवै देशको रुचि मिलेको थियो। बंगलादेशी सांसदको कोलकातामा हत्या भएकाले पनि भारततर्फ पठाउन सहज हुने प्रहरीले ठानेको हो।

हुसेनलाई लिन महानगरीय प्रहरी कार्यालय ढाकाअन्तर्गत डिटेक्टिभ ब्रान्च (डिबी) बाट चार सदस्यीय टोली काठमाडौं आएको थियो। सो टोलीले नेपाल प्रहरीका उच्च अधिकारीसँग भेटघाट गरेर हुसेनलाई डिपोर्ट गरिदिन आग्रह गरेको थियो। तर नेपाल प्रहरीले त्यसो नगरेपछि बंगलादेशी प्रहरी टोली त्यसै फर्किएको थियो।

हुसेन सांसद अनारको हत्या आरोपित रहेको थाहा पाएपछि उनलाई विशेष निगरानीका साथ प्रहरीले हिरासतमा राखेको थियो। बंगलादेशका सांसद अनारको २०२४ मे २२ मा भारतको कोलकातामा हत्या भएको अवस्थामा शव फेला परेको थियो। उनको हत्यामा संलग्न भएको आरोपमा भारतीय प्रहरीले केहीलाई पक्राउ गरेको र केही संदिग्ध व्यक्ति फरार रहेको जनाएको थियो।

हत्या आरोपमा तीनजना बंगलादेशी र एक भारतीय पक्राउ परेको भारतीय समाचार संस्थाले जनाएका छन्। तर हत्यामा संलग्न भनिएका हुसेनसहित चारजना फरार रहेको समाचार भारतीय समाचार संस्थाले प्रवाह गरेका थिए। सांसद अनारको हत्या आरोपित केही व्यक्ति भारतमै पक्राउ परेका र केही नेपाल पसेको भारतीय गुप्तचर संस्थाहरूले जनाएका थिए। त्यसकै आधारमा नेपाल प्रहरीले संदिग्ध व्यक्तिहरूमाथि निगरानी बढाएको थियो।

बंगलादेशको गुप्तचरी निकायका अधिकारीले सांसद अनारले अमेरिकी साथी र मोहम्मद अख्तरज्जमानसँग मिलेर सुन तस्करी धन्दा चलाएको आशंका गरेका छन्। उनीहरूले दुबईबाट बंगलादेश हुँदै भारतसम्म तस्करीको सुन ओसारपसार गर्थे।

गत वर्ष अनार र अख्तरज्जमानबीच तस्करीको सुनको हिस्सालाई लिएर विवाद भएको थियो। त्यसपछि उनीहरूबीचको मित्रतामा दरार आएको थियो। अख्तरज्जमान पनि सांसद अनार हत्याका आरोपित हुन्। बंगलादेश प्रहरीले सांसद अनारको हत्यामा थप प्रभावशाली व्यक्ति पनि संलग्न भएको आशंका गरेको छ।

नेपालको बाटो हुँदै २१ मेमा अमेरिका पुगेका हत्या आरोपित अख्तरज्जमानलाई पक्राउ गर्न बंगलादेश प्रहरीले इन्टरपोलको सहयोग लिने जनाएको छ। तर अहिलेसम्म अदालतमा अख्तरज्जमानको मुद्दा नपुगेकाले रेड नोटिस जारी हुन सकेको छैन।

हत्या आरोपमा भारतमा पक्राउ परेका जिहाद हवलदारले भारतीय प्रहरीलाई शव टुक्राटुक्रा पारेर फालेको बयान दिएका छन्। समाचार एजेन्सी पिटिआईका अनुसार बंगलादेशी प्रहरी र डिटेक्टिभ ब्रान्चका अधिकारी घटनाको अनुसन्धान गर्न कोलकाता पुगेका थिए। त्यहाँ उनीहरूले हत्या आरोपमा पक्राउ परेका हवलदारसँग सोधपुछ गरेका थिए।

यसअघि शनिबार सिआइडीले गिरफ्तार अभियुक्त हवलदारलाई उद्धृत गर्दै सांसद अनारको फ्ल्याटमा प्रवेश गरेको १५ मिनेटभित्रै सम्पूर्ण घटना भएको बताएको थियो। अनारलाई बेहोस बनाउन क्लोरोफर्म प्रयोग गरिएको थियो। त्यसपछि सिरानीको सहाराले उनको हत्या गरिएको हवलदारले बयानमा बताएका थिए। हत्याराले शवका टुक्रा प्लास्टिकको झोलाले बेरेर सुटकेसमा राखेर फालेको सिआइडीले जनाएको छ।

सांसद अनारको हत्या कहिले भयो भन्ने यकिन नभए पनि उनको शव कोलकाता प्रहरीले २२ मेमा फेला पारेको थियो। भारतीय सुरक्षा अधिकारीले सांसद अनारको हत्या २२ मेअघि नै भइसकेको अनुमान गरेका छन्। भारतीय समाचार संस्थाका अनुसार अख्तरज्जमानकै निर्देशनमा सांसद अनारको हत्या गरिएको बयान हवलदारले दिएका छन्।

५६ वर्षीय सांसद अनारको हत्यापछि फरार अख्तरज्जमान अमेरिका पुगिसकेको नेपाल प्रहरीको दाबी छ। अनार उपचारका लागि २०२४ मे १२ मा कोलकाता आएका थिए। भोलिपल्ट उनले आफ्नो परिवारलाई दिल्ली जाँदै गरेको बताएका थिए। त्यसपछि सम्पर्कमा नआएपछि उनको खोजी भएको थियो।

प्रकाशित: २४ जेष्ठ २०८१ ०६:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App