१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

‘चिहान’ माथि बस्यो ‘चिलगाडी’

नरहरिनाथ गाउँपालिकाका भीमबहादुर विष्ट कोटवाडामा निर्माण भइरहेको सुनथराली विमानस्थलमा मजदुरका रुपमा काम गर्थे। विद्रोही नेकपा माओवादीले अछाम सदरमुकाम मंगलसेनमा आक्रमण गरेपछि तत्कालीन शाही नेपाली सेना उनीहरुलाई खोज्दै कोटबाडा आइपुग्यो।

धादिङको जोगीमाराकासहित स्थानीय कामदारहरु निर्माणाधीन विमानस्थलको पहाड काटिरहेका थिए। सेनाले विमानस्थल निर्माणमा खटिएका उनीसहित ३६ जनाको २०५८ फागुन १२ गते एउटै चिहान बनायो। मारिनेमा विमानस्थल निर्माणमा मजदुरी गरिरहेका धादिङको जोगीमाराका १७ जना पनि थिए।

सेना फर्केपछि स्थानीयले हत्या गरिएका सबैलाई अहिले कालोपत्रे गरिएको धावनमार्गभित्र शव गाडे। विमानस्थल निर्माणमा खटिएका मजदुर मारिएको २२ वर्षपछि सुनथराली विमानस्थल औपचारिक रुपमा सोमबारदेखि सञ्चालनमा आएको छ।

‘चिहानमाथि चिलगाडी (हवाईजहाज) बस्दाको खुसी शब्दमा बताउन सक्दिन,’ भीमबहादुरका भाइ रच विष्टले भने, ‘जहाज आउन ४२ वर्ष कुर्नुपर्‍यो, नियमित सञ्चालनमा आइदिए मृतकहरुको आत्माले शान्ति पाउँथ्यो कि ?’

द्वन्द्वका बेला मारिएका भीमबहादुर फर्केर आउँदैनन् भन्ने परिवारलाई थाहा छ। त्यहीँ भएर कम्तीमा आफन्तले बगाएको रगत र परिनाको राज्यले चाँडै सम्मान गरिदेओस् भन्ने कामना उनीहरुको छ।

‘छिमेकका मात्रै होइन, धादिङका मजदुरहरूले पनि विमानस्थलमा रगत र पसिना बगाउनु भएको छ,’ उनले भने, ‘नियमित चिलगाडी आइदिए त्यो रगत र पसिनाको सम्मान हुने थियो।’

नरहरिनाथ गाउँपालिका–३ का वडाध्यक्ष कटकबहादुर बुढा विमानस्थल निर्माण सुरु हुँदा जन्मेकै थिएनन्। २०३८ सालदेखि सुरु भएको विमानस्थल ४२ वर्षपछि उद्घाटन भएको छ। 

‘बनाउन झण्डै आधा शताब्दी लाग्यो,’ उनले भने, ‘उद्घाटन भइसकेको विमानस्थल फेरि चिहान गाड्ने ठाउँ नबनोस् भन्ने हाम्रो कामना छ।’

उनले विमानस्थल सञ्चालनका लागि आवश्यक सहयोग गर्न स्थानीय सरकार तयार रहेको बताए। ‘विमानस्थल बनाउँदा ४० जनाले ज्यान गुमाएका छन्, त्यहीँ भएर यसको महत्त्व फरक खालको छ,’ वडाध्यक्ष बुढाले भने, ‘स्थानीय स्तरमा हामी सहयोग गर्न तयार छौं, उडान भने नियमित हुनुपर्यो।’

विमानस्थल नजिकैका ७० वर्षीय जंगे विष्टलाई विमानस्थलमा जहाज अवतरण गर्दा द्वन्द्वकालको याद आयो। ‘३६ जना मारिएका कामदारलाई अहिले जहाज बसेकै ठाउँ नजिक खोल्सामा गाडेका थियौं,’ उनले भने, ‘त्यति धेरैको रगत बसेको ठाउँमा जहाज बसेको देख्नु मेरा लागि त सपनाजस्तै भयो।’

विमानस्थलको उद्घाटन गर्न पुगेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कालिकोटका जनतालाई हवाईमार्गबाट जोड्ने अभियान सफल भएको बताउँदै यसलाई निरन्तरता दिइने प्रतिबद्धता जनाए।

