१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

ट्रयाक्टरको ठक्करले बालकको मृत्यु भएपछि गुजरामा तनाव

रौतहटको गुजरामा ट्र्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएपछि केही बेर तनाव भएको छ। गुजरा नगरपालिका ४ मुस्लिम टोलस्थित मामा घरमा बस्दै आएका शेख हसमुल्लाका १३ वर्षीय छोरा शेख सहनबाजलाई आइतबार बिहान ट्र्याक्टरले ठक्कर दिएको थियो।

धनसारबाट जंगलसैयातर्फ आउने क्रममा ना ७ त ७५७ नम्बरको धान काट्ने ट्र्याक्टरले गुजरा नगरपालिका ४ मुस्लिमटोलमा साइकलबाट बाटो काट्ने क्रममा ट्र्याक्टरले ठक्कर दिँदा सहनबाजको टाउकोमा गम्भीर चोट लागेको थियो।

गम्भीर घाइते बालकलाई तत्काल उपचारका लागि चन्द्रपुरतर्फ पठाइएकोमा अस्पतालमा पुग्नुअगावै उनको बाटोमै मृत्यु भएको थियो। बालकको मृत्युपछि शवलाई घटनास्थलमा ल्याएर बाटोमा राखी स्थानीयको आक्रोशित समूहले जंगलसैया धन्सार भित्री सडक अवरुद्ध पारेका थिए।

सयौँको संख्यामा स्थानीयवासी प्रदर्शनमा उत्रिएपछि केही बेर तनाव उत्पन्न भएको थियो। घटनास्थलमा जंगलसैया एफओबीबाट सशस्त्र प्रहरी नायब निरीक्षक जितेन्द्र साहको कमान्डमा ६ जना र इप्रका लक्ष्मीनियाबाट सिकेन्द्र साहको कमान्डमा १३ जनाको टोली खटिई धान काट्ने ट्र्याक्टर चालकलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय लक्ष्मीनियाको हिरासतमा राखिएको तथा ट्र्याक्टर घटनास्थलमै नेपाल प्रहरीको नियन्त्रणमा रहेको सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गणका एसपी विक्रम हुमागाईंले जानकारी दिएका छन्।

घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो संख्यामा परिचालन गरिएको छ। नेपाल प्रहरीको इप्रका चन्द्रपुर, गरुडा, कटहरियाबाट समेत प्रहरी परिचालन गरेर अवस्था साम्य बनाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। ट्र्याक्टर चालक र ट्र्याक्टर दुवै प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २५ चैत्र २०८० ११:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App