नेपालकी ट्रान्स महिला निलम पौडेलले सगरमाथाको सफल आरोहण गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेकी छन्। जेठ ९ गते शनिबार निलम विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्दै नेपालको एलजीबीटीक्यू समुदायबाट सगरमाथा चुचुरो पुग्ने पहिलो ट्रान्स महिला बनेकी हुन्।
उनको यो सफलता केवल पर्वतारोहणको उपलब्धिमा सीमित छैन । वर्षौंदेखि समाजमा भोग्दै आएको विभेद, अस्वीकृति र पहिचानको संघर्षमाथिको विजयको प्रतीक पनि बनेको छ। निलमको यात्राले सीमान्तकृत समुदायका व्यक्तिहरूलाई ‘हामी पनि सक्छौं’ भन्ने सशक्त सन्देश दिएको छ।
आफ्नो सफलतापछि निलमले भनिन्,‘यो सफलता मेरो मात्र होइन, आफूलाई कहिल्यै स्वीकार नगरिएको महसुस गर्ने सबै मानिसहरूको हो।’
उनको ऐतिहासिक आरोहणलाई नेपालका युवा, मानवअधिकारकर्मी तथा एलजीबीटीक्यू समुदायले समावेशिता, समानता र प्रतिनिधित्वको दिशामा महत्वपूर्ण उपलब्धिका रूपमा स्वागत गरेका छन्।
निलम पौडेलको सफलताले सगरमाथालाई केवल पर्वतारोहणको शिखर मात्र नभई विविधता, साहस र स्वतन्त्र पहिचानसहित बाँच्ने अधिकारको प्रतीकका रूपमा समेत नयाँ अर्थ दिएको छ।
प्रकाशित: ११ जेष्ठ २०८३ १५:०६ सोमबार





