प्रिमियम तथा नवप्रवर्तनशील टायल उत्पादनमा अग्रणी ब्रान्ड कजारियाले पूर्वी नेपालमा आफ्नो उपस्थितिलाई थप सुदृढ गर्दै विराटनगरको मुनालपथमा नयाँ विशेष शोरूमको भव्य उद्घाटन गरेको छ। न्यु ज्योति ट्रेडर्सद्वारा सञ्चालित यस शोरूमले विराटनगर तथा आसपासका क्षेत्रहरूमा गुणस्तरीय टायलको बढ्दो मागलाई सम्बोधन गर्दै ग्राहकहरूलाई आधुनिक र आकर्षक खरिद अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ।
शुक्रबार सम्पन्न उद्घाटन समारोहमा उद्योग क्षेत्रका प्रतिनिधि, विशिष्ट अतिथि तथा स्थानीय उपभोक्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीको उपस्थितिले क्षेत्रीय औद्योगिक विकासको महत्वलाई थप उजागर गर्यो। साथै, मिस नेपाल वर्ल्ड २०२५ लुना लुइटेल र मिस नेपाल अर्थ २०२५ सोनी घलेको विशेष उपस्थितिले समारोहलाई अझ आकर्षक र गरिमामय बनाएको थियो। कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले रिबन काटेर शोरूमको औपचारिक उद्घाटन गरेका थिए ।
समारोहलाई सम्बोधन गर्दै मन्त्री पराजुलीले कजारियाको लगानी र क्षेत्रीय विकासमा पुर्याएको योगदानको प्रशंसा गरे। उनले भने, “कजारियाजस्ता प्रतिष्ठित ब्रान्डहरूको कोशी प्रदेशमा विस्तार हुनु नेपालका उद्योग तथा निर्माण क्षेत्रप्रति बढ्दो विश्वासको संकेत हो। यस्ता पहलहरूले उपभोक्तालाई गुणस्तरीय उत्पादन उपलब्ध गराउनुका साथै स्थानीय रोजगारी र आर्थिक वृद्धिमा समेत योगदान पुर्याउँछन्। प्रदेश सरकार जिम्मेवार र दिगो औद्योगिक विस्तारलाई प्रोत्साहन गर्न प्रतिबद्ध छ।”
त्यसैगरी, कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले नेपालप्रति कजारियाको दीर्घकालीन प्रतिबद्धताबारे प्रकाश पारे। उनले भने, “कजारिया सधैं उच्च गुणस्तर, नवीन डिजाइन र भरपर्दो समाधान प्रदान गर्न केन्द्रित रहँदै आएको छ। विराटनगरमा नयाँ शोरूमको उद्घाटन पूर्वी नेपालका ग्राहकहरूसम्म हाम्रो विश्वस्तरीय टायल सङ्ग्रह अझ नजिक पुर्याउने महत्वपूर्ण कदम हो। यस विस्तार यात्रामा न्यु ज्योति ट्रेडर्ससँग सहकार्य गर्न पाउँदा हामी गर्व महसुस गर्छौं।”
विराटनगरको केन्द्रमा रणनीतिक रूपमा अवस्थित यस नयाँ शोरूममा कजारियाका प्रिमियम टायलहरूको विस्तृत र आकर्षक सङ्ग्रह प्रदर्शन गरिएको छ। यहाँ ग्राहकहरूले आवासीय, व्यावसायिक तथा वास्तुकलासम्बन्धी प्रयोजनका लागि उपयुक्त विभिन्न डिजाइनहरू आधुनिक र ग्राहक–मैत्री वातावरणमा अवलोकन तथा छनोट गर्न सक्नेछन्।
कजारिया रमेश टाइल्स लिमिटेडले नेपालमै स्थापना गरेको देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योगमार्फत टायल क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरिसकेको छ। अत्याधुनिक प्रविधियुक्त यस उद्योगले अन्तर्राष्ट्रिय गुणस्तर कायम गर्दै ३,००० भन्दा बढी डिजाइन विकल्पहरू उपलब्ध गराउँदै आएको छ, जसले आन्तरिक सजावटलाई अझ आकर्षक र दिगो बनाउँछ।
हाल कजारियाले नेपालभर १०० भन्दा बढी शोरूमहरूको सशक्त सञ्जाल विस्तार गरिसकेको छ। कम्पनीका उत्पादनहरूमा ग्लेज्ड भिट्रिफाइड टायल (६०×१२० से.मी., ६०×६० से.मी., १९.५×१२० से.मी.), हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड टायल (४०×४० से.मी.) तथा सेरामिक वाल टायल (३०×६० से.मी., ३०×४५ से.मी.) समावेश छन्। यी टायलहरू पानी तथा दाग प्रतिरोधी, बलियो, दीगो र आधुनिक डिजाइनमा उपलब्ध छन्।
विराटनगर शोरूमको उद्घाटन कजारियाको हरेक क्षेत्रसम्म विश्वस्तरीय टायल पहुँच पुर्याउने लक्ष्यतर्फको अर्को महत्वपूर्ण उपलब्धि हो, जसले नेपालको निर्माण तथा आन्तरिक सजावट उद्योगमा कजारियाको अग्रणी भूमिकालाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ।
प्रकाशित: ११ माघ २०८२ १७:३६ आइतबार





