काठमाडौं – मासिक एक सय रुपैयाँ लिएर अंग्रेजी माध्यममा नर्सरीदेखि स्नातकोत्तर तहसम्म अध्यापन गराउँदै आएको समता स्कुल देशका सबै जिल्ला र सार्कका तीन देशमा सञ्चालनमा आएको छ।
समता स्कुल नेपालका ७७ जिल्ला र सार्क मुलुकका भारत, श्रीलंका र बंगलादेशमा सञ्चालनमा आएको हो । यस वर्ष थपिएका ठाउँमा नयाँ शैक्षिक सत्रबाट अध्ययन सुरु हुनेछ।
समता विद्यालयका संस्थापक उत्तम सञ्जेलका अनुसार श्रीलंकामा यसै सातादेखि विद्यालय सञ्चालनमा आएको छ । भारतको विहारमा अघिल्लो वर्षदेखि समता स्कुल सञ्चालनमा ल्याइएको थियो भने बंगलादेशमा आगामी महिना सञ्चालनमा आउनेछ । त्यसपछि मालदिभ्समा समता स्कुल खोल्न प्रक्रिया थालिने सञ्जेलले बताए।
अघिल्लो वर्षसम्म नेपालका ५३ वटा जिल्लामा समता विद्यालय थियो । ‘यो वर्ष थपिएका दुई जिल्लासहित ७७ वटै जिल्लामा समता स्कुल सञ्चालनमा ल्याउने अन्तिम तयारीमा छौं,’ सञ्जेलले भने, ‘२०७५ सालभित्र समता स्कुल देशका सबै जिल्लामा पुर्याउने लक्ष्यसहित काम गरिरहेका छौं।’
उनका अनुसार अहिले स्कुलका लागि आवश्यक पूर्वाधारको तयारी भइरहेको छ । ती स्कुल नयाँ शैक्षिक सत्रमा भर्ना लिने गरी सञ्चालनमा आउनेछन्।
त्यसैगरी सन् २०२० सम्ममा सार्क मुलुकका सबै जिल्लामा समता स्कुल पु¥याउने योजनासहित काम भइरहेको सञ्जेलले बताए । ‘भारतपछि श्रीलंकामा खोल्यौं, बंगलादेशमा पनि उद्घाटनको तयारीमा छौं,’ उनले भने, ‘क्रमैसँग सार्कका आठवटै देशमा समता स्कुल सञ्चालनमा ल्याउनेछौं ।’ उनका अनुसार देशभर र सार्क मुलुकमा चल्ने सबै समता स्कुलको मासिक शुल्क भने एक सय रुपैयाँ नै हुनेछ।
‘नेपाल र सार्क राष्ट्रका सबै मुलुकमा शैक्षिक समस्या उस्तै छ,’ उनले भने, ‘आठै दशका बालबालिकाले सर्वसुलभ रूपमा शिक्षा पाऊन् भन्ने उद्देश्यसहित समता स्कुल सञ्चालनमा ल्याएका हौं ।’
समता स्कुल विभिन्न संघसंस्था तथा व्यक्तिको सहयोगबाट चल्दै आएको छ । समताले नर्सरीदेखि स्नातकोत्तरसम्म मासिक एक सय रुपैयाँ शुल्क लिन्छ । राजधानीको बौद्धमा रहेको समता स्कुलमा नर्सरीदेखि स्नातकोत्तर तहसम्म पढाइ हुन्छ । भक्तपुरमा रहेको समताले १२ कक्षासम्म पढाउँदै आएको छ । २० भन्दा बढी जिल्लामा भने १० सम्म पढाइ हुन्छ ।
समता स्कुल काठमाडौंका प्रिन्सिपल अजय अधिकारी सुशीलका अनुसार देशभर समता स्कुलमा ४५ हजार बढी विद्यार्थी अध्ययनरत छन् । सबैभन्दा बढी विद्यार्थी काठमाडौंमा छन्, जसको संख्या पाँच हजार रहेको छ । यस पटक समता काठमाडौंबाट १५ सय ७ जना विद्यार्थीले एसइई दिने प्रिन्सिपल अधिकारीले जानकारी दिए । समता स्कुल २०५८ सालमा काठमाडौंको जोरपाटीबाट सुरु गरिएको थियो । समता स्कुल बाँसबाट बनेका संरचनामा सञ्चालन हुँदै आएको छ ।
समताले स्कुलसँगै बौद्धस्थित समता अस्पतालसमेत चलाएको छ । ५० शड्ढयाको अस्पतालमा पनि सय रुपैयाँमा सबै सेवा उपलब्ध गराउँदै आएको बताइएको छ ।
प्रकाशित: १ चैत्र २०७४ ०६:२४ बिहीबार





