१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

प्रसाईँका अङ्गरक्षकहरूबाट हतियार बरामदबारे छानबिन गर्न समिति

गृहमन्त्री रवि लामिछानेले मेडिकल व्यवसायी दुर्गा प्रसाईँका अङ्गरक्षकले हतियार बोकेर हिँडेको विषयमा छानबिन गर्न समिति गठन गरेका छन्। 

बुधवार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित उनलाई समितिका सदस्यहरूले यसबारे छानबिन गरी सत्य तथ्य बाहिर ल्याउन सुझाव दिएका थिए। यसपछि बिहीबार गृहमन्त्रीस्तरीय निर्णयबाट छानबिन समिति गठन गरेको बुझिएको छ।

चैत ५ गते प्रसाईँका अंगरक्षकद्वय दीपक खड्का र राजकुमार धिताल हतियारहरूसहित सर्वोच्च अदालतको गेटबाट पक्राउ परेका थिए। उनीहरूका साथबाट सुरक्षाकर्मीले अत्याधुनिक हतियार मेसिनगन एकथान, म्याग्जिन, म्याग्जिन होल्डर र गोली १०० राउन्ड बरामद गरेका थिए। 

यसैबीच सर्वोच्चले ती हतियारको इजाजतपत्र कानुन विपरीत जारी गरिएको ठहर गरेको थियो। इजाजतपत्र कसरी जारी भयो भन्नेबारे छानबिन गर्न अदालतले पनि निर्देशन दिएको थियो । त्यही निर्देशन बमोजिम चार सदस्यीय छानबिन समिति गठन गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ। 

गृहका सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ। समिति सदस्यमा गृहकै उपसचिव ऋषि पौडेल र प्रहरी उपरीक्षक सन्तोष भट्टराई र गृहका उपसचिव एकदेव अधिकारी सदस्यसचिव छन्। उक्त समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ। 

प्रकाशित: १६ चैत्र २०८० १२:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App