विदेशीहरूमाझ सगरमाथालाई लिएर निकै चासो र चर्चा हुने गर्छ। नहोस् पनि किन, यही एउटा चुचुरोले संसारभर अर्बौं डलरको व्यापार सिर्जना गरेको छ। यसअघि विल ककरेलले ‘एभरेस्ट, इन्क’ पुस्तक लेखेर अर्बौं डलर व्यापार सिर्जना गरेर सगरमाथा कसरी धनीमानीको दुश्चक्रमा फसेको छ भनी टिप्पणी गरेका थिए।
पछिल्लो समय अर्को एउटा पुस्तक निस्कने क्रममा छ। त्यसको विषय भने सगरमाथामा पहिलोपटक आरोहण गर्ने तेन्जिङ नोर्गे र एडमन्ड हिलारी नै थिए कि उनीहरूभन्दा पहिले नै प्रयास गरेर मृत्युवरण गर्ने जर्ज मेलोरी र उनका साथी स्यान्डी इर्भिन थिए भनी खोज्नु रहेको छ। सन् १९२४ जुन ८ का दिन अन्तिम पटक जीवितै देखिएका मेलोरी र इर्भिनको सगरमाथा आरोहणमा विभिन्न मत छन्।
केही मानिस उनीहरूले सगरमाथा चढेको विश्वास गर्छन्। त्यसको प्रमाणका रूपमा उनीहरू जुन ८ का दिन अन्तिम पटक उत्तरी क्षेत्रको १५० र २५० मिटर अग्लो क्षेत्रमा देखिएको बताइन्छ। त्यसलगत्तै बादलले उनीहरूलाई छेकेको थियो। यही जुनमा उनीहरू सगरमाथा पुगेको सय वर्ष पुगेको अवसरमा बेलायतको रोयल जियोग्राफिकल सोसाइटी (आरजिएस) ले एउटा उत्सव मनाउँदैछ।
खासगरी उनीहरू सगरमाथाको चुचुरोमा पुगे या नपुगेको विषयमा छलफल चलाइनुका साथै त्यो शालीन मृत्युको उत्सव मनाइँदैछ। सोही अवसर पारेर ‘फस्र्ट अन एभरेस्ट’ शीर्षकको पुस्तक बजारमा आउँदैछ। यसअघि उनको ‘लास्ट आवर्स अन एभरेस्ट’ प्रकाशित छ।
यसलाई ६६ वर्षे लेखक तथा टेलिभिजनकर्मी ग्राहम होएल्यान्डले लेखेका हुन्। सो पुस्तकमा विविध अनुसन्धानपछि मेलोरी र इर्भिन सगरमाथाको टुप्पो नछोई बितेको दाबी गरिएको छ। त्यसका लागि भ्रमण दलमा रहेर मिटरोलोजिस्टका रूपमा काम गरेका होवार्ड समरभेलको अनुसन्धान, उनले लेखेका नोट, ढिलो गरी प्राप्त भएको आधिकारिक रिपोर्टजस्ता विषयलाई होएल्यान्डले मुख्य आधार बनाएका छन्। सो अनुसन्धानपछि जुन ८ र ९ का दिन आएको भीषण आँधीका कारण मेलोरी र इर्भिन हराएको विश्वास गरिएको थियो।
सन् १९२६ मा ती नोटहरू प्रकाशन गरिएका थिए तर त्यसतर्फ अनुसन्धानका लागि कसैको ध्यान पुगेको थिएन। मेलोर र इर्भिनले आरोहण गरिरहेका बेला सगरमाथा क्षेत्रमा हावाको चाप कम थियो । जसका कारण अक्सिजनका अणुहरू निकै कम थिए।
कम अक्सिजनका कारण दुवै हाइपोक्सियाबाट पीडित भए र यही कारणले दुवैको मृत्यु भएको दाबी पुस्तकमा गरिएको ‘द टाइम्स’ अखबारले बताएको छ। हाइपोक्सियाले मानिसको मस्तिष्कमा प्रभाव पार्छ र उनीहरूलाई भ्रम उत्पन्न हुन्छ। त्यसबाहेक श्वासप्रश्वास बढ्छ। अक्सिजनको मात्रा कम हुनेबित्तिकै उनीहरूले चाँडोचाँडो सास लिनुपर्ने हुन्छ।
‘फस्ट अन एभरेस्ट’ मा होएल्यान्डले सगरमाथा चढ्न नसक्नुको कारण पहिल्याउन रोयल जियोग्राफिक सोसाइटीमा रहेका आर्काइभमा रहेको तेस्रो क्याम्पमा लेखिएका डायरीहरूलाई आधार बनाएका छन्। त्यसबेला आधार शिविरको वायुचापसँग माथिको चापसँग तुलना गरिएको थियो।
