२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

अपांगता भएकालाई शिविरमार्फत परिचयपत्र

शिविरमा आएका अपांगता भएकाहरू। तस्बिर : नागरिक

उदयपुरको विकट पहाडी गाउँपालिका लिमचुङबुङका पाँचवटै वडामा अपांगता घुम्ती शिविर सम्पन्न भएको छ। अशक्त अपांगता भएकाहरूलाई गाउँपालिका केन्द्रसम्म आएर परिचयपत्र लिन नसक्ने भएकाले वडावडामा घुम्ती शिविर सञ्चालन गरी परिचयपत्र वितरण गर्ने व्यवस्था मिलाइएको हो।

वडा नं. १ बाँसबोटेबाट सुरु शिविर मंगलबार ३ नं. वडा बाराहामा सञ्चालन गर्दै सकिएको छ। जसबाट सबै वडाका अपांगता भएका ७० महिला र ९५ पुरुष गरी १६५ जना लाभान्वित भएको प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङले बताए। गुरुङ स्वयं कर्मचारीले टोलीको नेतृत्व गर्दै पाँचओटै वडा पुगेर शिविर सञ्चालन गरेका हुन्।

जेठ १७ गते १ नं. वडाको बाँसबोटेस्थित स्वास्थ्य चौकीमा पहिलो दिनको शिविर सञ्चालन गर्दै अघि बढेको अभियान २१ गते बाराहामा सञ्चालन भएको हो। १८ गते २ नं. वडा ताम्लिछा, १९ गते ४ बलम्ता र २० गते ५ नं. वडा जाँतेमा शिविर सञ्चालन गरिएको थियो।

हाकिम गुरुङका अनुसार १ नं. वडामा १८ महिला र २६ पुरुष गरी ४४ जना अपांगता भएकाहरूले परिचयपत्र पाएका छन्। त्यस्तै २ नं. मा १४ महिला र १३ पुरुष गरी २७ जना लाभान्वित हुँदा ३ नं. मा १९ महिला र २० पुरुष गरी ३९ जनाले परिचयपत्र पाएका छन्।

त्यसैगरी ४ नं. मा ६ महिला र १४ पुरुष गरी २० जनाले परिचय पत्र पाए भने ५ नंं. वडा जाँतेका १३ महिला र २२ पुरुष गरी ३५ अपांगता व्यक्तिहरू लाभान्वित भएका छन्।

प्रमुख प्रशासकीय अधकिृत गुरुङका अनुसार शिविर अभियान प्रदेश सामाजिक विकास मन्त्रालय र करुणा फाउन्डेसनसँगको साझेदारीमा गाउँपालिकाले सञ्चालनमा ल्याएको हो। करुणा फाउन्डेसन र प्रदेश सरकारले जन्मजात अपांगताको सुरक्षा गर्दै जन्मपछि हुने अपांगता रोक्न गाउँपालिकालाई सहयोग गर्ने त्रिपक्षीय सम्झौता भएको छ।

‘अपांगता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम’ अन्तर्गत सञ्चालित शिविरले पुराना अपांगता भएकाहरूको सुरक्षा गर्ने तथा आगामी दिनमा नयाँ अपांगता हुन नदिने योजना अघि सारेको छ। यो कार्यक्रमले गाउँका सबैखाले अपांगता भएकाहरूको पुनस्र्थापना गर्न उनीहरूका परिवारका सदस्यलाई आयआर्जनमा लगाउने गरी विभिन्न सिपयुक्त तालिम दिने तथा अन्य अपांगमैत्री गतिविधि पनि गर्ने गरेको छ।

त्यस्तै आगामी दिनमा कोही अपांगता नहोऊन् भनेर रोकथामका उपाय पनि अवलम्बन गर्न यस कार्यक्रमको योजना रहेको छ।

प्रकाशित: २३ जेष्ठ २०८१ ०७:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App