९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

पर्साका एसपी ढुङ्गेल भन्छन्: पक्राउ पुर्जी जारी भएपछि मेयर सिंहलाई हतकडी लगाउँछौँ

पर्साका प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुंगेलले अदालतबाट पक्राउ पुर्जी जारी भएपछि मेयर राजेशमान सिंहलाई हतकडी लगाउँने बताएका छन्।

बुधबार जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एसपी ढुङ्गेलले यस्तो बताएका हुन्।

किर्ते नागरिकता प्रकरणमा नक्कली बुवा बनेर नागरिकता दिलाएको जाहेरीको कारबाही प्रक्रियाबारे पत्रकारहरूको सवालमा एसपी ढुंगेलले अदालतबाट पक्राउ पुर्जी जारी भएपछि मेयर सिंहलाई उनको कार्यकक्षबाट हातमा हतकडी लगाएर ल्याउन आफू न हिचकिचाउने बताए।

उनले आफू कसैको दबाब प्रभावमा काम नगर्ने भन्दै उनले पर्सा वासीलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन तत्पर रहने बताए।

जिल्ला प्रहरी कार्यालय पर्सामा दलालहरूलाई रोक्न र दुःखी नागरिकहरू  प्रत्यक्ष आफ्नो सम्पर्कमा आउन व्यवस्था आफुले मिलाउने प्रतिबद्धता एसपी ढुंगेलले व्यक्त गरे।

करिब एक महिना अगाडी पर्सा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका एसपी ढुंगेलले नेपालको संविधान, कानुनअनुसार नै प्रहरीले गर्ने कामकारबाही गर्ने भएकाले सोहीअनुसार अगाडि बढ्ने बताए।

प्रहरीको ऐन–कानुनमा उल्लेख भए अनुसार प्रहरीले गर्नुपर्ने कामकारबाही बाहेक खासै योजना नरहेको उनको भनाइ छ। साथै उनले प्रहरीले शान्ति सुरक्षा, आपराधिक गतिविधि र चोरी पैठारी नियन्त्रण गर्ने कामकारबाहीबारेमा पत्रकारहरूले सहज रूपमा सूचना पाउने बताए।

प्रहरी उपरीक्षक ढुंगेलले जिल्लामा शान्ति सुरक्षा तथा आपराधिक गतिविधि नियन्त्रण गर्ने कार्यमा पत्रकारहरूको सहयोग आवश्यक रहेको बताए।

नेपाल प्रहरीमा सूचना संकलन गर्नका लागि युनिट नै रहेकाले घुमुवा प्रहरी नरहने बताए।

प्रकाशित: ७ चैत्र २०८० १८:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App