१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

ह्वात्तै घट्यो काठमाडौंको प्रदूषण

राजधानी काठमाडौंको प्रदूषण ह्वात्तै घटेको छ। केही दिनयता पानी नपर्दा काठमाडौं विश्वमै सबैभन्दा प्रदूषित सहर बनेको थियो। काठमाडौंको वायुको गुणस्तर मापन इन्डेक्स (एक्यूआई) २०० भन्दा माथि पुगेकोमा आइतबार पानी पर्दासम्म वायुको गुणस्तर मापन इन्डेक्स (एक्यूआई) ६४ मा झरेको छ।

हाल काठमाडौं विश्वमै प्रदूषणको हिसाबले ३८औं नम्बरमा रहेको छ। काठमाडौंमा पानी अझै केहीदिन पर्ने भएकाले प्रदूषण अझै घट्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद सरोज पुडासैनीले नागरिक न्यूजलाई बताए।

काठमाडौं उपत्यकासहित बागमती, गण्डकी मधेश लुम्बेनी र कोशी प्रदेशका पहाडी भूभागमा पानी परिरहेको छ। यसले प्रदूषण कम गर्न राहत मिलेको मौसमविद पुडासैनीले बताए।

उनले भने, ‘देशभरका वनमा डढेलो लागेको थियो। जसका कारण वायुप्रदूषण बढेर काठमाडौँ विश्वमै पहिलो प्रदूषित सहर बन्न पुग्यो। साथै देशका अन्य सहरमा पनि हावा अस्वस्थ बनेको थियो।’

‘वनमा लागेको डढेलो पनि निभाउन गाह्रो भएको थियो। लामो समयपछि पानी पर्‍यो। डढेलो पनि निभ्यो। वायुप्रदूषण पनि कम भयो’, मौसमविद् पुडासैनीले भने।

उनका अनुसार आइतबार देशभरिमा सबैभन्दा धेरै लमजुङको कुन्चामा ३५.८ मिलिमिटर वर्षा भएको छ। यसैगरी सिन्धुपालचोक ढुङ्गेमा २०.६ मिलिमिटर वर्षा मापन भएको छ।

अहिले प्रिमनसुनको समय भएकाले साँझपख हावाहुरी, चट्याङ र पानी पर्ने क्रम भोली र पर्सितिर पनि हुन सक्ने मौसमविदले पूर्वानुमान गरेका छन्।

महाशाखाले आइतबार जारी गरेको बुलेटिनमा पनि भोलि कोशी, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित पानी पर्ने उल्लेख गरेको छ।

पछिल्लो समय डढेलोका कारण वायु प्रदूषण निकै बढेको थियो। वर्षापछि प्रदूषण कम भएको छ। देशभरका सामुदायिक वनमा डढेलो लागेको थियो। पानी परेपछि वनमा  लागेको डढेलो पनि निभेको छ।

प्रकाशित: ३० वैशाख २०८१ १३:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App