१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पोखरा विमानस्थल ठेक्कामा अख्तियार धाउँदै अधिकारी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ठेक्कामा अनियमितता गरेको आरोपमा बयान लिएको छ। अख्तियारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा आर्थिक अनियमितता भएको दाबी गर्दै आयोजनाका सबै कागजपत्र नियन्त्रणमा लिएको पाँच महिनापछि बयान लिन सुरु गरेको हो।

‘पोखरा विमानस्थल निर्माणका लागि लागेको ठेक्का प्रकरणमा अनुसन्धान भइरहेकाले अधिकारीलाई बयानका लागि बोलाइएको हो,’ अख्तियार उच्च स्रोतले भन्यो। पोखरा विमानस्थलबारे अख्तियारले कात्तिक १२ गते नै कागजात नियन्त्रणमा लिएको थियो।

 ‘विमानस्थल निर्माणको लागत दोब्बर बनाएको, निर्माणका लागि ठेक्का प्रक्रियामा चलखेल गरेकोलगायत विषयमा आवश्यक छानबिनका लागि कागजात पहिल्यै नियन्त्रणमा लिइएको थियो, सोही आधारमा बढी लागतमा ठेक्का लगाउनाको कारण र विधिबारे बुझ्न बोलाइएको हो,’ अख्तियार स्रोतले भन्यो।

महानिर्देशक अधिकारीले पोखरा विमानस्थलको लागत बढाउन सहयोग गरेको, विमानस्थल निर्माण कार्य गुणस्तरहीन भएको, आयोजना निर्माणका लागि निर्माण कम्पनीसँग मिलेमतो गरेको भन्दै आयोगमा उजुरी परेको थियो। त्यही उजुरीमाथि छानबिन गर्न भन्दै अख्तियारले दसैंलगत्तै कात्तिक १२ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा छापा मारेको थियो। ‘पोखरा विमानस्थलसँगै त्रिभुवन विमानस्थल र भैरहवा विमानस्थलको विषयमा पनि उजुरी परेको छ।

अहिलेचाहिँ पोखरा विमानस्थलका लागि मात्रै बयानमा बोलाइएको हो,’ स्रोतले भन्यो। अहिले त्रिभुवन विमानस्थलको विस्तारअन्तर्गत तीनवटा परियोजनाअन्तर्गत करिब १५ अर्ब रुपैयाँबराबरको काम भइरहेको छ। पूर्वतर्फ ह्यांगर हब, ट्याक्सी वे, पश्चिमतर्फ पनि ट्याक्सी वे र उत्तरतर्फ एप्रोन विस्तारको काम भइरहेको छ। ती परियोजनामा पनि लागत स्टमेट बढाइएको भन्दै अख्तियारमा उजुरी परेको छ। तर यो विषयमा अख्तियार प्रवेश गरेको छैन। ‘अहिले पोखरालाई प्राथमिकतामा राखिएको छ,’ स्रोतले भन्यो।

महानिर्देशक अधिकारीले सरकारको उपल्लो तहमा राम्रो सम्बन्ध रहेको भन्दै आफूलाई अख्तियारले केही गर्न नसक्ने जनाउँदै आएका छन्। तत्कालीन पर्यटनमन्त्री सुदन किरातीसँग असमझदारी उत्पन्न र नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकबाट हटाउन खोज्दा पनि उनी आफूलाई पदमा राखिराख्न सफल भएका थिए।

अहिले अख्तियारमा बयान दिन जाँदासमेत उनले सबैतिर सेटिङ मिलिसकेको बताउँदै हिँडेका छन्। सुरुमा १२ अर्ब रुपैयाँमा निर्माण सम्पन्न हुनेगरी अनुमान गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागत पछि बढाइएको थियो।

