१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

खोलामा मेयरका छोराको रजाइँ !

छिन्चु खोलामा एक्स्काभेटर प्रयोग गरेर नदीजन्य पदार्थ उत्खनन गरिँदै। तस्बिर: नगेन्द्र उपाध्याय/नागरिक

भेरीगंगा नगरपालिकाले चालू आर्थिक वर्षका लागि छिन्चु खोला, तोली खोला र कालपानी खोलामा २४ हजार घनमिटर नदीजन्य पदार्थ उत्खनन तथा संकलनको अनुमति दिएको छ।

नदीजन्य पदार्थको संकलन तथा उत्खनन्का लागि दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–८ ठेगाना रहेको हिमाल कन्ट्रक्सनले ६८ लाख ९६ हजारमा ठेक्का लिएको छ।

प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) प्रतिवेदनमा नदीजन्य पदार्थको उत्खनन तथा संकलनमा ठूला मेसिनरी औजार प्रयोग निषेध गरिएको छ। बेल्चा, गैटा, खन्टी, घनलगायतका हाते औजार प्रयोग गरेर नदीजन्य पदार्थ संकलन गर्ने उल्लेख भएपनि छिन्चु, तोली र कालपानी खोलामा एक्स्काभेटर र डोजर प्रयोग गरेर नदीजन्य पदार्थको दोहन भइरहेको छ।

नदीजन्य पदार्थ उत्खनन तथा संकलनको ठेक्का सम्झौता दैलेखको हिमाल कन्स्ट्रक्सनसँग भएपनि काम भने मेयर यज्ञप्रसाद ढकालका छोरा मेघराज ढकालले गरिरहेका छन्।

‘मेयरकै छोराले काम गरिरहेकाले यो विषयमा बोल्ने र कानुन कार्यान्वयन गर्ने हिम्मत कसैले गरेका छैनन्,’ एक कार्यपालिका सदस्यले भने, ‘खोलामा मेयरका छोराको पूरै मनपरी चलिरहेको छ।’

हुन पनि केही दिनअघि इलाका प्रशासन कार्यालय छिन्चुका प्रमुख प्रहरी निरीक्षक मन्दिप चौहान, नगरपालिकाका केही जनप्रतिनिधि र कर्मचारीले उल्लेखित खोलाहरुको स्थलगत अनुगमन गरेका थिए।

अनुगमनका क्रममा ठूला मेसिनरी औजार प्रयोग गरेर नदीजन्य पदार्थको दोहन भइरहेको पाइएको थियो। ०.७५ सेन्टिमिटरसम्म मात्रै नदीजन्य पदार्थको उत्खनन गरिनुपर्ने सम्झौतामा उल्लेख भएपनि ८० सेन्टिमिटरभन्दा बढी गहिरो गरेर खोला उत्खनन गरिएको छ। जसले गर्दा छिन्चु खोला, मुरली खोला र कालपानी खोलामा ठूलाठूला ताल बनेका छन्।

अवैध उत्खनन्ले ताल बनेको क्षेत्र।

छिन्चु खोलाको किनारै किनार रत्न राजमार्ग छ। नगरपालिकाका कर्मचारी र प्रहरी यहीँ बाटो दैनिक आउजाउ गर्छन्। सम्झौतामा ठूला मेसिनरी औजार प्रयोग नगर्ने उल्लेख गरिएपनि दिन दहाडै एक्स्काभेटर र डोजर खोलामा देखिन्छन्। तर, अनुगमन गर्ने, ठेक्का लगाउने र कारबाहीको प्रक्रिया अघि बढाउनुपर्ने निकायहरु भने मौन छन्।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पोखरेल खोलाको अनुगमन गर्दा सम्झौता विपरीत काम भएको पाइएपनि कारबाही प्रक्रिया कसरी अघि बढाउने भन्ने विषयमा अन्योल भइरहेको बताए।

‘कार्यपालिकाले दिएको निर्देशन हामी कर्मचारीले पालना गर्ने हो,’ उनले भने, ‘खोलामा सम्झौता विपरीत काम भइरहेको देखिन्छ, कारबाही गर्न कार्यपालिकाले अनुमति दिँदैन।’

उनले मेयरका छोरा नदीजन्य उत्खनन्मा संलग्न भएको बारे आफूलाई जानकारी नभएको बताए। ‘हामीले प्रक्रिया अनुसार नै ठेक्का लगाएका हौं, ठेक्का दैलेखको एक कम्पनीले पाएको छ,’ उनले भने, ‘मेयरका छोराको संलग्नताका विषयमा मलाई जानकारी छैन।’ 

उनले यसो भने पनि नगरपालिकाबाट हिमाल कन्स्ट्रक्सन कम्पनीको प्रतिनिधिका रुपमा मेयरका छोराले आम्दानी रसिद बुझेको देखिन्छ।

