२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

पशुपतिनाथको सम्पत्ति: नगद अढाई अर्ब, जग्गा ५१ सय रोपनी

पशुपतिनाथ मन्दिरका नाममा विभिन्न बैंकमा दुई अर्ब ६५ करोड रुपैयाँ छ। यसैगरी पशुपतिनाथ मन्दिरका नाममा पाँच हजार एक सय ७२ रोपनी जग्गा रहेको पाइएको छ। पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजु खत्रीका अनुसार पशुपतिनाथ मन्दिरमा भेटीबापत दैनिक २ लाखदेखि साढे दुई लाख रुपैयाँसम्म जम्मा हुन्छ।  

पशुपतिनाथ मन्दिरमा शिवरात्रिका बेला विशेष पूजा गर्नेले एसबिआई बैंकमा १५ हजार एक सय रुपैयाँ जम्मा गरेको भौचर जम्मा गर्नुपर्छ। अरू बेला विशेष पूजा गर्नका लागि दुई हजार एक सय रुपैयाँ जम्मा गरेको भौचर कोषलाई बुझाउनुपर्ने व्यवस्था रहेको सदस्य सचिव खत्रीले बताए। 

उनका अनुसार भेटी तथा विशेष पूजाबापत जम्मा भएको रकम विभिन्न वाणिज्य बैंकमा जम्मा गरिएको छ। कोषका अनुसार पशुपतिनाथ मन्दिरको जग्गा भाडामा लगाएबापत वार्षिक नौ करोड रुपैयाँ उठ्छ। तारागाउँ विकास समितिले पशुपतिनाथ मन्दिरको स्वामित्वमा रहेको ६ रोपनी जग्गा प्रयोग गर्दै आएको छ। उक्त जग्गा प्रयोग गरेबापत तारागाउँले वार्षिक ४९ हजार रुपैयाँ बुझाउँदै आएको छ। 

पशुपतिनाथ मन्दिरका नाममा रहेको जग्गा अतिक्रमण गर्ने क्रम पनि बढेको छ। अतिक्रमणमा परेको मन्दिरको जग्गा खोज्न बेलाबेलामा समिति बनाइँदै आएको छ। कोषका एक पदाधिकारीका अनुसार पशुपतिनाथ मन्दिरको स्वामित्वमा अहिले पाँच हजार एक सय ७२ रोपनी, चार आना तीन पैसा जग्गा भएको पाइएको छ। 

यसमध्ये एक हजार पाँच सय पाँच रोपनी जग्गा अतिक्रमणकारीबाट मन्दिरका नाममा ल्याइएको ती पदाधिकारीले बताए। पशुपतिनाथ मन्दिरको स्वामित्वमा रहेको भनिएको दुई सय ३१ रोपनी १० आना जग्गा पहिचान गर्न बाँकी रहेको कोषका पदाधिकारीको भनाइ छ।  

कोषका अनुसार पशुपतिनाथ मन्दिरको एक हजार १६१ रोपनी चार आना तीन पैसा जग्गा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले प्रयोग गरिरहेको छ। यसैगरी तारागाउँ विकास समिति मोही रहेको १७ रोपनी जग्गा भेटिएको छ। विकास कोषका अनुसार पशुपतिनाथ मन्दिरको नाममा रहेका नौवटा पोखरीमध्ये ६ वटाको अस्तिŒव अहिले छैन। 

करिब सय वर्षअघि बनाइएको अनुमान गरिएका ती पोखरी लोप भएपछि कोष खोजीमा जुटेको छ।कोषका अनुसार नौवटा पोखरी करिब ३/३ आनामा बनेको अभिलेख छ। तीमध्ये धर्मशाला पोखरी, राजराजेश्वरी पोखरी, हंशमण्डप पोखरी, वनकाली पोखरी र भण्डारखाल पोखरी पशुपति क्षेत्रभित्रै रहेको अभिलेख छ।

प्रकाशित: २५ फाल्गुन २०८० ०७:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App