१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

‘हात्तीमैत्री पदयात्रा’ मा निस्किँदै कोशीका मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की इलामको दक्षिणी क्षेत्रका गाउँको स्थलगत भ्रमणका लागि आउँदैछन्। वर्षाैंदेखि हात्तीको पीडा खेप्न बाध्य स्थानीयसँग भेटघाटका लागि मुख्यमन्त्री कार्की ‘हात्तीमैत्री पदयात्रा’ मा निस्किन लागेका हुन्।

मुख्यमन्त्री कार्की फागुन १० गते चुलाचुली क्षेत्र आउने भएका हुन्। उनको पदयात्रा ९ गते झापाको मेचीनगर नगरपालिका– १ स्थित प्रसाद गौंडाबाट सुरु हुने तालिका छ। त्यस दिन झापाका हात्ती प्रभावित विभिन्न क्षेत्रको पदयात्रा सकेर मुख्यमन्त्री कार्की १० गते चुलाचुली भित्रिने तालिका रहेको इलामस्थित डिभिजन वन कार्यालयले जनाएको छ।

मुख्यमन्त्री कार्की झापाको दोमुखा हुँदै रतुवामाई वृक्षरोपण आयोजनाको वन क्षेत्र भएर सताक्षीधाम पुग्नेछन्। त्यसपछि उनी गैंडे सामुदायिक वनबाट सताक्षीधाम हुँदै कमलखोला (चुलाचुलीको बस्ती सीमा) भएर चुलाचुली आर्मी क्याम्प हुँदै चुलाचुली वन सब–डिभिजन र चाँजुखोला पुग्नेछन्।

मन्त्रालयका अनुसार झापाको मेची नगरबाट सुरु भइ इलाम, झापा, मोरङ, सुनसरी र उदयपुर हुँदै पुनः सुनसरीको खोर्सानेखाप आएर पदयात्रा टुंगिने छ।

पदयात्रामा प्रदेशका सरकारीलगायत विभिन्न निकायका प्रतिनिधि, संरक्षणकर्मी, सुरक्षाकर्मीलगायत स्थानीय सरोकारवालाको सहभागिता रहने छ। प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयले हात्तीको माध्यमबाट हुने पर्यापर्यटनको सम्भावना अध्ययन गर्नु पनि पदयात्राको उद्देश्य रहेको जनाएको छ।

‘हात्तीको परम्परामा जैविक मार्गको पुनस्र्थापना तथा बासस्थान सुधार, संरक्षण गरी मानव–हाती द्वन्द्व न्यूनीकरण गर्न पनि यो पदयात्राले सघाउने छ, प्रदेशमा मानव–हात्ती सह–अस्तित्व कायम राख्न मद्दत पुग्नेछ,’ मन्त्रालयले भनेको छ। 

मन्त्रालयका अनुसार भारत र दक्षिण एसिया क्षेत्रमा रहेका हात्ती भारतीय सीमाक्षेत्र मेचीनगरबाट नेपाल छिरेर वर्षाैंदेखि झापा, सुनसरी, मोरङ हुँदै उदयपुरसम्म पुगिरहेका छन्।

पाँच दशकयता यी जिल्लामा जनसंख्या वृद्धिसँगै बढेको बासस्थानले हात्तीको जैविक मार्ग क्षयीकरण भइरहेको मन्त्रालयले जनाएको छ। यसैकारण हात्तीले मानवीय क्षतिसहित मान्छेका घर–गोठ, खेतबारी र अन्नबाली विनाश गरिरहेको मन्त्रालयले उल्लेख गरेको छ।

हात्तीप्रति प्रतिशोधजन्य व्यवहारबाट कतिपय हात्तीसमेत मर्नेगरेको भन्दै मन्त्रालयले हात्ती संरक्षणमा अहिलेसम्मका उपलब्धि समीक्षा गर्दै थप अभ्यासका लागि यो पदयात्राले आधार तयार गर्ने जनाएको छ।

प्रकाशित: ७ फाल्गुन २०८० ०९:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App