५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

कुटाकुटमा दोषी को ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षामा खटिएका प्रहरी र अध्यागमन कर्मचारीबीच शुक्रबार कुटाकुट भयो। विमानस्थलजस्तो संवेदनशील ठाउँमा यात्रा व्यवस्थापन तथा नियमनमा खटिएका निकायका कर्मचारीबीच यो स्तरको झैझगडा भएपछि धेरैको ध्यान त्यसतर्फ केन्द्रित छ।

सरकारले छानबिन समिति नै बनाएर घटनाको अध्ययन गरिरहेको छ। प्रारम्भिक विवाद र कुटपिटका बेला छायांकन भएको भनिएको ‘सिसिटिभी फुटेज’ पनि सार्वजनिक भइसकेको छ। त्यही दृश्यलाई हेरेर पक्ष÷विपक्षमा बहस पनि चलिरहेको छ।

घटनामा संलग्न दुवै पक्षले आ–आफ्नो कमजोरी भने स्विकारेका छैनन्। दुवै पक्ष एकअर्काविरुद्ध आमनेसामने भएका छन्। घटनामा संलग्न व्यक्तिहरू मात्र नभई उनीहरूसम्बद्ध संगठनहरू नै आफ्नाको बचाउमा उभिएका छन्।

अध्यागमन कर्मचारीका पक्षमा विभिन्न निजामती कर्मचारीका संघ÷संगठन उभिएका छन् भने प्रहरी कर्मचारीका पक्षमा विमानस्थल सुरक्षा कार्यालय नै देखिएको छ। जसका कारण यो विषय निकै पेचिलो बनेको छ।

अध्यागमन कर्मचारी र प्रहरीबीच कुटाकुट भएको घटना चेकजाँच गर्ने क्रममा सिर्जित विवादलाई कारण भनिएको छ। सार्वजनिक सिसिटिभी फुटेज हेर्दा पनि अध्यागमन अधिकृत छायालाल मोक्तानलाई ड्युटीमा खटिएका प्रहरीले चेकजाँच गर्न खोज्दा वादविवाद भइरहेको र त्यसपछि धकेलाधकेलबाट परस्पर हातपातसम्म पुगेको देखिन्छ।

उक्त घटनापछि अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमालसहितको टोली सिसिटिभी हेर्न जाँदा सिसिटिभी निगरानी कोठामा पुनः हात हालाहाल भएको थियो।

दुवै घटनामा अध्यागमनका कर्मचारीले प्रहरीले आफूमाथि हातपात गरेको बताएको छ भने प्रहरीले प्रतिरक्षा मात्रै गरेको दाबी गरेको छ। सार्वजनिक भिडियोमा भने अध्यागमन कर्मचारीले पनि हात हालेको र लात्ती हानेको देखिन्छ। तर जानकार स्रोत भने चेकजाँचको विषय मात्र झगडाको कारण मान्न तयार छैन।

दुवै पक्षबीच केही समयदेखि गम्भीर तिक्तता रहँदै आएको स्रोतको दाबी छ। त्यही कारणले गर्दा शुक्रबार हात हालाहालको स्थिति सिर्जना भएको हो। दुवै निकायका प्रमुखहरू पनि यसलाई स्वीकार गर्छन्। तर दुवैले आआफ्नै दलिल पेस गरेका छन् र एकअर्काको दोषारोपणमा उत्रिएका छन्।

विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्द ठकुरी विवादको कारण चेकजाँच नभएर प्रहरीले भिजिट भिसामा गरेको कडाइ रहेको दाबी गर्छन्। ‘भिजिट भिसाका नाममा भइरहेको अवैध मानव तस्करीमा दैनिक करोडौंको कारोबार हुन्छ।

त्यसमा अध्यागमन कार्यालयका केही कर्मचारीको मिलेमतो पनि हुने गरेको सुनिन्छ,’ उनी भन्छन्, ‘हामीले पछिल्लो समय त्यसमा कडाइ गर्न थाल्यौं। त्यही रिस व्यवहारमार्फत हाम्रा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि निकाल्ने क्रम चलिरहेको थियो। अहिले हातहलाइसम्म पुग्यो।’

विमानस्थल सुरक्षा कार्यालयका एक प्रहरी अधिकारी भिजिट भिसामा सहज गरे आफूलाई अध्यागमन कर्मचारीबाटै महिनामा डेढ करोडसम्म दिने ‘अफर’ गरेको बताउँछन्। ‘यो काम सबै अध्यागमन कार्यालयकै सेटिङमा हुन्छ, जसमा अन्तर्राष्ट्रिय स्तरको सेटिङसमेत चल्छ। दैनिक २ हजारभन्दा बढी हाम्रा युवालाई पैसा असुलेर अवैध ढंगबाट विदेश पठाइन्छ। त्यसमा प्रहरी बाधक बनेपछि मुर्मुरिएका कर्मचारी अभद्र व्यवहारमा उत्रिएका हुन्,’ ती अधिकारीले भने।

उता अध्यागमन कार्यालय प्रमुख हमाल भने प्रहरीले विमानस्थल अध्यागमनको कामबाट निजामती कर्मचारीलाई हटाउन खोजेको आरोप लगाउँछन्। उनी भन्छन्, ‘यो सबै निजामती क्षेत्रलाई निरुत्साहित पार्दै हटाएर प्रहरी हाबी हुन गरिएको आक्रमण हो।’

प्रहरीले बर्दी लाएकै भरमा अध्यागमनका काममा जहिल्यै हस्तक्षेप गर्दै आएको उनी बताउँछन्। ‘उहाँहरूको काम सुरक्षा जाँच गर्ने हो। भिसा, पासपोर्ट र अन्य ट्राभल डोकुमेन्ट चेकजाँच गर्ने काम अध्यागमनको हो। तर उहाँहरू त्यसैमा ध्यान दिनुहुन्छ। अध्यागमनका कर्मचारीलाई पनि तनाव दिइरहनुहुन्छ। समग्रमा प्रहरीको नियत नै यहाँबाट निजामतीलाई हटाउने हो,’ उनले भने।

अध्यागमनको मिलेमतोमा भिजिट भिसामा मानव तस्करी भइरहेको भन्ने झुटो आरोप रहेको अध्यागमन प्रमुख हमालको भनाइ छ। ‘यो सरासर गलत आरोप हो। मानव तस्करी भइरहेको भए उहाँहरू के हेरेर बस्कुभएको ? खोइ कति जना समाउनुभयो त ?’ उनले भने, ‘ती सब बहाना हुन्। गेटमा बसेर बार्गेनिङ गर्ने, मिले पठाउने नमिले नपठाउने प्रहरीको नियत छ।’

प्रकाशित: १४ माघ २०८० ०१:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App