२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मुक्तिनाथ दर्शनमा बढ्यो ‘लेक’को खतरा: चैत्रमा मात्र चार जनाकाे मृत्यु

अढाई वर्षमा २७ जनाको मृत्यु

मुस्ताङको मुक्तिनाथ मन्दिर। फाइल तस्बिरः नागरिक

–हिमाली जिल्ला मुस्ताङको धार्मिक क्षेत्र मुक्तिनाथ मन्दिर (३८००मि) दर्शन गर्न पुगेका भारतको उत्तराखण्डका अनिल कुमार गुप्ता, ६०, को आइतबार बिहान ‘लेक’ लागेर ज्यान गयो। मुक्तिनाथ मन्दिरमा दर्शन गर्न जाने क्रममा सोही मन्दिरको सिँढी चढिरहँदा गुप्ता बेहोस भइ ढलेका थिए। उपचारको लागि जिल्ला अस्पताल जोसमोम झारेपनि उपचारको क्रममा उनको मृत्यु भएको थियो।  

–शनिबार पनि मुक्तिनाथ दर्शन गर्न गएकी अर्की भारतीय महिलाको पनि लेक लागेर ज्यान गएको थियो। भारतको गुुजरातकी जनीत अरुणा बेन,६५, को पनि लेक लागेर मृत्यु भएको थियो। थासाङ गाउँपालिका–१ टुकुचे नजिकै आईपुग्ने क्रममा अचानक लेक लागेर बिरामी परेकी उनलाई उपचारार्थ अस्पताल लगेपनि चिकित्सकले मृत घोषणा गरेका थिए।  

मुक्तिनाथ दर्शन गर्न जाँदा ज्यान गुमेका यी पछिल्ला लगातारका घटना हुन। मुस्ताङका प्रहरी प्रमुख डिएसपी भोजराज पाण्डेका अनुसार यो महिनामा मात्रा चारजनाले लेक लागेर ज्यान गुमाएका छन। चालु आर्थिक वर्षको अहिलेसम्म नौजनाको लेक लागेर ज्यान गएको डिएसपी पाण्डेले बताए। उनका अनुसार मृत्यु हुनेमा ६ भारतीय, २ नेपाली र एकजना युक्रेनी पर्यटक रहेका छन।

अघिल्लो आर्थिक वर्षमा १२ जनाले लेक लागेर ज्यान गुमाएका थिए। ती मध्ये ७ भारतीय, ४ नेपाली र १ जना थाइल्याण्डका नागरिकको लेक लागेर ज्यान गएको उनले बताए। डिएसपी पाण्डेका अनुसार अढाई वर्ष अवधिमा लेक लागेर २७ जनाको मुस्ताङमा ज्यान गएको छ। ती मध्ये सबैभन्दा बढी भारतीय १९, नेपाली ६, युक्रेन र थाइल्याण्डका एक–एकजना रहेको उनले बताए। ज्यान गुमाउने नेपाली र भारतीय मुक्तिनाथ दर्शनकै क्रममा बिरामी परेका थिए। अढाई वर्षमा ज्यान गुमेका २७ जना मध्ये १४ जना महिला र १३ जना पुरुष रहेको पनि उनले बताए।  

‘पछिल्लो समय त लेक लागेर दिनदिनै ज्यान जान थालेको छ। मुक्तिनाथ दर्शन गर्न नभई ज्यानै फाल्न आएजस्तो हुन थालेको छ। यसले ती पर्यटकका आफन्त र समूहलाई पनि खल्लो बनाएको छ। दिनहुँजसो ज्यान जान थालेपछि प्रहरीलाई पनि हैरानी थपिएको छ,’ डिएसपी पाण्डेले भने, ‘ज्यान जाने मात्र नभई यसले भारतीय पर्यटनमाझ नकारात्मक सन्देश पनि प्रवाह गर्ने हुन्छ। भविश्यमा पर्यटनमा असर पर्न सक्छ।’

लगातारजसो घटना हुन थालेपछि प्रहरीले जोमसोम प्रवेशको नाका घाँसा र जोमसोममा पर्यटक प्रहरीमार्फत सचेतनाका कार्यक्रम पनि गर्दै आएको छ। घाँसामा प्रहरी र जोमसोममा पर्यटक प्रहरीले पर्यटक सवार गाडीमै चढेर स्वास्थ्यमा समस्या भए परीक्षण गराएर मात्र मुक्तिनाथ जानु भनेर सल्लाह दिने गरेको पनि उनले बताए।  

