१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

विमानस्थल सुरक्षा प्रमुख डिजाइजी चन्दको राजीनामा ‘अर्थपूर्ण’

नेपाल प्रहरीका नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्द ठकुरीले अकस्मात् सेवाबाट राजीनामा दिएका छन्। उनी पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय प्रमुखको जिम्मेवारीमा थिए।

डिआइजी चन्दको कार्यकाल झन्डै १४ महिना बाँकी थियो। तर समयअगावै उनले दिएको राजीनामालाई विमानस्थल अध्यागमन कार्यालय–प्रहरीबीचको विवाद र भिजिट भिसामा मानव तस्करी प्रकरणसँग जोडेर हेरिएको छ।

डिआइजी चन्द भने व्यक्तिगत कारणले राजीनामा दिएको बताउँछन्। ‘तत्काल भनिहाल्नुपर्ने अर्को कुनै कारण छैन। उसै पनि सेवाकाल धेरै लामो समय बाँकी छैन,’ नागरिकसँग उनले भने, ‘व्यक्तिगत कारणले राजीनामा दिएको हुँ।’

डिआइजी चन्दले भन्न नचाहे पनि निकटस्थ अधिकारीहरू भने ‘भिजिट भिसामा मानव तस्करीको पर्दाफास’ र पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अध्यागमन कर्मचारी–प्रहरीबीचको कुटाकुट प्रकरणसँग सो राजीनामाको मुख्य सम्बन्ध जोडिएको बताउँछन्।

‘विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारीमा रहँदा उहाँकै अग्रसरतामा भिजिट भिसामा भइरहेको मानव तस्करीको खुलासा भएको हो। त्यही कारणले अस्ति एयरपोर्टमा त्यस्तो झमेला (अध्यागमन कर्मचारी–प्रहरी कुटाकुट) पनि भयो,’ निकटस्थ स्रोतले भन्यो, ‘पहिलो कारण त राम्रो काम गर्दागर्दै मूल्यांकन भएन भन्ने उहाँलाई लागेको छ। दोस्रो, त्यो झगडामा अध्यागमन कर्मचारीले पहिले हात छाडेको देख्दादेख्दै आफूमातहतका कर्मचारीलाई गरिएको निलम्बनप्रति उहाँको असहमति थियो।’

डिआइजी चन्द त्यो कुटाकुट प्रकरणमा संलग्न प्रहरी कर्मचारीको प्रतिरक्षामा उत्रिएका थिए। ‘यसमा त समग्र प्रहरी संगठनका अधिकारीहरूको चित्तदुखाइ छ। तर नेतृत्व (प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर) बाट साथ भएन भन्ने संगठनमा परेको छ,’ एक प्रहरी अधिकारीले भने।

डिआइजी चन्दको मुख्य चित्तदुखाइ भिजिट भिसामा ठुलो संख्यामा मानव तस्करी भइरहेको घटना बाहिर ल्याउन भूमिका खेल्दा पनि आइजिपी कुँवर र सरकारबाट उचित मूल्यांकन हुनुको सट्टा अस्वाभाविक दबाब आउनु रहेको स्रोत बताउँछ।

‘मुख्य कुरा आइजिपी साबबाट उचित मूल्यांकन नै भएन भन्ने उहाँलाई लागेको हुन सक्छ। त्यसमा पनि भिजिट भिसामा मानव तस्करीको खुलासा हुँदा निजामती क्षेत्र त उहाँविरुद्ध लाग्यो लाग्यो सरकारबाट पनि केही दबाब आएको देखिन्छ,’ स्रोतले भन्यो, ‘यसैले भावुक भएर उहाँले राजीनामा दिनुभएछ।’

डिआइजी चन्दले गत वैशाखमा विमानस्थल सुरक्षा कार्यालयको प्रमुखको जिम्मेवारी सम्हालेका थिए। जिम्मेवारी सम्हालेलगत्तै उनी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबीच मतभेद सुरु भएको देखिन्छ। केही दिनअघिको कुराकानीमा डिआइजी चन्दले आफूले जिम्मेवारी सम्हालेपछि भिजिट भिसामा शंकास्पद यात्राको चाल पाएको दाबी गरेका थिए।

