४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

वीरगन्ज महानगरले भत्कायो मन्दिर कब्जा गरेर बनाइएका अनधिकृत सटर

वीरगन्ज महानगरपालिकाले वडा नं-९ स्थित गीता मन्दिर परिसरका अनधिकृत रुपमा निर्माण गरिएका सटर भत्काएको छ।

अनधिकृत रूपमा कब्जा गरेर मन्दिर परिसरमा निर्माण गरिएका आधा दर्जनभन्दा धेरै सटरलाई महानगरले आज तीन वटा एक्स्काभेटर लगाएर भत्काएको हो।

वीरगन्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले वीरगन्जका मठमन्दिर केही व्यक्ति  र संस्थाले गरेको अतिक्रमणलाई हटाउने अभियान नै सुरुवात गरेको बताए।

‘भगवान्लाई बन्धक बनाएर राख्न पाइँदैन, श्रद्धालु भक्तजनले जुनसुकै ठाउँबाट पनि मन्दिरको दर्शन गर्न पाउनुपर्छ भन्ने मान्यतासहित अनधिकृत रूपमा निर्माण गरिएका संरचना भत्काएका हौँ’, नगरप्रमुख सिंहले भने, ‘वीरगन्जका केही त्यस्ता व्यक्ति तथा संस्थाले मठमन्दिरमा भगवान्लाई बन्धक बनाएर राख्ने चलन छ। त्यसको विरुद्धमा हामीले अभियान नै छेडेका छौँ।’

महानगरले मन्दिरको मूल प्रवेशद्वारको दायाँ–बायाँ र पश्चिमतर्फका आधा दर्जनभन्दा धेरै सटरहरू एक्स्काभेटर लगाएर भत्काएको हो।

नगरप्रमुख सिंहले केही व्यक्तिले अनधिकृत रूपमा सार्वजनिक मठमन्दिर वरपर संरचना निर्माण गराएर कमाइखाने भाँडो बनाइरहेकाले सोलाइ हटाउने अभियान थालेको बताए।

‘केही व्यक्तिले बिना अनुमति मन्दिरको सौन्दर्यीकरणलाई प्रत्यक्ष प्रभावित पार्ने गरी विभिन्न सटर थापेको पनि पाइयो’, उनले भने, ‘गीता मन्दिर परिसरमा अनुमतिबेगर नै व्यापारिक सटर निर्माण गरेर सञ्चालन गरेको पाइएपछि भत्काएका हौँ।’

नगरप्रमुख सिंहले गीतामन्दिर परिसरमा रहेका सटरहरूको आम्दानीको लेखा परीक्षण तथा अन्य कुनै पनि कारोबारको स्पष्ट नभएको पनि दाबी गरे।

‘हामीले १२ दिन अगाडि गीता मन्दिर परिसरमा भएका सटरको सम्बन्धमा सर्वपक्षीय छलफल गरेका थियौँ। सो छलफलपछि आवश्यक कागजात पनि बुझाउन भनेका थियौँ। तर, सटर सञ्चालनकर्ताले कुनै पनि कागजात पेस नगरेपछि आज भत्काएका हौँ।’ सो परिसरमा आधा दर्जनभन्दा धेरै सटर रहेका थिए।

नगरप्रमुख सिंहले अनधिकृत संरचना भत्काएसँगै अब मन्दिर परिसरलाई व्यवस्थित गराउने बताए। ‘गीता मन्दिर परिसरमा अनधिकृत संरचनालाई पूर्ण रूपमा हटाएर तुरुन्तै व्यवस्थित रूपमा नयाँ खालको आवश्यक संरचना बनाएर अघि बढाउनेछौँ।’

वीरगन्ज महानगरले पछिल्लो समय अतिक्रमणमा परेको सार्वजनिक जग्गालाई फिर्ता गर्ने काम गर्दै आइरहेको छ।

प्रकाशित: २९ वैशाख २०८१ २०:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App