१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सवारी दुर्घटनाको त्रुटि पत्ता लगाउन कार्यदल

दिनदिनै सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ।

सडक दुर्घटनाबाट मानवीय, आर्थिक र भौतिक क्षति हुन थालेपछि मन्त्री प्रकाश ज्वालाले भौतिक र प्राविधिक पक्षका त्रुटि पत्तो लगाउन कार्यदल गठन गरेका छन्।

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस शुक्रबार राति दुर्घटना हुँदा ११ जनाले ज्यान गुमाएका थिए भने थानकोट चित्लाङमा भएको दुर्घटनामा पाँच जनाको ज्यान गएको थियो। त्यसैगरी शनिबार बागलुङको बुर्तिबाङबाट ढोरपाटन जाँदै गरेको जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको थियो। दुई दिनभित्र १९ जनाको ज्यान गएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भौतिक तथा प्राविधिक त्रुटि पत्ता लगाउन कार्यदल गठन गरेकोे मन्त्रालयका सहसचिव रघुराम बिष्टले बताए।

सडक दुर्घटनाका त्रुटि र कमजोरी पत्ता लगाउन मन्त्रालयका पूर्वसचिव धनबहादुर तामाङको अध्यक्षतामा पाँच सदस्यीय कार्यदल गठन भएको छ।

संघीय सडक सुपरिवेक्षण कार्यालय सुर्खेतका सुपरिटेन्डेन्ट इन्जिनियर श्यामबहादुर खड्का, सवारी अनुगमन मापदण्ड तर्जुमा र सवारी चालक व्यवस्थापन अन्तरप्रदेश समन्वय, अनुसन्धान शाखाका निर्देशक, प्रहरी प्रधान कार्यालय ट्राफिक महाशाखाका प्रतिनिधि र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सिडिई सुरेश श्रेष्ठ सदस्य सचिव रहने गरी कार्यदल गठन गरिएको छ।

कार्यदललाई विगत एक महिनामा भएका सवारी दुर्घटना, विगतमा भएका कार्यदलका प्रतिवेदन र स्थलगत अध्ययन गर्ने, सडक दुर्घटनाका कारण र पक्षको विश्लेषण गर्ने, सडक दुर्घटना न्यूनीकरण गर्न संस्थागत र प्राविधिक पक्षको विश्लेषण गर्ने गरी जिम्मेवारी दिइएको छ। सडक दुर्घटना न्यूनीकरणका अल्पकालीन, मध्यकालीन र दीर्घकालीन उपायहरू सुझाउन पनि कार्यदललाई जिम्मेवारी दिइएको सहसचिव बिष्टले बताए।

मन्त्रालयका सचिव केशव शर्माको अध्यक्षतामा बसेको बैठकले सवारी दुर्घटनाको अध्ययन गर्न समिति बनाउने, सडक सुरक्षा विज्ञहरूको सूची तत्काल तयार गर्ने, तालिम र जनचेतनामा तत्कालै काम थाल्ने निर्णय गरेको छ।

प्रकाशित: १ माघ २०८० ०१:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App