जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार जबरजस्ती करणी मुद्दामा १३ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवानाको सजाय पाएका इनरुवा नगरपालिका-९ का २० वर्षीय आकाश कुमार खत्वेलाई प्रहरीले पक्राउ गरेको हो।
सुनसरी जिल्ला अदालतले २०८२ वैशाख ३ गते गरेको फैसलाअनुसार खत्वे झुम्का कारागारमा कैद भुक्तान गरिरहेका थिए। उनले एक वर्ष आठ महिना छ दिन कैद भुक्तान गरिसकेका थिए। गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा उनी कारागारबाट फरार भएका थिए। त्यसपछि उनले ११ वर्ष तीन महिना २४ दिन कैद र पाँच लाख रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी थियो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आइतबार साँझ ६ बजे अस्थायी प्रहरी पोस्ट साम्बालाबाट खटिएको प्रहरी टोलीले उनलाई आफ्नै घरबाट पक्राउ गरेको हो। पक्राउ परेका खत्वेलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको प्रहरीले जनाएको छ।
प्रकाशित: २२ कार्तिक २०८३ २२:११ आइतबार





