१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सुदूरपश्चिमबाट पानी पर्न सुरु, यो जाडोकै दोस्रो ठूलो सक्रिय मौसम प्रणाली भित्रियो

आज बिहानैदेखि सुदूरपश्चिमका जिल्लाहरूबाट पानी पर्न सुरु भएको छ। वर्षाका साथै फेरी पनि हिमपात हुने र तापक्रम घट्ने जनाइएको छ।

आज बिहान सुरु भएको वर्षा बिस्तारै सुदूरपश्चिमका जिल्लाहरूबाट पूर्वतिर सर्दै आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित महाशाखाका मौसमविद् गोविन्द झा भन्छन्, ‘जाडोयाम सुरु भए यताको यो दोस्रो ठुलो सक्रिय मौसम प्रणाली हो।’ उनका अनुसार यसले समथर र पहाडी भू–भागमा वर्षा गराउँछ र उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात गराउन सक्छ।

मौसमवीद झाका अनुसार पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण भएको वर्षा र हिमपातले तापक्रम समेत घट्न सक्छ।

‘सुदूरपश्चिमका जिल्ला डडेलधुरा र डोटीबाट पानी पर्न सुरु भएको छ। त्यहाँ अहिले छिटपुट वर्षा भइरहेको छ। यो बिस्तारै यो पूर्वतिर आउँछ। आज दिनभर सबै प्रदेशमा मौसमले हलचल ल्याउन सक्छ’, मौसमविद् झाले भने।

उनका अनुसार यो जाडोयाम सुरु भएयता मौसममा आएको दोस्रो ठुलो परिवर्तन हो। ‘यो जाडोको यो दोस्रो ठुलो सक्रिय मौसम प्रणाली हो। यसले दुई दिनसम्म जनजिवनमा प्रभाव पार्न सक्छ।’ 

गत बुधवार र बिहीबार यो भन्दा सक्रिय मौसम प्रणाली भित्रिएको थियो। सक्रिय पश्चिमी वायुका कारण मौसममा एक्कासि परिवर्तन आएको थियो। पश्चिमबाट छिरेको पश्चिमी वायुसँगैको न्यून चापीय प्रणालीले गत बुधवार र बिहीबार देशभर वर्षा र हिमपात गराएको थियो। वर्षा र हिमपातको मात्र पनि धेरै थियो।

‘तर यो यसअघिको जस्तो सक्रिय नहुन पनि सक्छ। तर दोस्रो ठुलो मौसम परिवर्तन भने हो’, झाले भने। उनका अनुसार यो प्रणाली सोमबार साँझबाट बिस्तारै निष्क्रिय हुनसक्छ।

महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू साथै गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षाका साथै बागमती प्रदेशको थोरै स्थानहरू तथा बाँकी भू–भागको एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना छ।

यस मौसम प्रणालीबारे सचेत गराउन महाशाखाले शनिवार दिउँसो २ बजे नै ‘विशेष बुलेटिन’ प्रकाशित गरेको थियो। पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण आइतबारबाट हुने मौसम परिवर्तनले वर्षा, हिमपात हुने र त्यसले तापक्रम घटाउने पूर्वानुमान गरेको थियो।

मौसमवीद झाका अनुसार आइतबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

यसले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित: २१ माघ २०८० ०९:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App