२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

आगलागीमा घर जलेपछि दुई परिवारको बिचल्ली, लाखौंको क्षति

सर्लाहीका दुई स्थानमा लागेको आगोले दुई परिवारको बिचल्ली भएको छ। आगलागीबाट लाखौँ मूल्यबराबरको धनसम्पत्ति सखाप भएको छ। जिल्लाको लालबन्दी र बलरा नगरपालिकाअन्तर्गत दुई स्थानमा आगलागी भएको हो।

आगलागीबाट दुई घर, एक गोठ र एक सार्वजनिक भवनमा क्षति पुगेको छ। आगलागीबाट दुई परिवारको बास नै गुमेपछि बिचल्ली भएको हो। आगलागीमा परेर लालबन्दी नगरपालिका– १४, चुरेस्थित हात्तीसुढेका बुद्धिमान मोक्तान र फुर्साङ मोक्तानको ढुङ्गा, माटो र काठले बनेको घर जलेर नष्ट भएको हो। 

आगलागीबाट बुद्धिमानको घरमा रहेका लत्ताकपडा अन्नपात, काठपातलगायतका सामग्री जलेर नष्ट हुँदा  आठ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ। आगलागीबाट फुर्साङको पनि घरसहित सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ। उनको पनि सात लाख रूपैयाँबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।

 आगलागीपछि दुवै परिवार खुला आकाशमुनि पुगेका छन्। सोही आगलागीबाट छिमेकी आइतसिङ मोक्तानको फुसको छाना भएको गोठसमेत जल्दा  दुई लाखबराबरको क्षति भएको छ। आगोले पोलेर गोठमा रहेको एउटा भैंसी र एउटा बाख्रा घाइते भएको प्रहरीले जनाएको हो। आगो नजिकैको जङ्गलबाट घरमा सल्किएको प्रहरीले जनाएको छ।  

यस्तै जिल्लाको बलरा नगरपालिकास्थित एक सार्वजनिक भवनमा आगलागी भएको छ। आगलागीबाट बलरा नगरपालिका– ६, सानो मिर्जापुरमा रहेको पक्की पर्खाल भएको दलित भवनमा क्षति पुगेको हो। आगलागीबाट भवनमा आंशिक क्षति पुगेको प्रहरी चौकी अर्नाहले जनाएको छ।  

बिजुलीको तार सर्ट भएर लागेको आगोबाट विभिन्न सामान जल्दा १५ हजार पाँच सय रूपैयाँबराबरको क्षति भएको प्रहरीले जनाएको हो। सुक्खा मौसम सुरु भएसँगै जिल्लामा दैनिक आगलागीका घटना वृद्धि भइरहेका छन्। आगोको प्रयोग तथा विद्युतीय उपकरण लगाएका सामानको प्रयोगमा ध्यान दिन प्रहरीले आग्रह गरेको छ। –रासस

प्रकाशित: १० वैशाख २०८१ १४:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App