जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफ्नो पार्टीमा सांसद नै नभएका व्यक्ति पनि मन्त्री हुन चाहना राख्ने गरेको बताएका छन्।
बुधबार नागरिक फ्रन्टलाइनमा कुरा गर्दै अध्यक्ष राउतले संघर्षकाल भन्दा सहजकालमा धेरै नेता अवसरवादी हुने बताएका हुन्।
‘सरकार र संसद्मा जाने बित्तिकै मारामार छ। हाम्रै पार्टीमा के छ भने जो चाहिँ सांसद नै छैन, के भनिरहेका छन् भने मलाई ६ महिनाका लागि मन्त्री बनाइदेऊ संविधानको यो धारामा व्यवस्था बनाइदेऊ भनिरहेका छन्,’ राउतले भने, ‘यो भनेको अवसरवादी चरित्र हो।’
यसो गर्दा आफूलाई नराम्रो लाग्ने उनले बताए। उनले भने, ‘यसमा धैर्यता राख्नुपर्छ। मैले आफै मन्त्री नभएर अरूलाई मन्त्री बनाएको छु, अरूलाई मौका दिएको छु। म आफै पनि हुन सक्थेँ।’
६ महिनाका लागि मन्त्री हत्तपत्त सबैलाई बनाइहाल्न त्यो व्यवस्था नगरेको राउतले बताए। ‘त्यो आकस्मिक र असाधारण अवस्थाका लागि हो। त्यसको दुरुपयोग हुँदैन,’ उनले भने।
प्रकाशित: १० वैशाख २०८२ १९:३० बुधबार





