१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

कार्यालय प्रमुख नहुँदा सेवा प्रवाहमा समस्या

नयाँ सहर आयोजना कार्यालय बुर्तिबाङमा लामो समयदेखि कार्यालय प्रमुख नहुँदा सेवा प्रवाहमा समस्या भएको छ। कार्यालय प्रमुख अभिषेक अधिकारीको दुई महिनाअगाडि सरुवा भएको थियो। आयोजनाको चालु आर्थिक वर्षको ५० प्रतिशत काम सम्पन्न भइसक्दासमेत कार्यालयले कुनै पनि भुक्तानी दिन सकिरहेको छैन।

कार्यालय प्रमुखका रूपमा रामकृष्ण गिरीलाई विभागबाट खटाए पनि हालसम्म कार्यालयमा उपस्थित नहुँदा कार्य सम्पादनमा समस्या भइरहेको नयाँ सहर आयोजना कार्यालय बुर्तिवाङका सूचना अधिकारी कोमल शाहले बताए।

गिरीले मन्त्रालयबाट पत्र बुझिसकेको तर संघीय कार्यान्वयन एकाइले रमना दिएपछि यसै महिना कार्यालयमा आउने बताए। आयोजनाका लागि यस वर्ष संघीय सरकारले आठ करोड बजेट विनियोजन गरेको छ।

नयाँ सातवटा ठेक्कामार्फत निर्माण कार्य सुरु भइरहेको उनको भनाइ छ। पाँचवटा योजनाको काम सिर्जना एन्ड कुञ्जम जेभी, एउटा श्रीमान् निर्माण सेवा हेटौँडा र एउटा ठेक्का सम्झौता भइसकेको भन्दै अब निर्माणका चरणमा रहेको शाहले बताए। हालसम्म ६ वटा योजनाको कामका लागि ठेक्का सम्झौता भई मूल्यांकनसमेत भइसकेको छ।

सूचना अधिकारी शाहले भनो, ‘हालसम्म ५० लाख रुपैयाँको घम्चिनमा सडकको काम सम्पन्न भइसकेको छ, ढोरपाटन नगरपालिका ३ पुर्कोट सडकको २५ लाखको काम पनि सकियो र कुत्थाप्लामा पार्क निर्माण अन्तिम चरणमा छ, तर भुक्तानी गर्न सकिएको छैन।

गत वर्षको सहित हालसम्म सम्पन्न गरिएका योजनाको चार करोड भुक्तानी दिन बाँकी छ, हाकिम साप आएपछि मात्रै काम हुने हुँदा अहिलेसम्म रोकिएको हो, उहाँ आउनुभयो भने मात्रै काम सुरु हुन्छ।’

आव २०६७÷०६८ देखि सरकारले व्यवस्थित सहर बनाउने भन्दै मध्यपहाडी लोकमार्गका विभिन्न १० स्थान छनोट गरेको थियो, जसमध्ये बुर्तिवाङ पनि रहेको छ। १२ वर्ष बित्न लाग्दा कार्यालयले अपेक्षाअनुसार काम भने गर्न नसकेको स्थानीयको भनाइ छ। –रासस

प्रकाशित: ७ माघ २०८० ०४:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App