१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

नगर प्रमुखको हत्या गर्न ३६ लाखमा सुपारी लिएका ‘सुटर’ पक्राउ

रौतहटको गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहको हत्या गर्न सुपारी लिएका सुटरलाई भारतबाट पक्राउ गरिएको छ।

नगर प्रमुख साहकाे हत्या गर्न भारतको कुख्यात अपराधीलाई सुपारी दिइएको अनुसन्धानबाट देखिएपछि सुपारी लिने सुटरलाई भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले पक्राउ गरेको हो।

बाराको कलैयामा रहेको बाल एकता विद्यालयका संचालक रुपेश सर्राफ हत्या प्रकरणमा पक्राउ परेका भारतीय सुटर सुजित सिंहले बयानका क्रममा नगर प्रमुख साहको हत्या गर्न चंचल पाण्डेले सुपारी लिएको प्रहरीलाई बताएका थिए।

रुपेश हत्याकाण्डमा मनोज गुप्ता, अरुण यादव तथा सुजित सिंह लगायतका अपराधीहरू पहिले नै पक्राउ परिसकेको र हत्याको मुख्य अभियुक्त चंचल पाण्डे रहेको खुल्न आएपछि प्रहरीले पाण्डेको खोजी थालेको थियो।

पक्राउ परेका सिंहले नगर प्रमुख साहको हत्या गर्न ३६ लाखमा ‘डिल’ भएको र पाण्डेले आधा रकम लिइसकेको अनुसन्धानको क्रममा खुलासा गरेका थिए।

रुपेश हत्याकाण्डमा पक्राउ सिंहपछि प्रहरीको ‘मस्ट वान्टेड’ सूचीमा रहेका पाण्डे भारतको तमिलनाडुमा लुकेर बसेको जानकारीपछि नेपाल प्रहरी र तमिलनाडु प्रहरीको संयुक्त अपरेसन थालेको थियो। संयुक्त अपरेसनमा पक्राउ परेका पाण्डेलाई नेपाल ल्याएर गहन अनुसन्धान थालिने बताइएको छ।

गौर नगरपालिकाकाे प्रमुखमा निर्वाचित भएपछि झन् लोकप्रिय बनेका साहको हत्या गराउन पाण्डेलाई कसले रकम उपलब्ध गराएको हो भन्ने खुलिसकेकाे छैन्।

प्रहरीले नगर प्रमुखको हत्याको योजना बनाउने तथा हत्या गर्न रकम डिल गरी १८ लाख अपराधीलाई समेत बुझाउने व्यक्ति वा गिरोहको केही दिनमै भन्डाफोर हुने बताएकाे छ।

यसबारे नगर प्रमुख साहले आफू अलिकति पनि विचलित नभएको र प्रहरीले आफ्नो काम गरिरहेको प्रतिक्रिया दिए।

प्रकाशित: १ फाल्गुन २०८० १९:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App