त्यतिबेला विमानस्थल आयोजना प्रमुख हाल नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रहेका प्रदीप अधिकारी थिए। अधिकारीले नै १२ अर्बबाट लागत बढाएको स्रोतले जनाएको छ। चीनको एक्जिम बैंकको ऋण सहयोगमा बनेको विमानस्थलमा तीनवटा अन्तर्राष्ट्रिय र आठवटा आन्तरिक उडानका विमान पार्किङ गर्न सकिने भए पनि हालसम्म एकाधबाहेक अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन।

एक्जिम बैंकको २२ अर्ब रुपैयाँ २ प्रतिशत ब्याजमा र दुई अर्ब अनुदान गरी २४ अर्ब लागतमा निर्माण भएको पोखरा विमानस्थलको लागत अनुमान अस्वाभाविक रूपमा वृद्धि गरिएको उजुरी अख्तियारमा परेको छ।

तत्कालीन आयोजना प्रमुख अधिकारीले पोखरा विमानस्थलको ठेक्का सेटिङमा चिनियाँ कम्पनी सिएएमसी इन्जिनियरिङ कम्पनीलाई दिएका थिए। सिएएमसी इन्जिनियरिङ कम्पनीसँग नेपाली ठेकेदार कम्पनी क्षमादेवी कन्स्ट्रक्सनलाई जेभीमा राख्ने चाँजोपाँजो पनि उनैले मिलाएको स्रोतको दाबी छ।

सरकारले एक्जिम बैंकबाट लिएको सहुलियत ऋण प्राधिकरणले सरकारबाट ५ प्रतिशत ब्याज दरमा लिएको थियो। चीनबाट २ प्रतिशत ब्याजदरमा २२ अर्ब रूपैयाँ सहुलियतपूर्ण ऋण प्राप्त हुने भएपछि सरकार र नागरिक उड्डयन प्राधिकरणबीच २०७३ जेठ २३ गते सम्झौता भएको थियो।

सरकारले प्राप्त गरेको सो ऋण नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राप्त गरेर निर्माण सम्पन्न भएपछि सात वर्षसम्म २ प्रतिशतका दरले ब्याज मात्र तिर्ने उल्लेख छ। सात वर्षपछि भने १३ वर्षमा २६ किस्ता गरेर साँवा चुुक्ता गर्ने सम्झौतामा उल्लेख छ।

त्यति धेरै खर्च गरेर विमानस्थल निर्माण गर्दा नै भ्रष्टाचार भएको सो उजुरीमा उल्लेख छ। पोखरा विमानस्थलको निर्माणमा तत्कालीन आयोजना प्रमुख अधिकारीले पोखरा विमानस्थलको ठेक्का सेटिङमा चिनियाँ कम्पनी सिएएमसी इन्जिनियरिङ कम्पनीलाई दिएका थिए। सिएएमसी इन्जिनियरिङ कम्पनीसँग नेपाली ठेकेदार कम्पनी क्षमादेवी कन्स्ट्रक्सनलाई जेभीमा राख्ने चाँजोपाँजो पनि प्रदीप अधिकारीले नै मिलाएका थिए।

गत पुसमै निर्माण सम्पन्न भई प्रधानमन्त्री पुष्पकमल दाहालले विमानस्थल उद्घाटन गरेका थिए। उद्घाटनको समयमा चिनियाँ राजदूतले सो विमानस्थल निर्माणलाई बिआरआईअन्तर्गतको परियोजना भएको बताएका थिए। उद्घाटनपछि भुटानबाट गत भदौमा एउटा विमान आएको थियो।

रोयल भुटान एयरलाइन्स डुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक व्यावसायिक उडान भरेको थियो। अख्तियारले पोखरा विमानस्थलमा छानबिन गर्न थालेपछि महानिर्देशक अधिकारी भने अख्तियारका पदाधिकारी नै हटाउने भन्दै हिँड्न थालेका छन्। उनले तत्कालीन पर्यटनमन्त्री किरातीलाई आफूले नै हटाएको भन्दै हिँडेको प्राधिकरणकै एक कर्मचारीले बताए। 

प्रकाशित: २० चैत्र २०८० ०६:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App