सुन तस्करी जाँचबुझ आयोगले उपप्रधान एवम् गृहमन्त्रीलाई प्रतिवेदन बुझाएपछि उनको दौडधुप बढेको छ।
आयोगले प्रतिवेदन बुझाए लगत्तै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटघाट गरेका गृहमन्त्री रवि लामिछानेले केही बेर अघि प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटघाट गरेका छन्।
प्रहरी महानिरीक्षक वसन्त कुवरलाई साथमा लिएर उनले प्रतिवेदनको सार संक्षेपसहित प्रधानमन्त्री दाहाल र परराष्ट्रमन्त्री श्रेष्ठसँग छलफल गरेका थिए। दिउँसो दुई बजे परराष्ट्र मन्त्रालय पुगेका लामिछानेले अहिले ४ बजे प्रधानमन्त्री दाहाललाई भेटघाट गरेका छन्।
उनले आयोगले दिएको सारसंक्षेपको आधारमा केही अधिकारीहरूको सरुवा गर्न चाहिरहेको स्रोतले जनाएको छ। आयोगले गठन भएको साढे ५ महिनामा आयोगका अध्यक्ष डिल्लीराज आचार्यले आज बिहान सिंहदरबारमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएका हुन्।
गत साउनमा हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो सुन र इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर दुबईबाट ल्याएको सुनबारे सो आयोगले अनुसन्धान गरेको थियो। मन्त्रिपरिषद्ले असोज १४ मा सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गरेपछि आयोगको समय दुई पटक थपिएको थियो। सुन तस्करीमा माओवादीका शीर्ष नेताहरु नै संलग्न रहेको समाचार बाहिर आइसकेको छ।
आयोगको सदस्यमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा, पूर्व सहसचिव किशोरजंग कार्की र पूर्व सहसचिव प्रेमराज जोशी थिए।
प्रकाशित: १ चैत्र २०८० १७:५९ बिहीबार