१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कमाउन कुवेत पुगेका तीन युवा उतै अस्ताए

वैदेशिक रोजगारीले धेरैको घरको छानो जोडिएको छ। तर, कैयौं परिवार यस्ता पनि छन्, जसका घरको जगैसमेत वैदेशिक रोजगारीले उजाडिएको छ। पैसा कमाएर परिवारको जीवन सुखमय बनाउने सपना बोकेर कुवेत पुगेका तीन युवाले गत मंगलबार विदेशी भूमिमै ज्यान गुमाएका छन्।

गत सोमबार एउटै विस्तरामा रात बिताएका उनीहरूको कुवेतस्थित महाबुल्ला एरियामा मंगलबार बिहान बाटो काट्ने क्रममा गाडीको ठक्करबाट मृत्यु भएको छ।

वैदेशिक रोजगारीमा कुवेत पुगी अकालमा मृत्यु हुनेमा सानो भर्‍याङका सुजन कार्की, अछामका सुरतबहादुर कडायत र धनुषाका धिरज गुर्मछान मगर हुन्।

परिवारको खुसी खोज्न कुवेत हिँडेका मृतक परिवार अहिले दुःखको भुमरीमा अल्झिरहेका छन्। ती सबै परिवारको व्यथा उस्तै छ। परिवारको खुसीका निम्ति सन्तान विदेश जान्छन्। बाँचेर फर्के त ठिकै हो, काठको बाकसमा फर्के भने जिन्दगीभरि परिवारलाई खट्कोबाहेक केही हुँदैन।

धनुषाका २६ वर्षीय धिरज गुर्मछान मगर कमाउन भनेर कुवेत पुगेका थिए। सुखी परिवारमा पाँच सन्तानमध्ये चौथो सन्तानका रूपमा जन्मिएका धिरज चार बहिनीका एकै भाइ थिए। गत मंगलबार एकाएक धिरज बितेको खबर आएपछि परिवारको आधार सकिएको छ। परिवारले उनी बितेको खबर अझै पत्याउन सकेको छैन। कुवेतमा धिरजको मृत्यु भएको खबर उसकै साथीमार्फत गत मंगलबार राति १० बजे आएको परिवारको भनाइ छ।

गुर्मछान मगर परिवारका एउटै छोरालाई वैदेशिक रोजगारले चुँडेको छ। धिरजको मृत्युपछि उनका बाबुआमाको जिन्दगीमा अन्धकार छाएको छ। धिरजकी आमा अझै अचेत छिन्। कुवेती बसाइ दुई वर्ष पुगिसकेका धिरज फर्कन महिना दिन पनि बाँकी नरहेको उनका पिता बलबहादुरले सुनाए।

‘मेरो सन्तानमा चार छोरीको एकै भाइ धिरज हो,’ धिरजका पिताले भने, ‘के आइपर्‍यो यस्तो। वज्रपात नै भयो। धिरजकी आमा मुर्छा परेकी छिन्। दुवई पुगेकी कान्छी छोरी पनि यो खबरले हिजो राति मात्रै घर आएकी छिन्। चारै छोरी जम्मा भएर आमालाई सम्हाल्दै छन्।’

उनले थपे, ‘छोरासँग हरेक दिन फेसबुकमा अनुहार हेर्दै बोल्थ्यौं। आइतबार मात्रै उसको आमा र मसँग कुरा भएको थियो। अप्रिलमै घर आउँछु भनेको धिरजले भान्जाभान्जीलगायत सबैलाई कपडा पनि किनिदिएको भिडियो कलबाट देखाउँथ्यो। छोरा बितेको खबर कसरी पत्याउनु। अपत्यारिलो छ। अझै उसको अनुहार आँखाभरि झलझली आइरहेको छ।’

१० कक्षासम्म अध्ययनरत धिरजले कुवेत जानुअघि पहिले साउदी अरेबियामा पनि केही वर्ष बिताएका थिए। साउदी अरेबियामा राम्रो कमाइ नभएकाले पछि कुवेत प्रस्थान गरेका धिरजका बाबु बलबहादुरले सुनाए। मृतक धिरज कुवेतमा पिज्जा बनाउने काम गर्थे। मृतक धिरजको परिवार अहिले शोकमा डुबिरहेको छ।

कुवेतमा धिरजसँगै एकै दिन, एउटै स्थानमा एक चिहान भएका सुजन र सुरतका परिवारमा पनि बज्रपात परेको छ। परिवारको आर्थिक भार व्यवस्थित गर्न धिरजजस्तै काठमाडौंस्थित सानो भर्‍याङका २३ वर्षीय सुजन कार्कीको पनि कुवेतमा वर्ष दिन नपुग्दै गत मंगलबार मृत्यु भएको छ। आमा लालनपालन गर्ने र भाइलाई पढाउने भनेर बिदेसिएका कार्की परिवारको जेठो छोरा सुजनलाई कुवेती नागरिकले नै चलाएको गाडीले ठक्कर दिँदा ज्यान गएको छ।

