२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दलित र गैरदलितका लागि फरकफरक भान्सा

जातीय भेदभाव कायमै

लामो सयमदेखि जातीय छुवाछुत र विभेदविरुद्ध आवज उठाउँदै आएका एमालेबाट राष्ट्रियसभा सदस्य बनेका नरपति लुवारले दलित र गैरदलितका लागि फरकफरक भान्सा बनाएका छन्। माघ २० गते ८१ वर्षको उमेरमा निधन भएका बुवा दले लुवारको १३ औं दिनको तिथिमा उनले दुई अलग–अलग भान्छा लगाएका छन्।

फागुन ३ गते उनले दलित र गैरदलितलाई छुट्याएर अलग–अलग भान्छाबाट भोज खुवाएपछि उनको अहिले आलोचना सुरु भएको छ। पुण्यतिथिको भोजमा पुगेका स्थानीयका अनुसार त्यहाँ दुई फरकफरक भान्सा देखेपछि आफूले आपत्ति जनाएको स्थानीय जगदिश सुनारले बताए।

उनले भने दलितहरूलाई भनेर घरभन्दामुनिको खेतमा भात पकाइएको रहेछ। अनि गैरदलितका अलिक पर अर्को भान्सा बनाइएको बताए। उनले गैरदलित समुदायका केहीले खाना नखाने भनेपछि सासंदले अलग्गै भान्सा बनाउन निर्देशन दिएको बताए। उनले भने, ‘भोजको अन्तिममा गैरदलितले चलाएको भान्छामा बांकी रहेको जुठो खाना दलितलाई दिइयो। यो दलितमाथिको ठूलो विभेद हो।’

राष्ट्रिय सभा सदस्य नरपति लुवारले भने बुबाको दुःखमा सान्त्वना दिन आएका रास्कोटसहित आसपासका एक हजार बढी स्थानीयलाई भीडभाड नहोस् भनेर दुई ठाउँमा भान्सा बनाइएको दाबी गर्दै आफूले दलित र गैरदलित भनेर भान्सा अलग नगरेको बताए। ‘म आफैं जातीय उत्पीडनविरुद्ध संर्घष गर्दै आएको व्यक्ति हुँ, मलाई नै त्यस्तो आरोप लगाइनु अन्याय हो,’ उनले भने।

उनले बुवाको १३औं दिनको तिथिमा आएका इष्टमित्र, पाहुना, गाउँका दाजुभाइलाई भीडभाड नहोस् भनेर अलग–अलग ठाउँमा भान्सा बनाइएको दाबी गरे। ‘सबैलाई एकै ठाउँमा खाना खुवाउन खाली ठाउँको अभाव छ,’ उनले भने, ‘गहुँबाली मर्ने भएकाले बाँझो जग्गा भएको दुईठाउँमा अलग भान्सा बनाएर खाना खुवाइएको हो।’ उनले भान्सा अलग भए पनि खाना जसले जुन भान्सामा खाने मन गरे त्यही खाएको बताए।

२०४३ मा जनपक्षीय उम्मेदवार बनेर तत्कालीन फुकोट गाउँ पञ्चायतको उपप्रधानपञ्च चुनिएका लुवार २०४९ को स्थानीय निर्वाचनमा एमालेबाट वडाध्यक्ष निर्वाचित भएका थिए। २०७४ मा एमालेबाटै राष्ट्रिय सभा सदस्य बनेका उनको कार्यकाल आउने फागुन २० मा सकिँदैछ।

माओवादी सशस्त्र संघर्षका दौरान आठ वर्ष घरबाट विस्थापित भएका लुवार शान्तिपछि गाउँ फर्किएका थिए। उनी एमाले कालिकोट जिल्ला कमिटी सचिवालय सदस्य हुँदै उत्पीडित जातीय मुक्ति मोर्चाका जिल्ला संयोजक पनि भएका थिए।

रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले भने सांसद लोहारले मात्रै नभई फुकोटभर नै दुईवटा भान्सा गर्ने चलन रहेको बताए। ‘त्यो जातीय विभेदकै रूप हो,’ उनले भने।

प्रकाशित: ८ फाल्गुन २०८० ११:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App