१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

लुम्बिनी पर्यटन सर्किट बनाउने तयारी भइरहेको छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको पर्यटन प्रवद्र्धनका लागि प्रदेशका १२ जिल्ला समेटी‘‘लुम्बिनी पर्यटन सर्किट’ बनाउने तयारी भइरहेको बताएका छन् ।

विश्व पर्यटन दिवसका अवसरमा शुक्रबार घोराहीमा उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद् र घोराही उपमहानगरपालिकाको आयोजनामा भएको कार्यक्रममा उनले‘लुम्बिनी घुमौं’ अभियानलाई व्यापक बनाउने समेत घोषणा गरे। “म सबैलाई एकपटक लुम्बिनी भ्रमण गर्न आह्वान गर्छु, लुम्बिनी प्रदेश पर्यटनको केन्द्र हो । यहाँका हरेक जिल्ला पर्यटकीय हिसाबले उपयुक्त छन् ।”

उनले लुम्बिनी विदेशी पर्यटक भित्र्याउन अन्तर्राष्ट्रिय स्तरमा पनि समन्वय भइरहेको बताए। “लुम्बिनी प्रदेश पर्यटकीय दृष्टिकोणले अगाडि छ, विभिन्न जातजाति, समुदायको कला संस्कृतिले लुम्बिनीको पहिचान विश्व समुदायमा पुगेको छ”, उनले भने ।

उद्योग  पर्यटन  तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले पर्यटन क्षेत्रको विकासमार्फत रोजगारी सृजना गर्ने सकिने बताए । “देशमा केही छैन, केही हुँदैन भन्ने भाष्यका कारण युवा पलायनको स्थितिलाई सरकारले गम्भीरतापूर्वक लिएको छ । नेपालमा भएका सम्भावना र अवसरको पहिचान गरी यही रोजगारी सृजना गर्नुपर्छ”,  उनले भने ।  यसका लागि प्रदेश सरकारले प्रदेशका १२ वटै जिल्लाको सम्भावनाको पहिचान गरी काम गर्ने बताए। त्यसअवसरमा घोराही उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख हुमाकुमारी डिसीले पर्यटनको विकासबाट समृद्धी हासिल गर्न सकिने उल्लेख गरे ।

झाँकी र रैथाने परिकार

पर्यटन दिवसका अवसरमा विभिन्न समुदायको झाँकी, रैथाने परिकार, हस्तकलाका सामग्री प्रदर्शनी गरिएको छ । त्यसअवसरमा तुलसीपुरले गन्धर्व समुदायको मालाश्री सारङ्गी धुन, अवधि संरक्षण प्रतिष्ठान गढवाले अवधि नाच, देउखुरीका थारु समुदायले कठघोरी नाच प्रस्तुत गरेका थिए । नेवार सेवा समाज दाङको लाखे नाच, तुलसीपुर गरगरवाका स्थानीयले नुवागाउँले सोरठी नाच प्रस्तुत गरेका थिए ।पाल्पा मिस्दी गाउँपालिकाको कौरा नाच, घोराही–१० को थारु समुदायको वडाका नाच, घोराही–१७ का थारु समुदायको सख्या नाच, लुकमेली खाम समाजको भुम्या नाच पनि प्रस्तुत गरिएको थियो ।

उत्कृष्टलाई पुरस्कार

पर्यटन दिवसका अवसरमा सहभागी उत्कृष्ट झाँकी, नृत्य र हस्तकलालाई पुरस्कृत गरिएको छ । मूल्याङ्कन समितिका अनुसार झाँकीतर्फ लुगुम्याल खाम समाज दाङ प्रथम भएको छ । यसैगरी, अवधि सांस्कृतिक प्रतिष्ठान गढवा द्वितीय, शीतल टोल विकास संस्था घोराही १३ तृतीय भएको छ । पञ्चशील आमा समूह ट्राफिक टोल, नेवार सेवा समिति घोराही र श्री सरयु राममन्दिर घोराही–१ सान्त्वना भए ।

मौलिक लोक नृत्यतर्फ राप्ती गाउँपालिका–५ लट्ठहवाको कठघोरी नृत्य प्रथम भएको छ भने नुवा गाउँले सोरटी द्वितीय र  नेवार सेवा समिति घोराहीको लाखे नृत्य तृतीय भएको छ । यसैगरी, पाल्पाको निस्दीबाट सहभागी कौरा नृत्य, घोराही–१७ ओखराको सख्या नृत्य सान्त्वना भएको छ ।

त्यसैगरी मौलिक हस्तकला प्रदर्शनीतर्फ चिनारी महिला साझेदारी समूह घोराही प्रथम, लमही–४ भैसकुर्माको मेह्री हस्तकला केन्द्र द्वितीय, गढवा–३ गोबरडिहाको शुभश्री प्राकृतिक रेसा तथा पोतेजन्य हस्तकला तृतीय भए । प्रदर्शनीमा युनिक दिदीबहिनी अल्लो उद्योग घोराही, राप्ती खुकुरी उद्योग तुलसीपुर सान्त्वना भए ।  

प्रकाशित: ११ आश्विन २०८१ २१:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App