स्वदेशमा भएको ऋण चुक्ता गर्न र परिवारलाई पाल्न उनी बिदेसिएका थिए। परिवारको हेरचाह गर्ने जिम्मा लिएर १२ कक्षापछि बिदेसिएका सुजनको परिवार अहिले अर्धचेत अवस्थामा रहेको छ। आफ्नो छोरोको शव नेपाल नआएसम्म कसरी विश्वास गर्ने हो र? भन्दै सुजनकी आमा जानुकाले बताइन्।

‘मृत्युको खबर आएको दुई दिनअघिसम्म आमाछोरा कुरा गर्दै थियौं,’ उनले भनिन्, ‘साथीकोमा गएको खबर त हामीलाई थाहै छैन। एक्कासि सडक दुर्घटनामा परेर सुजनको मृत्यु भयो रे भन्दै सामाजिक सञ्जालले फैलायो। अनुहार केही देखिएको छैन। कसरी पत्याउनु? यो मन त्यसै अतालिएको छ। सास रोकिएला झैं हुन्छ।’

छोराको शव आउँदो आइतबार वा सोमबार आउने खबर श्रम मन्त्रालयले दिएको सूचना उद्धृत गर्दै उनले सुनाइन्।

आमाको काखमा कहिल्यै नफर्किने गरेर उत्तै अस्ताएको खबरले बिचल्ली त बनाएको सुजनकी आमा जानुका सुनाउँछिन्। त्यस्तै धिरज, सुजन जस्तै सुरतबहादुर कडायतको मृत्युले पनि उनको परिवार अहिले पीडामा छन्। ती तीनै जना नेपालीको गाडीको ठक्करबाट कुवेतमा मृत्यु भएको हो।

कुवेती महाबुल्लास्थित साथी भेट्न सुरतको कोठामा हवालीमा बस्दै आएका सुजन र धिरज गत सोमबार राति पुगेका थिए। त्यो रात नै उनीहरूको अन्तिम रात भयो। मंगरबार बिहान आफ्नो कोठा फर्किने क्रममा बस चढाउन आएका सुरतसहित तीनै जनालाई कुवेती नागरिकले नै चलाएको गाडीले ठक्कर दिएकै भरमा उनीहरूको ज्यान गएको कुवेतस्थित नेपाली राजदूतावासले जानकार दिएका छन्।

कुवेतस्थित नेपाली राजदूतावासका श्रम काउन्सेलर गिरीप्रसाद आचार्यका अनुसार पोस्टमार्टम तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरेर उनीहरूको शव नेपाल ल्याउने तयारीमा रहेको हो।

‘कुवेत पुगेका मृतक तिनै जना पापाजोन कम्पनीमा कार्यरत थिए,’ उनले भने, ‘उनीहरूको शव पोस्टमार्टमका लागि फरवानिया हस्पिटलमा राखिएको र पोस्टमार्टमपछि शवहरू नेपाल पठाइने छ।’

बाटो क्रस गर्ने क्रममा गाडीको ठक्करबाट तीनै जनाको घटनास्थलमै मृत्यु भएको सूचना नेपाली दूतावासले दिएको छ।

मृतक सुरतका भाइ झम्कले भेटे श्रममन्त्री

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले कुवेतमा सवारीसाधन दुर्घटनामा परी मृत्यु भएका अछामका सुरतबहादुर कडायतका परिवारसँग भेट गरेका छन्। भेटमा सुरतका भाइ झम्कबहादुर कडायतले शव घरसम्म ल्याइपुर्‍याउने व्यवस्था गरिदिन तथा गन्तव्य मुलुकबाट पाउने क्षतिपूर्ति रकम सहज रूपमा व्यवस्था गरिदिन आग्रह गरेका छन्।

मन्त्री अर्यालले मन्त्रालयले आवश्यक प्रक्रियाका लागि वैदेशिक रोजगार बोर्डलाई निर्देशन दिएको बताए। साथै मृतक श्रमिकको परिवारले पाउने सेवासुविधालाई जतिसक्दो छिटो भुक्तानी गरिनेसमेत प्रतिबद्धता व्यक्त गरेका छन्। सुरतको मंगलबार कुवेतमा कार दुर्घटना परी मृत्यु भएको थियो।

प्रकाशित: ३ चैत्र २०८० ०५:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App