‘कालिकोटका नागरिकहरुलाई हवाईमार्गबाट जोड्ने अभियानको सुरुवात भएको छ, यसलाई निरन्तरता दिन्छौं,’ उनले भने, ‘हाललाई सातामा एक पटक नियमित उडानको प्रतिबद्धता जनाउँदछौं।’

उनले सरकारसँग विमानहरुको कमी रहेको बताउँदै कालिकोटसहित कर्णालीमा नियमित उडानमा भने कमी हुन नदिने बताए।

‘सरकार विमान खरिदको प्रक्रियामा छ, नयाँ विमानहरु आएपछि सबै ठाउँमा सहजै उडान भर्न सकिन्छ,’ उनले भने, ‘अहिले विमानको कमी भएपनि कालिकोटसहित कर्णालीमा उडानमा कमी हुन दिँदैनौं।’

उपप्रधानमन्त्री खड्काले समग्र कर्णालीको विकास र समृद्धिका लागि वर्तमान सरकार क्रियाशील रहेको बताए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले हाल सञ्चालनमा रहेका विमानस्थलहरुमा नियमित उडान भर्नका लागि कम्तीमा पनि सरकारसँग थप छ वटा जहाजको आवश्यकता रहेको बताए। उनले जहाज किन्न सुरु हुँदा विरोध हुने गरेको पनि बताए।

‘दुर्गमको पीडा थाहा नपाउने, आफूलाई आवश्यक पर्दा जहाजमै चार्टर गर्न सक्नेहरु सरकारले दुर्गममा उडान भर्नका लागि जहाज किन्दा विरोध गरिरहेका छन्,’ उनले भने, ‘हामी प्रक्रियामा गइसकेका छौं, चाँडै जहाज किनेर कालिकोटजस्तै दुर्गम क्षेत्रका जनताका लागि सेवा उपलब्ध गराउँछौं।’

पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले २०७३ माघ २९ गते पहिलो पटक सुनथराली विमानस्थलमा गरिएको परीक्षण उडानको सम्झना गरे। ‘उति बेला यातायातको सुविधा थिएन, कालिकोटका जनतालाई हवाई मार्गबाट जोड्नका लागि म आफै विभागीय मन्त्री हुँदा परीक्षण उडान गरिएको थियो,’ उनले भने, ‘आज त्यहीँ विमानस्थलको औपचारिक उद्घाटनमा सहभागी हुन पाउनु मेरा लागि दोहोरो खुसीको कुरा हो।’

उनले विमानस्थल बनाउनु भन्दा चलाउनु चुनौतीपूर्ण रहेको बताउँदै विमानस्थलसम्म आउने सडकहरुको विस्तारमा ध्यान दिन आवश्यक रहेको बताए।

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले चार दशकदेखिको कालिकोटका जनताको जहाज चढ्ने सपना पूरा भएको बताए। उनले सुनथराली विमानस्थलमा जहाजलाई नियमित उडान भर्ने व्यवस्थाका लागि प्रदेश सरकारले पनि सहयोग गर्ने बताए।

पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुनथराली विमानस्थललाई नियमित सञ्चालन गर्नका लागि सदरमुकाम मान्मादेखि कोडबाडासम्म केबुलकार आवश्यक रहेको बताए। ‘कठिन भूगोलका कारण हेर्दा दूरी नजिकै देखिएपनि एक ठाउँबाट अर्को ठाउँ जान दिनभरि लाग्ने अवस्था छ,’ उनले भने, ‘केबुलकार निर्माण भएपछि विमानस्थल पनि नियमित सञ्चालन हुन्छ।’

नागरिक उड्डयन प्राधिकरणका प्रमुख प्रदिप अधिकारीले विमानस्थल बनाउन ४५ करोड रुपैयाँ खर्च भएको बताए। उनले दुई वटा ट्वीनटर जहाज बस्न मिल्ने गरेर विमानस्थल निर्माण गरिएको बताए। ‘सुनथराली विमानस्थल दुबैतर्फ उडान–अवतरण गर्न मिल्छ,’ उनले भने, ‘यो विमानस्थल सञ्चालनमा आएसँगै साविकका कर्णालीका पाँच वटै जिल्ला हवाई मार्गबाट जोडिएका छन्।’

प्रकाशित: १५ फाल्गुन २०८० २२:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App