१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

जातीय अतिवाद र धर्मान्तरले मौलिक संस्कृति विघटन उन्मुख : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जाल विषाक्तताले भरिँदै गएकाले सकारात्मक चिजले त्यसलाई शुद्धीकरण गर्दै लानुपर्नेमा जोड दिएका छन् । बागमती प्रदेश सम्पर्क कमिटीद्वारा शुक्रबार काठमाडौंमा आयोजित दसैं, तिहार, नेपाल संवत, छठलगायत पर्वहरूको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा उनले त्यस्तो बताएका हुन् ।

‘अचेल अराजक भिडहरूले सामाजिक सञ्जालमा आजकल धेरै नै खराब चिजहरू, अति विषाक्त नकारात्मक सोचहरू फैलाइरहेका छन्,’ उनले भने, ‘त्यसलाई अब रोक्न सक्नुपर्छ ।’ सामाजिक सञ्जाललाई राजमार्गको संज्ञा दिँदै उनले खराब कुराले त्यसलाई अवरुद्ध गरिरहेको उल्लेख गरे । ‘सोसल मिडिया भनेको राजमार्ग हो । त्यो राजमार्गमा खराब चिजहरू हिँडेर ट्राफिक जाम भइरहेको छ । अब असल सोच र चिजहरुले त्यो राजमार्ग कब्जा गर्नुपर्छ ।

 त्यसले गर्दा धेरै विषाक्त नकारात्मक सोचहरू फैलिन नपाऊन् ।’ एमालेका नेता–कार्यकर्ताले सोसल मिडियामा प्रभावकारी रूपमा निरन्तर सक्रिय रहेर सामाजिक शुद्धीकरण गर्नुपर्ने उनको भनाइ थियो ।

सामाजिक सञ्जालमा राखिने नकारात्मक सोचहरूकै कारण मौलिक संस्कृतिहरू पनि विघटन उन्मुख हुँदै गएकोमा चिन्ता व्यक्त गरे । खासगरी  जातीय र धार्मिक अतिवादका साथै धर्मान्तरणले गर्दा मौलिक संस्कृतिका सकारात्मक मूल्यमान्यताहरू कमजोर हुँदै गएको उनको भनाइ थियो । ‘हामीले विभिन्न चाडवर्प मान्दै आएका छौं । नेपालका सबै जातजाति धर्मावलम्बीको संस्कार, संस्कृति, चाडपर्व नै सबल राष्ट्र निर्माणका अधारहरू हुन् । 

यिनै चिजहरू सहअस्तित्व, सहिष्णुता र सद्भावका आधार र कारणहरु पनि हुन्,’ उनले भने, ‘आजकल ती मौलिक संस्कृतिहरुका सकारात्मक मूल्य मान्यता अनि आधार र कारणहरु तीव्र गतिमा विघटन हुदै जाँदै छन् । विशेषत जातीय र धार्मिक अतिवादका साथै धर्मान्तरणले गर्दा हाम्रा मौलिक संस्कृतिका सकारात्मक मूल्य मान्यताहरु कमजोर बन्दै जाँदै छन् ।’ यस्तो अवस्थालाई रोक्ने र सन्तुलित वातावरणमा सहअस्तित्व, सहिष्णुता र सद्भाव कायम गर्न एमालेको नीतिले विशेष भूमिका खेलेको जिकिर उनले गरे ।

कार्यक्रममा एमाले नेताहरू लालबाबु पण्डित, आनन्द प्रसाद पोखरेल, सरस्वती बस्नेत, रुकमणी रानामगर, कल्पना थापा, श्यामकुमार बस्नेतलगायतले शुभकामना मन्तव्य राखेका थिए । त्यस्तै कमिटी अध्यक्ष अशोककुमार ठकुरी, उपाध्यक्ष सरोज मोहन लामाले र सचिव धन बहादुर पुलामीले मञ्चले विभिन्न राजनीतिक तथा सामाजिक गतिविधि गर्दै आएको र मौलिक संस्कृतिको संरक्षणमा जोड दिँदै शुभकामना आदानप्रदानसहित विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको बताए ।

प्रकाशित: ११ आश्विन २०८१ २२:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App