सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले निष्पक्ष निर्वाचन गराउने कार्यमा सरकार प्रतिबद्ध रहेको बताएका छन्।
ललितपुरको मंगलबजारमा शनिबार ‘गल्ली म्याप्स’ को शुभारम्भ गर्दै मन्त्री खरेलले देशमा फागुन २१ मा निर्वाचन हुन्छ भन्नेमा ढुक्क हुन आग्रह गरे। 'फागुन २१ मा हुने चुनावमा राम्रो नेता र नेतृत्व ल्याउन जरुरी छ, मुलुक परिवर्तनको जगमा अगाडि बढ्दै छ, युवा पुस्ता राजनीतिमा आउनुपर्छ,' सञ्चारमन्त्री खरेलले भने।
मन्त्री खरेलले मतदाता पहुँचका लागि तयार गरिएको गल्ली एपमार्फत निर्वाचन सुरु भएको बताए। उनले भने, 'गल्ली एप शुभारम्भसँगै निर्वाचन सुरु भएको छ। मतदान केन्द्र कहाँ छ र कसरी जाने भनेर चिन्ता लिनु परेन, सूचना र प्रविधिको क्षेत्रमा हामीले फड्को मारिरहेका छौँ, प्रविधिमा आधारित कार्यलाई हामीले अगाडि बढाउनुपर्छ।'
सञ्चारमन्त्री खरेलले वर्तमान सरकार जेनजीको योगदानमा बनेको हुँदा युवाहरूले गरेका कामलाई प्रोत्साहन गर्दै सरकारी संयन्त्रमा प्रविधिमाथिको पहुँच र उपयोगलाई तीव्र रूपमा अगाडि बढाएको उल्लेख गरे।
उनले पाटनका सम्पदाहरूको स्तरोन्नति र सौन्दर्यीकरणले राम्रो प्रभाव पारेको बताए। 'सम्पदाको स्तरोन्नतिले यहाँको पर्यटनको प्रवर्द्धन, रोजगारी वृद्धि, शिक्षा र स्वास्थ्यमा भएको काम उदाहरणीय छ, पाटनका गल्लीसँग म परिचित छु, २०५६ देखि २०६१ सालसम्म म पूर्णचण्डीमा बसेको हुँ, यहाँको गल्लीगल्ली र चोकचोकको बेग्लाबेग्लै महत्त्व छ,' उनले भने।
मन्त्री खरेलले युवा उमेरमा भन्दा पनि सोचमा हुनुपर्छ भन्दै देशको विकासका लागि स्थानीय तह र युवा सोच भएकाहरूले गरेको कामले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ भन्नेमा जोड दिए।
देशलाई गज्जव बनाउन केही स्थानीय तहले राम्रो काम गरिरहेका छन् भन्दै उनले स्थानीय तहले जनअपेक्षा सम्बोधन गर्नुपर्नेमा जोड दिए।
निर्वाचनलाई प्रविधिमैत्री बनाउन नेपालको आफ्नै डिजिटल नेभिगेसन प्लेटफर्मगल्ली म्याप्स तयार गरिएको हो। गल्ली म्यवप्स मार्फत मतदाताले अब मोबवइलबवटै मतदान केन्द्र पहिल्याउन सक्नेछन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र ललितपुर महानगरपालिकाको प्राविधिक सहयोगमा विकास गरिएको यो फिचर शनिबार पाटनदरबार क्षेत्रमा आयोति एक विशेष समारोहका बीच सार्वजनिक गरिएको हो। यस नवीन सुविधाले मतदाताहरूलाई दुई (भोटर आइडीमा आधारित नेभिगेसन र प्रशासनिक छनोटमा आधारित नेभिगेसन) सरल तरिकाबाट मतदान केन्द्र पहिचान गर्न र त्यहाँसम्म पुग्न मार्गनिर्देशन प्रदान गर्नेछ।
सञ्चारमन्त्री खरेलले मोबाइल एपमार्फत उक्त फिचरको विधिवत् शुभारम्भ गरे। सञ्चारमन्त्री खरेलले भने, 'स्वदेशी युवाहरूको नवीन सोचले देशको निर्वाचन प्रक्रियामा ठूलो सहयोग पुर्याएको छ। यो सुविधाले हाम्रो ‘मस्ट इन्फर्म’ इलेक्सन को राष्ट्रिय विभाजनमा थप ऊर्जा प्रदान गरेको छ।'
ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरीबाबु महर्जनले नागरिकलाई आगामी निर्वाचनमा आफ्नो मदतान केन्द्र सहज रूपमै पहिचान गर्न सकिने गल्ली म्याप्स उपयोगी भएको बताए।
गल्ली म्याप्सका प्रमुख कायमकारी अभिकृत (सिइओ) राज बिक्रम महर्जनले सानो समस्याबाट सुरु भएको यो यात्राले आज देशको ठूलो राष्ट्रिय उत्सव (निर्वाचन) मा सहगोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै यो प्रणालीले घर नम्बर खोज्नेदेखि मतदाता नम्बरबाट मतदान केन्द्र पहिचान गर्न, जात्रा पर्वका बारेमा जानकारी पाउन सहज हुने जानकारी दिए।
प्रकाशित: २० पुस २०८२ ०६:४२ आइतबार





