१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

नविकरण नभएका हतियार जफत गर्दै बाँके प्रशासन

जिल्ला प्रशासन कार्यालय बाँकेले पाँच वर्षभन्दा बढी नविकरण नभएका इजाजत प्राप्त हतियार जफत गर्ने भएको छ। त्यस्ता हतियारको इजाजत खारेज नै गरेर जफत नै गर्ने बाँके प्रशासनले योजना बनाएको हो। हतियारसहित नविकरणका लागि कार्यालयमा आउन प्रशासनले ३५ दिने सूचना जारी गरेको छ।

गृह मन्त्रालयको पछिल्लो निर्देशन अनुसार प्रशासनले पाँच वर्षभन्दा बढी अवधिदेखि नविकरण हुन नसकेका इजाजत प्राप्त हतियारको ईजाजत खारेज गरी जफत गर्ने तयारी गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए। यसका लागि कार्यालयले सार्वजनिक सूचना समेत जारी गरिसकेको छ।

पछिल्लो समय हातहतियार ईजाजत प्राप्त  व्यक्तिले मात्र प्रयोग गर्नुपर्नेमा अन्य व्यक्तिले पनि प्रयोग गरेको हुन सक्ने, हतियार दुरुपयोग भएको हुन सक्ने आशंका बढेकाले ईजाजत प्राप्त हतियारको दुरुस्तता जाँच गर्नुपर्ने देखिएको प्रजिअ पोखरेलले बताए।

बर्सेनि नियमित नविकरण हुन नसकेका हतियारको भौतिक अस्तित्वको अध्यावधिक अवस्था र दुरुस्तताको जानकारी राख्न मात्र होइन, हतियार प्रयोगको अनुगमन र नियमन गर्न पनि कठिनाई भएकाले सूचनामार्फत अध्यावधिक समेत हुन प्रशासनले सार्वजनिक रुपमा सूचना जारी गरेको उनले बताए।

कार्यालयले जारी गरेको सूचना अनुसार ३५ दिन भित्र ईजाजत प्राप्त हतियार लिएरै सम्बन्धित ब्यक्ती र संस्था स्वयं प्रशासनमा उपस्थित हुनुपर्नेछ। ‘पाँच वर्षभन्दा बढी नविकरण हुन नसकेका हतियारको ईजाजत खारेज गरि हतियार जफत गर्ने गृह मन्त्रालयको निर्देशन छ,’ प्रजिअ पोखरेलले भने।

बाँकेमा उल्लेख्य संख्यामा हतियार नविकरण हुन नसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। तर, कति संख्यामा छन् भन्ने नखुलेको बताइएको छ।

प्रकाशित: २७ चैत्र २०८० ०९:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App