१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

दुईजनाको ज्यान लिएर फरार टिप्पर चालक ५ वर्षपछि पक्राउ

उदयपुरमा दुईजनाको ज्यान जाने गरी मोटरसाईकललाई ठक्कर दिएर फरार रहेका टिप्पर चालक ५ वर्षपछि चितवनबाट पक्राउ परेका छन्। ०७६ असार ४ गते बिहान चौदण्डीगढी नगरपालिका ७ लाटीखोलास्थित शनिवारेमा मोटरसाईकललाई ठक्कर दिएर फरार बा २ क ७०९ नम्बरको टिप्पर चालक २६ वर्षीय सरोज प्रजा चेपाङ बिहीबार पक्राउ परेका हुन्।

बिहान पौने ९ः०० बजे बसाहाबाट बेलटारतर्फ जाँदै गरेको टिप्परले स ४ प ३६१ नं.को मोटरसाईकललाई पछाडिबाट ठक्कर दिएको थियो। दुर्घटनाबाट गम्भीर घाईते भएका मोटरसाईकल चालक चौदण्डीगढी ४ का ४७ वर्षीय खगेन्द्र राई र पछाडी सवार ४७ वर्षीय जीवनकुमार साम्पाङ राईको घटनास्थलमै ज्यान गएको थियो।

घटना घटाएर फरार रहेका चितवनको भण्डारा राप्ती नगरपालिका ६ का चेपाङलाई उदयपुर प्रहरीले उनकै गाउँबाट नियन्त्रणमा लिएको हो।

सवारी ज्यान मुद्दामा फरार सूचीमा रहेका चेपाङलाई खोजबिनकै क्रममा इलाका प्रहरी कार्यालय बेलटारबाट खटेको टोलीले चितवन पुगेरै नियन्त्रणमा लिएको हो।

उनलाई इलाका प्रहरी कार्यालय बेलटारमा आवश्यक अनुसन्धानपछि शुक्रबार सदरमुकाम गाईघाट ल्याइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन चापागाईले बताए। 

उनका अनुसार रसुवा कम्पनी प्रालिको टिप्पर चालक रहेका चेपाङ घट्नापछि लुखिछिपी बस्दै आएका थिए। चेपाङमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ४ जेष्ठ २०८१ ११:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App