७ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

सुर्खेत गोलीकाण्ड : नेपालगन्जको सुरक्षा अवस्था सतहमा

सुर्खेतको वीरेन्द्रनगरमा शनिबार साँझ भएको गोलीकाण्डले नेपालगन्जको सुरक्षा अवस्थालाई सतहमा ल्याइदिएको छ।

उक्त घटनाको ‘मास्टर प्लान’ र गोलीसँगै पेस्तोल लिनेदिने काम नेपालगन्जमै भएको थियो। नेपालगन्जमा यसरी सुटरहरू गोलीसहितको पेस्तोलसँग खुलेआम हिँडडुल गर्ने र आपराधिक योजना बनाउने गरेको पुष्टि यस घटनाले गरेको छ।

नेपालगन्जको सुरक्षा व्यवस्था प्रभावकारी हुन्थ्यो भने उनीहरू पेस्तोलसहित यहीं नै पक्राउ पर्न सक्थे या यो योजना अन्यत्र बन्थ्यो, तर सुटरका लागि सुरक्षित स्थान नेपालगन्ज बन्यो र यही सुट गर्ने योजना बन्यो।

त्यसपश्चात् उनीहरू वीरेन्द्रनगर पुगेर स्थानीय विनोद गिरीलाई एक राउन्ड गोली प्रहार गरे। खुला सीमाका कारण नेपालगन्जमा सुरक्षा चुनौती बढ्दो छ। खुला सीमाका कारण हुने आपराधिक गतिविधिको यो पनि एउटा उदाहरण भएको नेपालगन्जका नागरिक समाजका अगुवा कृष्णप्रसाद क्षेष्ठ बताउँछन्।

यसरी भएको थियो घटना, कैलाली गौरीगंगा नगरपालिका २ का १८ वर्षीय इन्द्र बिक (चालक) को शंकित (फरार रहेका परिचय गोप्य राखिएका व्यक्ति) व्यक्तिसँग विगत डेढ महिनादेखि ह्वाट्सएपमा चिनजान भएर कुराकानी सुरु भएको थियो।

यस घटनाभन्दा करिब २०-२५ दिनअगाडि इन्द्र र शंकित व्यक्तिको कैलालीको अत्तरियामा भेटघाट भई सामान्य कुराकानी भएको प्रहरीले जनाएको छ। करिब १०-१२ दिनअगाडि शंकित व्यक्तिले कैलालीको लम्कीस्थित एक होटेलमा इन्द्र र १८ वर्षीय भरत भुल (सहयोगी) तथा भारत उत्तर प्रदेश बिजनौर जिल्ला दादानगरगन्ज जोसीपन मोहल्लाका १९ वर्षीय रोहित राजपुत (सुटर) समेतलाई बोलाई घटनाका सम्बन्धमा पूर्वयोजना बनाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख रुपेश खड्काले जानकारी दिए।

घटना हुनुभन्दा करिब आठ÷नौ दिनअगाडि इन्द्र र भरतलाई शंकित व्यक्तिले नेपालगन्ज बोलाएका थिए। त्यतिबेला हामीसँग सुटर छ सुर्खेत बस्ने विनोद गिरीलाई मार्नुपर्छ भन्दै एक लाख ५० हजार रुपैयाँ लिनेदिने कुरा भएको थियो।

नेपालगन्जमा शंकित व्यक्तिले इन्द्रलाई एक नाल कटुवा पेस्तोल र दुई राउन्ड गोली उपलब्ध गराएका थिए। त्यसको दुई दिनपछि भारत उत्तर प्रदेश बिजनौर जिल्ला दादानगरगन्ज जोशीपन मोहल्लाका १९ वर्षीय रोहित राजपुत, इन्द्र, भरत र शंकित व्यक्तिको नेपालगन्जमा भेटघाट भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख खड्काले बताए। त्यतिबेला नै थप योजनासहित इन्द्रले रोहित राजपुतलाई उक्त कटुवा पेस्तोल र गोली दिएका थिए।

शंकित व्यक्तिले रोहित राजपुतलाई दुई लाख रुपैयाँ दिने सहमति भएको थियो। नेपालगन्जमा इन्द्रले रोहित राजपुतलाई उक्त कटुवा पेस्तोल र गोली राउन्ड दिएपछि फागुन ७ गते रोहित राजपुत सुर्खेत पुगेका थिए। उनी वीरेन्द्रनगर नगरपालिका ४ स्थित गणेश होटेलमा बास बसेका थिए।

वीरेन्द्रनगर नगरपालिका ४ का ३७ वर्षीय राजन गिरीले रोहित राजपुतलाई होटेलमा बस्ने व्यवस्था मिलाएका थिए। ९ गते इन्द्र र भरतलाई नेपालगन्जमा शंकित व्यक्ति र एकजना अर्को नाम थाहा नभएको व्यक्तिले मोटरसाइकल दिएका थिए। सोहीअनुसार नेपालगन्जदेखि सुर्खेत पुगेका तीनजनासँगै बसेका थिए।

एकजना शंकित व्यक्तिले प्रतिवादीलाई विनोदको घर ठेगानालगायत जानकारी गराएका थिए। १२ गते अर्थात् शनिबार राति विनोदको गाडीलाई उनीहरूको मोटरसाइकलले पिछा गरेको थियो। वीरेन्द्रनगर– १ स्थित गैरीचोकमा विनोदमाथि एक राउन्ड गोली प्रहार गरेका थिए।

त्यतिबेला उक्त गाडी र मोटरसाइकल आपसमा ठक्कार खाई दुर्घटनासमेत भएको प्रहरीले जनाएको छ। उनीहरूले चलाएको गोली विनोदलाई नलागी गाडीको सीसामा लागेको प्रहरीले जनाएको छ।

उक्त घटनामा संलग्न भारतीय नागरिक रोहित राजपुत, मोटरसाइकल चालक इन्द्र, भरत र उनीहरूलाई होटेलमा बस्ने व्यवस्थापन गर्ने भनिएको राजन गिरीलाई प्रहरीले पक्राउ गरिएको छ। 

सुटर भनिएका भारतीय नागरिक रोहित राजपुतलाई भौगोलिक अवस्थाका विषयमा जानकारी नहुनु र प्रहरी टोलीनजिकै गस्तीमा भएकाले थप ठूलो घटना हुनबाट जोगिएको प्रहरीले जनाएको छ।

सुर्खेत प्रहरीले घटनामा संलग्न चारजनालाई २४ घन्टा नबित्दै सुर्खेतबाट नियन्त्रणमा लिएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी खड्काले जानकारी दिए।

प्रकाशित: १४ फाल्गुन २०८० ०८:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App