काठमाडौंमा सोमबारदेखि ‘पाँचौं राष्ट्रिय सामाजिक उद्यमशीलता सम्मेलन’ सुरु भएको छ।
समाज कल्याण परिषद्अन्तर्गतको सामाजिक उद्यमशीलता कोष र नेपाल विकास अभियानसहित विभिन्न संघसंस्थाहरूको सहकार्यमा आयोजित दुईदिने सम्मेलनको उद्घाटन परिषद्का निमित्त निर्देशक संजयकुमार मल्लिकले भृकुटीमण्डपमा गरे।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै निमित्त निर्देशक मल्लिकले वर्तमान समय उद्यमशीलताको युग भएको उल्लेख गर्दै नेपालको आर्थिक वृद्धिदरलाई गति दिन यस क्षेत्रले निर्णायक भूमिका खेल्ने बताए।
उनले सामाजिक उद्यमशीलताका माध्यमबाट आर्थिक विकाससँगै विद्यमान सामाजिक चुनौतीहरूको दिगो समाधान पहिल्याउन सकिने धारणा राखे।
नेपाल गैरसरकारी संस्था महासंघ तथा नेपाल विकास अभियानका अध्यक्ष अर्जुन भट्टराईले सम्मेलनमा देशका ७७ वटै जिल्लाबाट प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको जानकारी दिए।
उनले दुई दिनसम्म चल्ने सम्मेलनमा सामाजिक उद्यमशीलताका नीति, अभ्यास र चुनौतीहरूका विषयमा घनीभूत छलफल हुने बताए।
अध्यक्ष भट्टराईले सामाजिक उद्यमशीलताको मूल मर्ममाथि प्रकाश पार्दै सुनाए, ‘सामान्य व्यवसायमा नाफा आर्जन प्राथमिक उद्देश्य हुन्छ, तर सामाजिक उद्यमशीलतामा नाफासँगै सामाजिक समस्याको समाधान र सकारात्मक परिवर्तन सिर्जना गर्नेतर्फ ध्यान केन्द्रित गरिन्छ।’
उनले उद्यमशीलताका सिद्धान्त, प्रक्रिया र व्यवस्थापनलाई प्रयोग गर्दै सामाजिक लक्ष्य प्राप्ति गर्नु नै यसको मुख्य उद्देश्य रहेको बताए।
आयोजक समितिका संयोजकसमेत रहेका भट्टराईले सामाजिक उद्यमशीलता कोषको अवधारणा, नेपालमा यसको वर्तमान अवस्था र विश्वका विभिन्न मुलुकमा सञ्चालन भइरहेका यस्तै कोषहरूको अभ्यासका बारेमा कार्यपत्र समेत प्रस्तुत गरेका थिए।
सम्मेलनको अवसरमा सातै प्रदेशका सामाजिक उद्यमीहरूले उत्पादन गरेका हस्तकला, मौलिक नेपाली वस्तु तथा कृषि उत्पादनहरूका २० भन्दा बढी स्टलहरू प्रदर्शनीमा राखिएका छन्।
प्रदर्शनीले स्थानीय उत्पादनको प्रवर्द्धन गर्न र सामाजिक उद्यमीहरूलाई प्रत्यक्ष बजारसँग जोड्न सेतुको काम गर्ने आयोजकको विश्वास छ।
नेपाल सरकारले २०७७ सालदेखि अघि बढाएको सामाजिक उद्यमशीलता कोषले विभिन्न सामाजिक समस्याको पहिचान, अनुसन्धान तथा समाधानका लागि सामाजिक उद्यमहरूको विकास र व्यवस्थापनमा प्राविधिक एवं संरचनागत सहयोग गर्दै आएको छ।
दुई दिनसम्म चल्ने यस सम्मेलनमा कुल आठ वटा विषयगत सत्रहरू सञ्चालन हुनेछन्। पहिलो दिन तीन वटा सत्र सम्पन्न भइसकेका छन् भने दोस्रो दिन बाँकी पाँच वटा सत्र सञ्चालन हुने कार्यक्रम छ।
सम्मेलनमा युवा उद्यमी, गैरसरकारी तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि, विश्वविद्यालयका प्राज्ञिक व्यक्तित्व, अनुसन्धानकर्ता र विभिन्न क्षेत्रका विज्ञहरूको उल्लेख्य उपस्थिति रहेको छ।
प्रकाशित: ११ जेष्ठ २०८३ १४:५४ सोमबार



-600x400.jpg)

