नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपा सभापति रवि लामिछाने, काठमाडाैंका मयेर बालेन शाह र उर्जामन्त्री कुलमान घिसिङ प्रति लक्षित गर्दै उनीहरूले आगामी २० वर्षसम्म चुनाव जित्न नसक्ने दाबी गरेका छन्।
बुधबार काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको ३५ औं स्थापना दिवसलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मिडिया र सामाजिक सञ्जालले ‘प्रोजेक्ट’ गरेका भरमा देश चलाउन नसकिने बताएका हुन्।
अध्यक्ष ओलीले उम्मेदवार बन्न मन नभएकाहरूलाई पनि सडकबाटै दरखास्त हाल्न लगाइएको भन्दै व्यंग्य गरे। उनले भने, ‘अहिले उम्मेदवार हुन मन नहुनेहरूले सडकबाट दरखास्त हाल, कस्ता मान्छे आउलान् ? झोला भरिएका कि मस्तिष्क भरिएका मान्छे आउलान् ?’
उनले चर्चामा आएका व्यक्तिहरूसँग देश चलाउने भिजन नभएको र उनीहरू केवल हल्लाको भरमा आएको टिप्पणी गरे।
‘देश चलाउन सक्ने मान्छे आउलान् कि हल्ला गर्न सक्ने ? सत्य बोल्ने आउलान् कि झुट प्रचार गर्ने आउलान् ?’ ओलीले प्रश्न गर्दै भने, ‘अहिले प्रोजेक्ट गरिएका मान्छे हेर्दा आश्चर्य लाग्छ। योभन्दा दुर्गति देशको अरू के हुन्छ ?’
ओलीले संगठन र स्पष्ट विचार नभएका शक्तिहरू पानीका फोकाजस्तै भएको बताउँदै एमालेजस्तो बलियो संगठन भएको पार्टीलाई चुनौती दिन नसक्ने जिकिर गरे।
उनले भावनात्मक कुरा गरेर र सेन्टिमेन्टमा बगेर देश नबन्ने भन्दै अहिलेका चर्चित पात्रहरूले २० वर्षसम्म कुनै चुनाव जित्ने सम्भावना नरहेको ठोकुवा गरे।
‘देश चलाउन अनुभव, संगठन र विचार चाहिन्छ,’ ओलीले भने, ‘अहिलेका पात्रहरू हेर्दा देशसँग मजाक गरिएको जस्तो लाग्छ।’
प्रकाशित: २३ पुस २०८२ १७:३७ बुधबार