‘त्यसपछि अन्तर्राष्ट्रिय यात्रुमाथि प्रहरी जाँचमा कडाइ गर्न थाल्दा अध्यागमन अधिकारीहरूले विवाद झिक्न थालेका हुन्,’ उक्त कुराकानीमा उनले भनेका थिए, ‘एकजना उपसचिवले त मासिक डेढ करोड मिलाउँछौं, कडाइ नगर्नुस् भन्नेसम्मको अफर गरे।’ त्यही ‘अफर’ले पहिले त्यसमा प्रहरीसम्मको मिलेमतो हुने गरेको आशंका उनले गरेका थिए।

गत असोजमा विमानस्थल सुरक्षा कार्यालयले भिजिट भिसामा विदेश यात्रामा रहेका १५ सयभन्दा बढी व्यक्तिका शंकास्पद कागजात लिएर अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई जिम्मा लगाएको थियो। ती कागजातको अनुसन्धान गर्दा नक्कली कागजात बनाएर भिजिट भिसा तयार गर्दै मानव तस्करी भइरहेको खुलासा भएको थियो।

अनुसन्धान अघि बढ्दै जाँदा अध्यागमन अधिकृत नरवीर खड्कासम्म पुगेको थियो। 
खड्कालाई नियन्त्रणमा लिएर थालेको प्रहरी अनुसन्धानमा हालसम्म ९ जना अध्यागमन अधिकृत तानिएका छन्।

जसमा खड्कासहित ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पीताम्बर रिमाल र सुजन फागो छन्। उनीहरूविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भइसकेको छ।

उता पक्राउ परेका अध्यागमन अधिकृत खड्काले अध्यागमन कार्यालयमा घुस खान र बाँडफाँट गर्न ‘सहजीकरण समिति’ नै रहेको बयान दिएका छन्।

अध्यागन अधिकृतसहित नेपाल वायुसेवा निगमका कर्मचारी, विभिन्न कन्सल्टेन्सी, ट्राभल एजेन्सीलगायतको मिलेमतोमा भिजिट भिसामा मानव तस्करी हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

यही घटना बाहिर ल्याउन डिआइजी चन्दले भूमिका खेलेको भन्दै अध्यागमन कार्यालय उनीविरुद्ध लागेको प्रहरी अधिकारीहरूको दाबी छ। ‘तर यसमा न आइजिपी न सरकारबाट मूल्यांकन भयो भन्ने उहाँको बुझाइ छ,’ एक प्रहरी अधिकारी भन्छन्। 
अर्को कारण डिआइजी चन्द पछिल्लो समय प्रदेश प्रहरी प्रमुख भएर सरुवा जान चाहिरहेका थिए। तर त्यसमा आइजिपी कुँवर राजी नहुँदा राजीनामाको निर्णयमा पुगेको बताइन्छ।

‘डिआइजी भइसकेपछि प्रदेश प्रहरी कमान्ड सम्हाल्ने चाहना हुन्छ। राम्रो काम गर्दागर्दै आइजिपीबाट मूल्यांकन नभएर पठाउन नचाहेको उहाँलाई लागेको छ,’ निकटस्थ एक अधिकारीले भने।

डिआइजी चन्दले शुक्रबार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा राजीनामा बुझाएका छन्। तर राजीनामाबारे आफूकहाँ जानकारी आइनसकेको प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी भीमप्रसाद ढकालले बताए। डिआइजी चन्द आइजिपी कुँवरकै ब्याचमेट प्रहरी अधिकृत हुन्। प्रहरी नियमावलीअनुसार हालको ३० वर्षे सेवावधिकै प्रावधान रहिरहे २०८१ चैतसम्म उनी कार्यरत रहने अवस्था थियो।

प्रकाशित: २१ माघ २०८० ०६:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App