१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह

सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि नेपालगन्जमा बिहीबारदेखि ट्राफिक सप्ताह सुरु भएको छ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवल र जिल्ला प्रहरी कार्यालय बाँकेको सहकार्य तथा नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाको आयोजनामा ट्राफिक सप्ताह सुरु भएको हो।  

सप्ताहको नेपालगन्जस्थित धम्बोझी चोकमा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले औपचारिक रुपमा उद्घाटन गरे। गृहमन्त्री श्रेष्ठले सडक दुर्घटना र ट्राफिक अनुशासनका कारणले पैदा भएका असहज अवस्था अन्त्य गर्न जरुरी रहेको बताए।

‘एउटा कुनै पक्षले मात्रै यसको समाधान गर्न सक्दैन, सवारी मार्ग, सडकको गुणस्तर, सवारी साधनको गुणस्तर, साथसाथै सवारी चालक, यात्रुको चेतना र अनुशासनको स्थिति, ट्राफिक प्रहरीको ऐननियम लागु गर्ने प्रतिबद्धता र सक्रियताबाट मात्र सकारात्मक परिवर्तन ल्याउन सक्छौं’, उनले भने, ‘सरकारले यसमा ध्यान दिएकै छ, तथापि, ट्राफिक सप्ताहमार्फत मुख्य त ट्राफिक नियमको जानकारी गराउने र यो सडक दुर्घटनाको कारण जानकारी गराउने र त्यसबाट बच्न ट्राफिक अनुशासन कायम गर्ने मुख्य पक्ष हुन आउँछ।’

ट्राफिक प्रहरी अहोरात्र खटिरहनुपरेको बताउँदै उनले भने, ‘हामीले उचित संरचना, साधन स्रोत, प्रविधि र प्रोत्साहनको व्यवस्था गर्न सकेका छैनौं, तथापि उहाँहरू घाम र धुलोमा लगातार सक्रिय भइरहनु भएको छ।’

सवारी साधनको गुणस्तर जाँचका लागि यन्त्रहरूको परीक्षण, नियमन प्रभावकारी, सडक गुणस्तर र साथै सवारी लाइसेन्स प्रक्रियालाई पनि अभिमुखीकरण गर्ने, सही चालकलाई मात्र लाइसेन्स दिने प्रक्रियासहित नयाँ ढंगले जाने योजना रहेको उनले सुनाए।

ट्राफिक समस्याले ट्राफिक जाम हुने, समयमा कार्यालयमा नपुग्ने, समयमा ठाउँमा नपुग्ने र जनजीवन असहज हुने स्थिति भोगिरहेको गृहमन्त्री श्रेष्ठले औल्याए।

‘हामीले ट्राफिक सप्ताह बेला बेलामा मनाउँदै आएका छौं, यसको अर्थ यस विषयको महत्वलाई आम जनतासँग विशेष त सम्बन्धित सरोकारवाला पक्षसँग पु¥याउन र जागरण गर्नु नै हो, ता कि यसबाट हुन सक्ने नकारात्मक परिणाम कम गर्न सकियोस् र जीवनलाई सहज बनाउन सकियोस्’, उनले भने।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख (एसपी) श्यामबहादुर खत्रीले सरोकारवाला निकाय, चालक, सडक प्रयोगकर्ता, सर्वसाधारणले मर्यादित र सचेत भएर ट्राफिक नियम पालना गर्ने हो भने अनपेक्षित दुर्घटनाबाट बच्न सकिने बताए। ‘यही अभियानलाई सार्थक पार्न सुरु भएको ट्राफिक सप्ताहलाई विभिन्न कार्यक्रमका साथ मनाइने छ’, उनले भने।

एसपी खत्रीका अनुसार सप्ताह अवधिभर पैदल यात्रीलाई जेब्रा क्रसिङमा बाटो काट्ने तरिका सिकाउने, ओभर स्पिड र ध्वनि नियन्त्रण, क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी चेकजाँच गर्ने, सवारी साधनको यान्त्रिक परीक्षण, सवारी चालकको स्वास्थ्य परीक्षण र पर्चा पप्प्लेट वितरण, ट्राफिक सिंग्नल प्रयोग गर्न प्रशिक्षण, समुदाय तथा विद्यालय स्तरमा सचेतनामूलक कार्यक्रमलगायत गर्ने तय भएको छ।

सो क्रममा लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेय, लुम्बिनी प्रदेशका सहरी विकासमन्त्री कृष्णा केसी, प्रदेश सांसदद्वय मिना श्रेष्ठ र अम्बिका काफ्ले, गृह मन्त्रालयका सचिव दिनेश भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, लुम्बिनी प्रदेशका प्रहरी प्रमुख (डिआईजी) कुबेर कडायतलगायतको उपस्थिति थियो। ट्राफिक सप्ताह उद्घाटनअघि स्थानीय बिपी चोकबाट धम्बोझी चोकसम्म प्रभातफेरी निकालिएको थियो।

प्रकाशित: १० फाल्गुन २०८० १२:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App