‘कम्तिमा एकराज जोमसोममा बास बस्ने हो भने यो समस्या केही कम हुनसक्छ। तर,अहिले सडकको सहजताका कारण पर्यटक एकैदिनमा दौडादौड गरेर आउजाउ गर्दा लेक लाग्ने समस्या बढेको छ,’ उनले,‘पर्यटक ल्याउने र लैजाने गर्ने पर्यटन व्यावसायी सचेत नहुने हो भने यस्ता घटना अझै बढ्ने त्रास छ।’

चिकित्सकहरु पनि छोटो समयमा उच्च भेगको यात्राले लेक लाग्ने जोखिम बढ्ने बताउँछन। जोमसोम अस्पतालका चिकित्सक डा. तेजेस नेपालका अनुसार कम उचाँइमा बसेका व्यक्ति एकाएक उच्च हिमालमा पुग्दा भइने बिरामीलाई ‘हाइ अल्टिच्यूड’ भनिन्छ। ‘लेक लाग्ने भनेको एकाएक बढी उचाईमा गएपछि त्यहाँ अक्सिजनको तह नमिलेर शरिरमा आउने समस्या हुन्छ। सचेत नहुँदा यो समस्या आइपर्छ,’ नेपालले भने, ‘लेक लागेर शरिरमा अक्सिजन कम हुँदा समस्या हुन्छ। त्यसले फोक्सोमा पानी जम्छ। सास फेर्न गाहे हुन्छ। टाउको दुख्ने, चक्कर लाग्ने, वाकवाक लाग्ने लगायतका समस्या आउँछन।’ उनका अनुसार गम्भिर भएमा टाउकोमा पनि पानी जम्छ, त्यसपछि ज्जानै जाने जोखिम बढी हुन्छ  

कम खर्चमा हतारमा यात्रा गर्न खोज्दा यो समस्या बढेको उनले बताए। ‘मुक्तिनाथको यात्रामा एकरात जोमसोम, घाँसामा बस्दै उक्लिने हो भने समस्या कम हुन्छ। मान्छेले शरिरलाई उचाई अनुसार सन्तुलन मिलाउँदै जानुपर्छ । बानी पार्दै जानुपर्छ। त्यो नभएकोले ज्यानै जानेसम्मको समस्या बढेको हो,’ उनले भने । धार्मिक स्थल भएकोले वुद्धवुद्धा बढी आउँदा पनि उनीहरुमा समस्या हुन्छ। प्रेसर, सुगर, दमका बिरामीलाई लेक लाग्ने जोखिम बढि हुने उनले बताए।  

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ का अध्यक्ष प्रमेश गुरुङका अनुसार मुक्तिनाथ मन्दिर परिसरमा हेल्थ डेस्क छ। त्यसपछि तीनकिलोमिटर तल झारकोट स्वास्थ्यचौकी, नौ किलोमिटरको दूरीमा कागबेनी स्वास्थ्यचौकी र १९ किलोमिटरको दूरीमा जिल्ला अस्पताल छ। मन्दिर परिसरको हेल्थडेस्कका बिरामीलाई आवश्यक परे अक्सिजन दिन पनि मिल्छ, बेडमै राखेर उपचार गर्न पनि मिल्छ।  

उनका अनुसार बेहोस भएर ढलेका तीर्थयात्रीलाई स्वास्थ्यचौकी पु¥याइसक्दा अन्तिम अवस्थामा पुगिसक्छन त्यो बेला बचाउन निकै नै कठिन हुन्छ। हतारमा माथि उक्लिँदा समस्या आईपर्ने उनले बताए। सतर्कता अपनाउन सकेनौ भने भविश्यमा यही नै कारण पर्यटनमा प्रभाव पर्नसक्ने उनले बताए।  

व्यावसायीका अनुसार तेश्रो मुलुकका पर्यटक यस्ता समस्यामा कमै पर्छन । किनकी उनीहरुले समय तालिका बनाएर पदयात्रा गर्छन, सचेतना पनि अपनाउँछन, गाइडसाथमा लिएर जान्छन। ‘मुक्तिनाथमा धार्मिक पर्यटक जान्छन, कतिपय त दर्शन गर्न जाने भनेर भोकभोकै गएका हुन्छन। त्यसले गर्दा शारिरीक समस्या बढी थपिने गर्छ । तेश्रो मुलुकका पर्यटक अहिले पनि तोकेको ठाउँ भन्दा माथि जाँदैनन,’ पदयात्रा व्यावसायीको छाता संस्था टे«किङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान)का अध्यक्ष धर्मराज पन्थीले भने, ‘पाहुना आफैले पनि आफ्ना लागि जोखिम निम्त्याउने गर्छन।’

पन्थीका अनुसार यो समस्यालाई कम गर्नका लागि हतारको यात्रामा ब्रेक लगाउनुको विकल्प छैन। त्यसका लागि कहाँ कति बजे पुग्ने भनेर ‘टाइम कार्ड’ लागु गर्नुपर्ने हुन्छ। 

