२० श्रावण २०८३ बुधबार
image/svg+xml
राजनीति

नेपालमा ६० हजार एनजीओ दर्ता, सक्रिय १० हजार मात्रै

नेपालमा समाज कल्याण परिषद्मा आबद्ध करिब ६० हजार गैरसरकारी संस्था (एनजीओ) मध्ये करिब १० हजार मात्रै सक्रिय रहेको तथ्य सार्वजनिक भएको छ। 

बुधबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा समाज कल्याण परिषद्का सदस्य–सचिव तथा महिला, बालबालिका एवं ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव चक्रबहादुर बुढाले यस्तो जानकारी दिएका हुन्। 

उनका अनुसार परिषद्मा हालसम्म करिब ६० हजार एनजीओ आबद्ध भए पनि अधिकांश निष्क्रिय अवस्थामा छन्। यस्तै, हालसम्म करिब २५० अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) ले नेपालमा काम गरेको रेकर्ड रहे पनि अहिले १३६ वटा संस्था मात्रै सक्रिय आयोजनासहित सञ्चालनमा रहेका छन्। 

बैठकमा बुढाले इन्टरनेसनल कमिसन अफ जुरिस्ट (आईसीजे) ले सन् २००९ देखि नेपालमा काम सुरु गरेको र पछिल्लो पटक २५ फेब्रुअरी २०२२ मा पाँच वर्षका लागि सम्झौता नवीकरण गरिएको जानकारी दिए। उनका अनुसार आईसीजेले संक्रमणकालीन न्याय, मानव अधिकार, सर्वोच्च अदालतका नजिर तथा पीडित समूहको कानुनी अधिकारका क्षेत्रमा काम गर्दै आएको छ। 

हाल आईसीजेले अपाङ्गता भएका महिला तथा बालिकाको अधिकार प्रवर्द्धनका लागि ‘इनेबल’ नामक नयाँ परियोजना प्रस्ताव गरेको छ। उक्त प्रस्ताव अहिले मन्त्रालयको सहजीकरण समितिमा छलफलको क्रममा रहेको बुढाले बताए। 

त्यसैगरी, एम्नेस्टी इन्टरनेसनल नेपाल २०६२ सालदेखि समाज कल्याण परिषद्मा आबद्ध रहेको र यसको आबद्धता २०८३ असार मसान्तसम्म कायम रहने जानकारी पनि उनले दिए। एम्नेस्टीले सन् २०२६ का लागि पाँच करोड १५ लाख ४२ हजार ५४० रुपैयाँ बजेटको मानव अधिकार अभियान तथा वकालतसम्बन्धी आयोजना स्वीकृत गराएको छ।

 उक्त आयोजनाका लागि आवश्यक वैदेशिक सहायता लन्डनस्थित अन्तर्राष्ट्रिय सचिवालयबाट प्राप्त हुने परिषद्को अभिलेखमा उल्लेख रहेको उनले बताए। 

प्रकाशित: २० श्रावण २०८३ १३:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App