२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मिटरब्याजी पीडितका पीडा: सरकारकाे फोन आउँछ, न्याय दिन-नदिने छैन टुंगो

लगातार २३ दिन हिँडेर गत फागुन १० गते काठमाडौं आएका मिटरब्याज पीडितहरु निरन्तर रुपमा आन्दोलनरत छन्।

नेपालको विभिन्न भागबाट २३ दिन लगातार हिँडेर काठमाडौं सरकारसँग न्याय माग्न आएपनि उनीहरुको मागलाई सरकारले अहिलेसम्म सुनुवाई गरेको छैन। मिटरब्याज पीडितहरु न्याय नपाएसम्म काठमाडौं नछाड्ने अडानमा रहेका छन्। खाली खुट्टामा हिँड्दा उठेका ठेलाहरू फुटेर बनेका घाउँबाट रगत बगाउँदै भएपनि दैनिक काठमाडौंमा प्रदर्शन गरिरहेका छन्।

सरकारले उनीहरुको माग सम्बोधनको लागि वार्ता टोली बनाएर वार्ता गरिरहेको छ। तर दुई पटकसम्म वार्ता सफल हुन सकेको छैन। काठमाडौं आएका अधिकांश मिटरब्याज पीडितहरु गाउँकै साहुमहाजनबाट लिएको ऋणले उठिबास बनाएको भन्दै सरकारसँग जाली तमसुक खारेज गर्न माग गरेका छन्। अधिकांश पीडितहरुले ऋण लिएको ४ देखि ६ वर्षमा दोब्बर तेब्बर ऋण पुग्ने र हरेक वर्ष बुझाउँदा पनि साहुको ऋण नघटेन उल्टो बाँकी छ भन्दै घर जग्गा लुट्ने काम गरेको गुनासो गर्दै आएका छन्। उनीहरुले साहुले जाली तमसुक बनाएर भएको एक कठ्टा जमिन समेत हडपेकाले न्यायको लागि काठमाडौं आएको तर न्याय पाउने आशा मरेको बताए।

उनीहरुले ऋणको दोब्बर पैसा फिर्ता गर्दा पनि साहुले जग्गा खाने र जग्गा फिर्ता माग्दा उल्टै ऋण लिएको भन्दा बढी पैसा माग्ने गरेको पीडितहरुको गुनासो छ। मिटिरब्याज पीडित आन्दोलनमा सहभागी दाङका मिटरब्याज पीडितले राज्यले पीडितहरुको माग सम्बोधन भन्दा पनि राजनीतिकरण गर्ने काम भइरहेको बताए। उनले काठमाडौं आएर न्यायको ढोका ढकढकाय पनि न्याय पाउने अवस्था नदेखिएको दाबी गरे। पीडितले सरकारसँगको वार्तामा पनि विभिन्न पार्टीहरुको खेल भइरहेको बताए। वार्ताको माध्यमबाट समस्याको समाधान नहुने भएकाले न्याय पाउने विश्वास हराएको उनले बताए। पीडितहरुको माग सरकारले सम्बोधन गर्छ भन्ने दु:ख,कष्ट सहेर पनि न्याय पाउने आशाले बसिरहेको भन्दै खान, बस्नको लागि आफैँ खर्च गर्नुपरेको बताए। न्याय नपाएसम्म काठमाडौं नछोड्ने योजनामा रहेको उनको भनाइ छ।

सुनसरी जिल्लाबाट आएका अर्का मिटरब्याज पीडित बेलाल अनसारीले पूर्वमेचीदेखि पैदल हिँडेर काठमाडौं आएको ३२ दिन भएको र स्वास्थ्यमा समस्या देखिन थाल्दा समेत सरकारले माग सुनुवाई गर्ने अवस्था नदेखिएको दु:खेसो पाखे। उनले पीडितहरुको माग सम्बोधन नभएसम्म काठमाडौंमा नै बस्ने बताए। काठमाडौं बस्नलाई धेरै समस्या रहेको उनले गुनासो गरे। उनले मिटिर ब्याज पीडितले यति धेरै दु:ख कष्ट भोग्दा पनि सरकारले समस्या बुझ्न नसेको बताए। उनले आन्दोलनमा हुँदा समेत साहुमाहजनले पैसा कहिले दिने भन्दै फोन आउने गरेको सुनाए। अनसारीले सरकारले मिटिरब्याज पीडितलाई गृहमन्त्रीले दिने न्यायको सन्देश लिएर मात्रै आउने सुनाएको बताए।

मिटरब्याज तथा ठगीबिरूद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता शत्रुधन कुशवाह यादवले सरकारले मिटरब्याज पीडितको माग सम्बोधन गर्न आनाकानी गरिरहेको बताए। उनले सरकारले ६ बुँदे माग सम्बोधन गरे पीडितहरु तत्काल घर फर्कने जानकारी दिए। पीडितहरुको सरकारसँग धेरै ठूलो माग नभएको भन्दै जाली तमसुक खारेज,बढी लगेको पैसा फिर्ता लगायतमा मात्रै माग रहेको उनले बताए।

सिराहा जिल्लाका तिलकबहादुरको पनि उस्तै गुनासो रहेको छ। उनले पनि  न्याय माग्नको लागि काठमाडौं आएको र न्याय नपाएसम्म घर नफर्कने बताए। न्याय पाउने आशाले अगुवाहरुको पछाडी लागेर आएको उनको भनाइ छ। त्यस्तै कैलाली टिकापुरकी लक्ष्मी शाहले मिटरब्याजीले ऋणले भएकार घरजग्गा लिलाम गरेकाले न्यायको लागि आन्दोलनमा आएको बताए।

पीडितको माग सम्बोधनका लागि सरकारद्वारा गठित समिति र मिटरब्याज पीडित समूहबीचको वार्ताले ठोस निस्कर्ष निस्कने भने पनि अहिलेसम्म आउन सकेको छैन।  

प्रकाशित: १८ फाल्गुन २०८० १७:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App