सन् १९२४ को जुन ६ का दिन क्याम्प चारमा समिट ब्यारोमिटर प्रेसर ३४१ मिलिबारबाट झरेर जुन ९ का दिन ३३१ मिलिबारमा पुगेको थियो। केहीको धारणामा यस्तो बेलामा चुचुरोमा चढ्नु अदृश्य ‘डेथ ट्र्याप’ नै थियो। यस्तो बेलामा कम वायुचाप हुन्थ्यो र कम वायुचापका बेला उनीहरू अझ बढी अग्लो ठाउँमा जाँदै थिए।
चुचुरोमा जानेहरूसँग अक्सिजन सिलिन्डर भए पनि उनीहरूले वातावरणीय वायु र बोतलको ग्यास दुवैको मिश्रणबाट सास फेरिरहेका थिए। यस्तो बेलामा उनीहरूलाई असर पारेको दाबी गरिएको छ।
‘मेलोरी मानौं ती सारा कुरा खपेर पनि माथि जान सक्थे तर इर्भिनको त्योभन्दा पहिले कुनै हिमाल आरोहणको अनुभव थिएन। उनका लागि आरोहणको नयाँ रुटको कुनै जानकारी थिएन। भारी अक्सिजन, उपयुक्त पहिरनको अभाव र त्यसमाथि जुन हुन्डरी त्यहाँ आयो, त्यसले उनीहरूको सारा ऊर्जा खाइदियो मात्र होइन, जीवनकै अन्त्य गराइदियो,’ लेखक होएल्यान्डको दाबी छ।
उनले उदाहरणका रूपमा सन् १९९६ मा सिर्जना भएको त्यस्तै हुन्डरीलाई पेस गरेका छन्। त्यसबेला आठ जना सगरमाथा आरोहीको चुचुरोछेउमै ज्यान गएको थियो। सगरमाथा चुचुरोछेउ एकसाथ आठ जनाको मृत्यु भएको त्यो पहिलो घटना थियो। यसै घटनालाई लिएर जोन क्राकरले इन्टु थिन एयर पुस्तकसमेत लेखेका थिए।
त्यतिबेला यी सबै आरोहीले ३३१ मिलिबारको वायुचापको अनुभव गरेका थिए। होयल्यान्डले यो पुस्तकको पुख्ता प्रमाण जुटाउन तथा मेलोरी र इर्भिनको दुर्भाग्यबारे जान्न नौ पटक सगरमाथाको यात्रा गरेका छन्। ब्यारोमिटर अध्ययनबाट धेरैले धेरै पटक मेलोरी र उनका साथी इर्भिनले पक्कै सगरमाथाको चुचुरो टेकेको हुनुपर्ने भनी ठोकुवा गर्ने गरिन्छ।
‘पहिले म उनीहरूले पक्कै चुचुरो चुमे होलान् भन्ने ठान्थें र उनीहरूको गर्विलो आरोहणलाई विश्वास गर्थें तर पछिल्लो समय मैले त्यो सोच परिवर्तन गरें किनभने जब तथ्यांक बदलिन्छ, तपाईंले आफ्नो सोच पनि बदल्नुपर्ने आवश्यकता हुन्छ,’ उनी भन्छन्।
सन् १९९९ मा मेलोरीको शव सगरमाथाको चुचुरोभन्दा ६९० मिटर तल फेला परेको थियो। त्यसैलाई धेरैले आरोहण गरेका रूपमा बुझेका थिए तर त्यसको कुनै ठोस प्रमाण भने कसैले पेस गर्न सकेका थिएनन्। इर्भिनको शव भने अझै फेला परेको छैन।
सन् १९५३ मे २९ मा एडमन्ड हिलरी र तेन्जिङ नोर्गेले सगरमाथाको सफलतापूर्वक आरोहण गरेका थिए। उनीहरूले पनि मेलोरी र इर्भिन सो ठाउँमा पुगे कि भनेर खोजी गरेका थिए। तर उनीहरूले त्यस्तो कुनै प्रमाण फेला पार्न सकेनन्।
आगामी जुलाई ८ मा रोयल जियोग्राफिक सोसाइटीमा हिमालयन ट्रस्ट युकेको आयोजनामा सगरमाथा आरोहणमाथि होएल्यान्डको विषद् व्याख्या आयोजन हुने बताइएको छ।
एजेन्सीकाे सहयाेगमा
प्रकाशित: ३० वैशाख २०८१ ०७:०५ आइतबार





