२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

तीन लाख वर्षका काठे हतियार

संसारका कैयन् रहस्य उजागर हुनै बाँकी छ। खासगरी होमो सेपियन्सभन्दा अघिका। पछिल्लो समयमा भने वैज्ञानिकहरूले तीन लाख वर्षअघिको काठका हतियारहरू फेला पारेका छन्, तिनको अध्ययनपछि उनीहरूले यसलाई नियान्डरथल प्रजातिको कलाका रूपमा अथ्र्याइरहेका छन्। वैज्ञानिकहरू काठका यी हतियारहरू लिएर नियान्डरथल प्रजातिहरू प्राचीन तलाउका किनारामा माछा मार्ने तथा अन्य शिकारका काममा प्रयोग गर्ने गरेको निष्कर्षमा पुगेका छन्।

उत्तरी जर्मनीको एउटा कोइला खानी छेउमा रहेको खाली ठाउँमा सन् १९९४ ताका वैज्ञानिकहरूले दुई मिटर लामा प्राचीन काठका हतियार फेला पारेको दाबी गरेका थिए। नियान्डरथलहरूले यी हतियारहरू आफूसँग बोकी तिनलाई शिकारी खेलमा उपयोग गर्ने गरेको अनुमान गरिएको छ। जुन ठाउँमा यी हतियार फेला पारिएको थियो, त्यो ठाउँमा कुनै समय ठूलो तलाउ रहेको र समयक्रममा त्यो सुकेको अनुमान गरिएको छ। त्यहीँ उत्खननका क्रममा यी हतियार फेला पारिएका थिए।

नेसनल एकेडेमी अफ साइन्सेजका शोधकर्ताहरूले यसलाई सोनिजेन १३ नामकरण गरेका छन्। यी काठका चिल्ला र तिखा यी हतियारहरूको बनावट हेर्दा नियान्डरथल प्रजातिका मान्छेको सोच्ने शैली पहिले सोचेभन्दा बढी रहेको वैज्ञानिकहरूले जनाएका छन्। त्यसो त त्यो ठाउँमा नियान्डरथल प्रजातिका हाडका कुनै पनि अंश फेला पारिएका छैनन्। तर यी हतियारहरू हेर्दा नियान्डरथल वा त्योभन्दा पनि पुरानो होमो हाइडलबर्गेनसिसको हुने अनुमान गरिएको छ।

सन् २००८ मा सो क्षेत्रको उत्खनन सकिएको थियो। त्यसयता पनि सो क्षेत्र वरपर अन्य किसिमका उत्खननको कार्य भने चलिरहेको छ। त्यस उत्खननमा फेला पारेका अन्य कुराले भन्दा पनि यी काठका हतियारले सबैको ध्यानाकर्षित गरेको छ। यी हतियारबारे विश्लेषण गर्न भने निकै समय लागेको छ। यी हतियारभित्र छिरेका माटा तथा पानीका अंशहरूको अध्ययन गर्दा कम्तीमा तीन लाख वर्ष यी सामग्री सुरक्षित रहेको देखिएको हो।

सन् २०२१ मा काठका सात सय टुक्रा फेला पारिएका थिए। ती सबै टुक्रालाई माइक्रोस्कोपमा राखी तस्बिर लिइएको थियो। फेला परेका अनेक टुक्रामध्ये १८७ टुक्रा जोड्दा बल्ल तल्ल ५० वटा भने चिनिने अवस्थामा पुगेका थिए। चिनिएका यी काठका टुक्राहरू जोडेर अध्ययन गर्दा ती हतियारका रूपमा प्रयोग गर्ने गरिएको देखिएको हो। यी हतियार ससाना खेल तथा चराहरूको शिकारका लागि प्रयोग गरिएको पाइएको छ।

अन्य ३५ टुक्रा भने घरेलु सामग्रीहरू रहेको पत्ता लागेको छ। ती सामग्री भने केही निकै तिखा भएकाले जनावरका छालाहरू सिलाउन प्रयोग गरिन्थ्यो कि भन्ने अनुमान केहीको छ। यसअघि फेला पारिएका सबै चिजहरू शिकारका लागि उपयोग गरिएको तर केही भने छाला सिलाउन पनि प्रयोग गरिने देख्दा नियान्डरथलहरूको सिर्जनशीलता अन्य कुरामा समेत रहेको प्रमाणित हुने केही वैज्ञानिक बताउँछन्।

प्रकाशित: २८ चैत्र २०८० ०७:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App