७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

‘तपस्वी’ बम्जनको घरबाट ३ करोड बढी रकम बरामद

तस्बिर; विजय राई/नागरिक

‘तपस्वी’ रामबहादुर बम्जनको निवासबाट ३ करोड ३४ लाख ६७ हजार ९०६ रुपैयाँ बरामद गरिएको छ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) ले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो।

नेपाल प्रहरीले २०७६ सालमा नै सर्लाहीमा एक नाबालिकामाथि यौनदुराचार गरेको अभियोग लागेका बम्जनलाई खोजी गर्दै आएकोमा मंगलवार बेलुका (हिजो) उनको काठमाडौंको हात्तीगौंडास्थित निवासबाट पक्राउ गर्न सफल भएको थियो।

थप अनुसन्धानको क्रममा उनको घरबाट ठूलो धनराशी बरामद गरिएको पनि सिआईबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यले जानकारी दिए। उनका अनुसार बरामद गरिएका नगद राशिमध्ये १७ देशका विभिन्न मुद्राहरु रहेको र त्यसको नेपाली रकम ३० लाख ९२ हजार ४०६  हुन्छ।  त्यसैगरी प्रहरीले उनको घरबाट १४ थान मोबाईल, ५ थान आईप्याड, २ वटा गाडी र ४ वटा मोटरसाईकल पनि फेला पारेको छ।

एसएसपी आचार्यले भने, ‘लामो अनुसन्धान र प्रयासपछि केन्द्रिय अनुसन्धान ब्युरोद्वारा रामबहादुर बम्जन भनिने रामलाल बञ्जनलाई हिजो बेलुकी हात्तिगौँडाबाट पक्राउ गर्न सफल भएका छौं। विशेष गरेर २०७६ सालमा सर्लाहीमा एक जना नाबालिकालाई बालयौन दुराचार बलात्कारको केशमा निज रामबहादुर बञ्जनको खोजिभईरहेको अवस्था थियो। यसै सन्दर्भमा विभिन्न मानिसहरु पनि हराइरहेको भन्ने सूचना पनि प्रहरीसँग आएको थियो। निज बम्जनको खोजी केन्द्रिय अनुसन्धान ब्यूरेले लामो समयदेखि गरिरहेको अवस्था हो। र यसै पक्राउको सन्दर्भमा हिजो निजलाई पक्राउ गर्दाखेरी निजको निवासबाट ठूलो संख्यामा नेपाली रुपैयाँ टोटल ३ करोड ३ लाख ७५ हजार ५ सय रुपैयाँ विभिन्न देशका मुद्राहरुको नेपाली रुपैयाँमा कन्भर्ट गर्दाखेरी ३० लाख ९२ हजार ४ सय ६ रुपैयाँ बरामद भएको थियो। र यो नगदको साथसाथै अन्य थुप्रै सामानहरु बरामद गरिएको छ । जसमा मोबाइल १४ थान, आईप्याड ५ थान र निजको साथमा २ वटा गाडीहरु र ४ वटा मोटरसाइकल पनि रहेको पाइएको छ । थप अनुसन्धानको काम पनि भइरहेको छ।’

ब्युरोले आज पक्राउ परेका बम्जनलाई सर्लाही जिल्ला अदालतमा उपस्थित गराउने तयारी गरेको छ। उनीमाथि आफ्ना चेलाहरुको हत्या गरेको आरोप पनि लगाइएको छ। त्यसैगरी बम्जनको घरबाट बरामद भएको १७ देशको विदेशी मुद्रासहितको ठूलो धनराशीबारे पनि थप अनुसन्धान गरी तत्काल कारबाही प्रक्रिया अघि बढाउने सिआईबीले जनाएको छ।

प्रकाशित: २५ पुस २०८० ०८:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App