 नगरपालिकाबाट मेयरका छोराले बुझेको आम्दानी रसिद ।

‘नदीजन्य पदार्थको ठेक्का लिएकाले जसलाई प्रतिनिधिका रुपमा खटाउँछ, हामीले उसैलाई रजिष्टरमा हस्ताक्षर गराएर दिन्छौं,’ प्रमुख प्रशासकीय अधिकृत पोखरेलले भने, ‘मेयरका छोराले रसिद बुझेको बारेमा मलाई जानकारी भएन।’

उनले चार दिनका लागि नदीजन्य पदार्थको उत्खनन रोक्न पत्राचार गरिएको बताए। उनले यसो भनिरहँदा छिन्चु खोलामा एक्स्काभेटर र डोजर प्रयोग गरेर नदीजन्य पदार्थको दोहन भइरहेको थियो।

‘हामीले त पत्राचार गरिसकेका थियौं,’ उनले आश्चर्य भावमा भने, ‘अहिले पनि खोलामा डोजर पसेका छन् र ?’ उनले आइतबार फेरि नदीजन्य पदार्थको उत्खनन भइरहेको विषयमा अनुगमन गर्ने तयारी भइरहेको बताए।

‘पहिले पनि अनुगमन भएको हो, सम्झौता र आईइइ प्रतिवेदन भन्दा धेरै उत्खनन भएको पाइएको थियो,’ उनले भने, ‘आइतबार फेरि अनुगमन गर्ने तयारी गरिरहेका छौं।’

भेरीगंगा–१२ का वडाध्यक्ष रामबहादुर डाँगीले जथाभाबी नदीजन्य पदार्थको उत्खनन्ले खोलाहरु उडान भएको बताए। ‘कहीँ तालजस्ता खाडल छन्, कहीँ नदीलाई पनि फर्काइएको छ,’ उनले भने, ‘यस्तै अवस्था रह्यो भने ठूलो विनास हुने सम्भावना छ।’

उनले उत्खनन रोक्न पटक–पटक प्रमुख प्रशासकीय अधिकृत र मेयरलाई भने पनि सुनुवाइ नभएको बताए। ‘म सहित अनुगमनमा जाँदा सम्झौता विपरीत उत्खनन गरिएको, आईइइ प्रतिवेदन भन्दा धेरै नदीजन्य पदार्थ संकलन गरिसकेको, खोला, कुला र खानेपानीका मुहानमासमेत क्षति पुर्‍याएको पाइएको थियो,’ उनले भने, ‘हामीले तत्काल उत्खनन रोकेर छानबिन गर्न माग गरेपनि सुनुवाइ भएको छैन।’

वडाध्यक्ष डाँगीले सम्झौता एउटा फर्मसँग भएपनि मेयर यज्ञप्रसाद ढकालका छोरा मेघराज ढकालले काम गरिरहेको बताए। ‘त्यसैले त मेयरले पनि उत्खनन रोक्ने, अनुगमन गर्ने विषयमा आलटाल गर्दै आएका छन्,’ उनले भने। एक कर्मचारीका अनुसार मेयरका छोरा नै प्रत्यक्ष संलग्न भएकाले कर्मचारीले मात्रै चाहेर केही सम्भव छैन।

नदीजन्य पदार्थको दोहनमा प्रहरीको मौन समर्थन देखिन्छ। इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख प्रहरी निरीक्षक चौहानले पाँच दिनका लागि खोलामा नदीजन्य पदार्थ उत्खनन रोक्ने पत्र आए अनुसार काम भइरहेको बताए।

उनले यसो भनिरहँदा छिन्चु खोलामा एक्स्काभेटर लगाएर नदीजन्य पदार्थ संकलन भइरहेको थियो। उनले आईइइ गरेको ठाउँहरूमा मापदण्ड अनुसार नदीजन्य पदार्थ संकलन गर्न पाउने भएपनि बाँकी ठाउँको विषयमा प्रहरीलाई जानकारी नहुने बताए। 

‘कहाँ–कहाँबाट नदीजन्य पदार्थ संकलन गर्न पाउने हो, कहाँ–कहाँ नपाउने हो त्यो हामीलाई जानकारी हुँदैन,’ उनले भने, ‘रिपोर्ट भएपछि सोही अनुसार गछौं।’

मेयर यज्ञप्रसाद ढकालका छोरा मेघराज ढकालले नदीजन्य पदार्थ उत्खननसँग आफ्नो सरोकार नभएको बताए। उनले नदीजन्य पदार्थको ठेक्का लिएको व्यवसायीले रसिद पठाइदिनु भनेकाले आफूले सहजीकरण मात्रै गरेको बताए।

‘नदीजन्य पदार्थको उत्खनन र संकलनमा मेरो संलग्नता छैन, सहजीकरण गरेको हुँ,’ उनले भने, ‘योसँग सम्बन्धित मान्छे म होइन, तपाईँको टाउको किन दुख्यो ?’

प्रकाशित: २० माघ २०८० २०:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App