२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

आज महाशिवरात्रि: साढे पाँच लाख भक्तजनले पशुपतिनाथ दर्शन गर्ने अनुमान

महाशिवरात्रि पर्व शुक्रबार देशभरिका शिवालयमा पूजाआजा गरी मनाइँदै छ। महाशिवरात्रिका अवसरमा काठमाडौंस्थित पशुपतिनाथ मन्दिर परिसरलाई फूलमाला र बत्तीले झकिझकाउ पारिएको छ। मन्दिर परिसरमा बिहीबारदेखि नै साधुसन्त र सर्वसाधारण दर्शनार्थीको चाप पनि बढेको छ।  

यसपटक महाशिवरात्रि मेला भर्न स्वदेशी र विदेशी गरी करिब १० लाख पशुपति क्षेत्र आउने अनुमान गरिएको छ। जसमध्ये करिब साढे पाँच लाखले दर्शन गर्ने पशुपति क्षेत्र विकास कोषले अनुमान लगाएको सदस्य सचिव राजु खत्रीले बताए।

भक्तजनलाई छिटोछरितो पशुपतिनाथको दर्शन गराउन यसपटक मन्दिरभित्र चारवटा र्‍यामको व्यवस्था गरिएको छ। ती र्‍यामअन्तर्गत नौवटा लाइनको व्यवस्था गरिएको छ। यसबाट भक्तजनले सहजै पशुपतिनाथको दर्शन गर्न पाउने विश्वास गरिएको छ। यसपटक भिआइपी दर्शन हटाएर सर्वसाधारणका लागि यस्तो व्यवस्था मिलाइएको खत्रीले बताए। ‘शुक्रबार बिहानैदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलिनेछ,’ खत्रीले भने, ‘विगतमा पूर्वबाट आर्थत् तिलगंगाको बाटोबाट भिआइपी, अर्चक, उपासक र सल्लाहकारले मात्र दर्शन गर्न पाउने व्यवस्था गरिन्थ्यो। यस पटक त्यस्तो व्यवस्था हटाएर त्यो बाटो सर्वसाधारणका लागि खुला गरिएको छ। पूर्वतिरबाट आउने भक्तजनले तिलगंगाको बाटो हुँदै दर्शन गर्न पाउनेछन्।’ त्यस्तै पुरानो तथा नयाँ बानेश्वर, सिनामंगललगायत भित्री बाटोबाट आउने भक्तजनलाई दक्षिणतर्फको गेटबाट मन्दिर प्रवेशको व्यवस्था गरिएको छ। सिफल, नक्साल, बालुवाटार र विशालनगरतर्फबाट आउनेका लागि जयबागेश्वरीबाट मन्दिरतर्फ अघि बढ्ने व्यवस्था मिलाइएको छ। बौद्ध महांकाल, साँखु , जोरपाटीबाट आउने दर्शनार्थी उमाकुण्ड हुँदै पशुपतिनाथ मन्दिरभित्र प्रवेश गर्न पाउनेछन्।  

‘विशेषगरी विगतमा भारतीय तीर्थालुले बागमतीमा नुहाउन नपाएको गुनासो गरेकाले यसपटक कोषले नुहाउन पानीको व्यवस्था मिलाएको छ। नुहाउन भनी बागमतीमा सफा पानी छाडिने भएको छ। मन्दिर परिसरमा नागाबाबालगायत साधुसन्तले धुनी जगाएर बसिरहेका छन्। बिहीबार दिउँसोसम्म मन्दिरपरिसरमा तीन हजार पाँच सय साधुसन्त आइसकेको कोषले जनाएको छ।

विगतका अनुभवबाट पाठ सिक्दै यस पटक सवारी पार्किङ व्यवस्थित पारिएको कोषको दाबी छ। तिलगंगा करिडोर, पशुपति क्षेत्र विकास कोषको कार्यालय परिसर, प्रहरी वृत्त/ट्राफिक प्रहरी प्रभाग, सिफल चौर, गुह्येश्वरी पारी पार्किङको व्यवस्था मिलाइएको कोषले जनाएको छ। यस पटक पशुपति क्षेत्रको फुटपाथमा पसल थाप्न नदिने कोषका सदस्य सचिव खत्रीले जनाए। महाशिवरात्रि पर्व व्यवस्थित रूपमा मनाउन पशुपति क्षेत्र विकास कोषले साढे दुई दशकदेखिको परम्परा तोड्दै अर्चक र उपासकको पद खारेजी गरेको छ। यसैगरी दुई हजार सल्लाहकारको पदसमेत खारेजी गरेको खत्रीले बताए। साधुसन्तका लागि कोषले विभिन्न अखडा र नि:शुल्क खानेबस्ने व्यवस्था मिलाएको छ।

प्रकाशित: २५ फाल्गुन २०८० ०७:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App