बाह्र वर्षपछि खोलो पनि उँभो फर्किन्छ भन्थे तर म्याग्दीको बेनी नगरपालिका–६ डम्बराकी जानकी विकलाई कसैले बनाएको यही उखानले नै झुक्यायो। परिवारको कमजोर आर्थिक अवस्था सुधार्ने, चार छोरीको लालनपालन खर्च जुटाउने लगायत सुन्दर भविष्यको सपना बुनेर २०६१ फागुन ९ गते पति मैतकुमार विकलाई साउदी अरेबिया उडाएर फर्केकी जानकी अहिले एक्लिएकी छन्।
पतिले परदेशमा कमाएपछि घरको आर्थिक अवस्था सुध्रिनेमा उनी ढुक्क थिइन्। साउदीमा पुगेका पतिको कमाइ पनि राम्रै थियो, घरखर्च रामर्री नै चलिरहेको थियो। मैतकुमारले साथीहरूलाई दिएको सापटी पैसा फिर्ता भएनछ।
१६ वर्षसम्म साथीहरूलाई दिएको सापटी माग्दामाग्दै उनी घर फर्केनन्। अन्ततः उनी परदेशमै अस्ताए। रित्तो हात साउदी अरेबियाबाट घर फर्कने सोच उनले नराखेका रहेछन्। काठको बाकसमा उनी निर्जीव भएर स्वदेश फर्किंदा यता जानकीको अवस्था भने बेहाल भएके थियो।
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ जलथलेबाट बेनीमा बस्न थालेकी जानकीले १६ वर्ष पतिको पर्खाइमै बिताइन्। केही वर्षपछि मैतकुमारका गाउँले साथीहरू घर फर्किए। तर आफ्ना पनि नफर्केकोमा जानकी दुस्खी थिइन्। तर उनले २०७७ मंसिरमा सुतिरहेकै ठाउँमा पतिको असामयिक निधन भएको खबर पाइन्।
१६ वर्षसम्म स्वदेश नफर्केका मैतकुमार निधनको चार महिनापछि फागुन २६ गते काठको बाकसमा फर्किए। पतिको शव नेपाल झिकाउनसमेत जानकीले धेरैलाई अनुरोध गर्नुपर्यो। नेपाली दूतावासलाई पनि हम्मेहम्मे पर्यो। सानो कम्पनीमा काम गर्ने र १६ वर्षदेखि जीवनबिमा, श्रम सम्झौता केही नभएकाले त्यहाँ रहेकाहरूले आवश्यक कानुनी सहयोगसका साथै पैसा जुटाएर शव घर पठाइएको थियो। वैदेशिक रोजगारीमा पुगेका पतिले धन कमाएर ल्याउलान् र सुखसँग जीवन बिताइएला भन्ने जानकीको सपना भताभुंग बन्यो।
एक्कासि काठको बाकसमा शव आएपछि पति घर आउने प्रतीक्षामा दिन गनेर बसेकी जानकीको जीवनकै भरोसा टुट्यो, सहारा गुम्यो।
लाउँला खाउँला भन्ने उमेरमा पतिको अकल्पनीय मृत्युको बज्रपातले जानकीलाई ‘न दिनमा भोक न रातमा निद्रा’को स्थितिमा पुर्याइदियो। दिनभर मजदुरी गरी चार छोरीहरूको विवाह गरेकी जानकी अहिले डम्बरामा एउटा टिनको छाप्रोमा बस्छिन्।
सानो झुप्रोमा उनले अहिले छोरीज्वाइँले छाडेर अलपत्र पारेकी नातिनी सृष्टि विकसँग जीवन व्यतीत गर्दै आएकी छन्। मंगला गाउँपालिका–१ कुहुँका ज्वाइँले अर्को विवाह गरेको केही वर्षपछि छोरीले समेत दोस्रो विवाह गरेपछि नातिनीको लालनपालन र पठनपाठनका लागि आफूसँगै राखेर सहारा दिइरहेकी छन्।
आफ्नो भोक, प्यास, निद्रा, सबै बिर्सेर नातिनीको शिक्षादीक्षाका लागि पसिना बगाएकी छन् तर पनि जानकीले गरिबीबाट छुटकारा पाएकी छैनन्। ‘मैले पाएको दुःख शब्दमा वर्णन गर्न सक्दिनँ, आफ्ना दुःख सम्झिँदा पनि अझै सपनाजस्तै लाग्छ,’ जानकीले भनिन्।
डम्बरामा पतिले पठाएको पैसा संकलन गरी एउटा छाप्रो खरिद गर्ने पैसा दिए पनि अपुग भएको उनले बताइन्। ‘उहाँको पर्खाइमा जवानी बित्यो, दुःख गर्दागर्दै बित्नुभयो, केही अपूरा सपना पूरा गर्न अहिले पनि मजदुरी गर्छु,’ जानकीले भनिन्।
अहिले नातिनीको खुसीका लागि आफ्ना पीडा मनभित्रै गुम्स्याएर राखेकी छन्। नातिनीको शिक्षादीक्षामा लाग्ने खर्च, घरको गर्जो टार्न दिनरात मिहिनेत गर्छिन्। बु्ढेसकालमा पनि दुःखले हाँगा हालेको अवस्थामा पेटभरि नखाई साहसका साथ जिन्दगी जिइरहेकी उनका अब दुईवटा लक्ष्य छन्। छोरीले अलपत्र छाडेकी नातिनीको शिक्षादीक्षा र घडेरीका लागि अपुग डेढ लाख पैसा जुटाएर पास गर्ने।
‘भोकभोकै रात बिताउन बाध्य’
तीनवटा कोठा भएको टिनको छाप्रोमा रित्तो ग्याँसको सिलिन्डरसँगै सानो चुलो छ। नजिकै रहेको म्याग्दी खोलाबाट चलेको सिरेटोले मुटु नै कँपाउने गरी हावा चल्दा, बर्खामा पानी पर्दा टिनको छानाले धान्दैनक।
चर्को घाममा टिन तातेर र हावाहुरी चल्दा भत्किएर अप्रिय दुर्घटना हुन सक्ने खतरा उत्तिकै छ। झट्ट सुन्दा र प्रत्यक्ष गएर हेर्दा यो सुत्ने कोठाजस्तै लाग्दैन। ‘पेटभरि खाने अन्न छैन। मागेर खानुपर्ने बाध्यतालाई लुकाउन कैयौँ रात भोकै सुत्नुपरेको छ,’ जानकीले भनिन्।
नातिनीलाई पेटभरि खान दिन नसकेको पीडाले रातभरि निद्रासमेत नलाग्ने उनले सुनाइन्। उनले धेरै रात एक छाक खाएर भोकै सुत्ने गरेको दर्दनाक कथा सुनाइन्। सुत्ने र खाना पकाउने कोठामा पुगेपछि जानकीले आँखाभरि आँसु निकाल्दै भनिन्, ‘जीवितै भए पनि नर्कमा छु जस्तै लाग्छ, ‘तपाईंले यहाँ क्यामेराले के खिच्नुहुन्छ?’ उनले दैनिक ज्याला मजदुरी गरी कमाएको पैसाले घर खर्च चलाउन मुस्किल हुने गरेको बताइन्। नातिनीलाई राम्रो शिक्षादीक्षा दिएर छोरीज्वाइँलाई देखाउने हुटहुटी भने मनमा रहेको उनको भनाइ छ।
प्रकाशित: २१ वैशाख २०८१ ०७:३८ शुक्रबार