२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कार्य सम्पादनमा सूर्याेदय नगरपालिका पहिलो

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा इलामको पर्यटकीय नगरी सूर्याेदय नगरपालिका जिल्लाका स्थानीय तहमध्ये पहिलो भएको छ। ४१.८५ अंकसहित सूर्याेदयले जिल्लाका अरू स्थानीय तहलाई उछिनेको हो।

३८.९ अंक ल्याएको देउमाई दोस्रो स्थानमा छ। रोङ गाउँपालिका ३८.३६ अंकसहित तेस्रो र गाउँपालिकामध्ये पहिलो स्थानमा छ। इलाम नगरपालिका ३७.५९ अंकसहित चौथो भएको छ। इलाम नगरपालिका जिल्ला सदरमुकामसमेत रहेको नगर हो।

सन्दकपुर गाउँपालिका ३४.१७ अंकसहित पाँचौं भएको छ। माइजोगमाई गाउँपालिका ३३.७८ अंक ल्याएर छैटौं तथा ३३.४२ अंक ल्याएर माङ्सेबुङ गाउँपालिका सातौं स्थानमा छ।

चुलाचुली गाउँपालिका ३१.८६, फाकफोकथुम गाउँपालिका ३०.९४ र माई नगरपालिका २८.३ अंकसहित क्रमसः आठौं, नवौं र १०औं भएका छन्।

केही महिनाअघि सार्वजनिक तथ्यांकअनुसार स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा पनि सूर्याेदय नगरपालिका ९६ प्रतिशत अंकसहित जिल्लाको उत्कृष्ट भएको थियो।

कार्यसम्पादन मूल्यांकनमा आयोगले स्थानीय तहको मूल्यांकन गर्दा विभिन्न १६ सूचकलाई आधार बनाएको थियो।  स्थानीय तहले २०८० असार १० भित्र आर्थिक वर्ष २०८०-०८१ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ सभा-नगरसभामा पेस गरे-नगरेको, गाउँ कार्यपालिका-नगर कार्यपालिकाले त्यही आवको राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ सभावाट २०७९ असार मसान्तभित्र पारित गरे-नगरेको, स्थानीय तहले आव २०८१-८२ को आय–व्यय प्रक्षेपण गरिएको तथ्याङ्कसहितको विवरण २०७९ पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरे÷नगरेको सूचक राखेको थियो।

यस्तै, स्थानीय तहले आर्थिक वर्ष २०७९-८० को बजेट कार्यान्वयनको वार्षिक समीक्षा गरी तत्सम्बन्धी विवरण २०७९ कात्तिक मसान्तभित्र सार्वजनिक गरे-नगरेको, स्थानीय तहको आव २०७९-८० को विनियोजित रकमअनुसार खर्चको अवस्था, त्यही आवको लेखापरीक्षणबाट औंल्याएको बेरुजुको अवस्था र स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली प्रयोग गरे-नगरेको पनि मूल्यांकन गरिएको छ।

स्थानीय तहले आवधिक योजना तर्जुमा गरे-नगरेको, शैक्षिक सत्र २०८० मा कक्षा १ देखि ८ सम्मको खुद विद्यार्थी भर्नादर, शैक्षिक सत्र २०७९ मा कक्षा ८ को तुलनामा कक्षा ९ मा विद्यार्थी टिकाउ दर, त्यही शैक्षिक सत्रमा सामुदायिक विद्यालयबाट कक्षा १० को परीक्षामा सहभागी कुल विद्यार्थी संख्याको तुलनामा कम्तीमा स्तरीकृत अंक १.६ वा सोभन्दा उच्च जिपिए प्राप्त गरेका विद्यार्थी प्रतिशत पनि मूल्यांकन गरेको थियो।

आर्थिक वर्ष २०७९÷८० मा चार पटक गर्भ जाँच गर्ने महिलाको अनुपात, कुल गर्भवती महिला संख्यामध्ये स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात र पूर्ण खोप पाएका बालबालिकाको अनुपात यसका मापदण्ड थिए।  

देशभरका सात सय ५३ स्थानीय तहमध्येमा चाहिँ अर्घाखाँचीको सन्धीखर्क नगरपालिका ६१.८१ अंकसहित पहिलो भएको छ। गुल्मीको मालिका गाउँपालिका ५५.४० अंक प्राप्त गरी देशभरका गाउँपालिकामध्ये पहिलो भएको छ।

प्रकाशित: १० फाल्गुन २०८० ०८:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App