‘पोखराबाट एकैदिनमा मुक्तिनाथ पुग्नै नपाउने गरि सवारीका लागि टाइम कार्ड बनाएर कडाई गर्नुपर्ने जरुरी छ। कार्ड सिस्टम बनाउने हो भने त्यसले क्षति कम गर्न सक्छ,’ उनले भने, ‘अहिले मार्नै लगे जस्तो भएको छ।’  

उनका अनुसार अहिले व्यावसायीले तीर्थयात्रीलाई एकैदिनमा पोखराबाट मुक्तिनाथ पु¥याएर दर्शन गराएर जोमसोम झार्ने गरेका छन। कतिपयले त मध्यरातसम्मै पोखरा ल्याइसक्छन। त्यसले गर्दा जोखिम बढेको उनले बताए। ‘एकरात मार्फा वा जोमसोम बस्न सके अर्काे दिनसम्म सहज हुन्छ। दोश्रो दिन मन्दिर पुग्दा केही सहज हुन्छ,’ उनले भने, ‘त्यसबारे व्यावसायी र प्रशासनले सोच्नुपर्छ।’  

अर्का एकजना व्यावसायी विजय केसीका अनुसार पछिल्लो समय पोखराका व्यावसायीले यति हतारका साथ भारतीय पर्यटकलाई मुक्तिनाथ लैजान्छन की बिहान सबेरै पोखराबाट लगेर राती अबेर नै पोखरा ल्याउने गरेका छन। उनका अनुसार पोखरा–जोमसोम करिब १८० किलोमिटर एकतर्फी दूरी एकैपटक पुरा गर्न खोज्दा यो अवस्था आएको हो।  

केसीका अनुसार सुनौलीबाट दिनभर यात्रा गरेर भारतीय पर्यटक बेलुकी पोखरा आउँछन। भोलिपल्ट बिहान सबेरै पोखराबाट जीपमा चढाएर दिउँसो ३ बजेसम्म जोमसोम उकाल्छन। त्यसपछि फर्काएर जोमसोम, तातोपानी क्षेत्रमा बास बसाउँछन भने केहीले हतारहतार राती अबेरसम्म पनि पोखरा झार्छन। त्यसले हतारको यात्रा हुने गरेको उनले बताए।

‘पहिलेपहिले पोखरा आएपछि ‘परमिट’ बनाउनका लागि पोखरामै बास बसाइन्थ्यो। तर, अहिले बाटोमै परमिट पाउने भएकोले बास बस्न छाडेका छन,’ उनले भने, ‘घाँसामा पनि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले परमिट दिन्छ।’ एकैदिनमा आउजाउ गर्दाको धपेडीले ज्यान जाने गरेको उनले बताए।  

‘पछिल्लो समय आधाजसो भारतीय पर्यटक त जुन दिन गयो, त्यही दिन राती अबेरसम्म पोखरा फर्किन्छन,’ उनले भने, ‘यसले ज्यानै लिने गरेको छ।’ केसीका अनुसार शनिबार ९ वटा गाडीमा ५४ जना भारतीय पोखराबाट एकैदिनमा मुक्तिनाथ पुगेर पोखरा फर्केका थिए। आइतबार पनि त्यस्तै हतारको यात्रामा १८ जना भारतीय गएका थिए। ‘एकरात जोमसोम बस्न बाध्य बनाउने हो भो यो घटना कम हुन्छन। पहिला पहिला हिडेर जान्थे, जोमसोममा बास बस्थे र यो समस्या हुँदैनथ्यो। तर, अहिले मनलाग्दी छ,’ उनले भने।  

एक्याप जोमसोमका संरक्षण अधिकृत प्रमोद रेग्मीका अनुसार अहिले भारतीय पर्यटकले लिनुपर्ने  एक्याप प्रवेश शुल्कको अनुमति घाँसाको चेकपोष्टबाट पनि लिन पाउँछन। पहिले पोखराबाटै लिनुपर्ने बाध्यता थियो। ‘दीर्घरोगी, नियमित औषधी सेवन गर्ने र उचाईसँग बानी नपर्दा ज्यानै जाने समस्या बढेको हो,’ रेग्मीले भने, ‘यसलाई कम गर्नका लागि दीर्घरोगी भएका व्यक्तिले विशेष ध्यान दिनुपर्छ। ठाउँठाउँमा बास बस्दै जाने हो भने लेक लाग्ने समस्या केही टर्छ र ज्यान जोगिन्छ।’ 

प्रकाशित: १८ चैत्र २०८० १६:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App