१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

‘तपस्वी’ बम्जनका १८ वर्ष

तस्बिर: ‘तपस्वी’ राम बहादुर बम्जन

लिटिल बुद्धको नामले चिनिएका ‘तपस्वी’ रामबहादुर बम्जन निजगढ नगरपालिका १२ साबिक रतजपुरी गाविसको बुन्जर भन्ने स्थानमा जन्मिएका हुन्।

वि.स. २०४६ सालमा आमा माया तामाङ र बुवा वीरबहादुर बम्जनबाट जन्मेका पाँच दाइ भाइ मध्ये उनी साइला छोरा हुन्।

३४ वर्षीय रामबहादुर बम्जन कक्षा ३ पढदै गर्दा २०६२ जेठ २ मा घरबाट बाहिरिएर तपस्या सुरु गरेका उनका अनुयायीहरूले दाबी गरेका छन्। घरबाट केही किमी टाढा हलखोरियाको चारकोसे जङ्गलमा तपस्या सुरु गरेका उनी सुरुदेखि नै विवादित रहँदै आएका छन्।

कहिले आफूबिरुद्ध बोल्नेलाई बन्धक बनाउने होस् त कहिले सर्वसाधारण तथा पत्रकार कुटेर होस् वा गढीमाई मेलामा बलि रोक्ने विषयमा होस्। त्यस्ता क्रियाकलापमा बम्जन कहिले आफैँ त कहिले उनीप्रति श्रद्धा राख्ने धर्मगुरु वा अनुयायी संलग्न हुन्छन्।

कुनै कुनै रुपमा चर्चामा आइरहने तपस्वी भनिएका बम्जन सुरुदेखि नै विवादमा छन्। २०७२ सालमा बम्जनले चारकोसे हलखोरिया  निजगढ नगरपालिका ११ का दुई जना युवाहरू  उत्तिम गुरो र सोनम कुमरलाई मादक पदार्थ सेवन गरी जथाभाबी बोलेको भन्दै रातभर बाँधेर राखे थिए।

बाँधेर राखिएकाहरूलाई उद्धार गर्न तपस्या स्थल हलखोरिया पुगेका स्थानीय र बम्जनका अनुयायी बिच झडप भएको थियो। झडपको क्रममा बम्जनका चालक रुपबहादुर थिङ र अनुयायीहरू लमजुङका समिर गुरुङ र नागराज नामका एक बालक घाइते भए। ‘हलखोरिया पुगेका स्थानीयमाथि बम्जनले लाठी प्रहार गरेपछि दोहोरो झडपको पीडितहरूले आरोप लगाएका थिए।

बम्जनको सुरक्षाका लागि सक्रिय बोधी श्रवण धर्म संघका केही पदाधिकारीले बोक्सीको आरोपमा विदेशी नागरिक सहित दुई महिलालाई तीन महिना बन्धक बनाएर राखेका थिए। प्रहरीले बल प्रयोग गरेर बन्धकमा परेकी सिन्धुपाल्चोक घर भई निजगढमा बस्दै आएकी माता (आनी) नामकी महिला र स्भलोभाककी मारिची भनिने टाकाक सुसाना घाइते र लुटिएकी अवस्थामा उद्धार गरेको थियो।

हलखोरिया जङ्गलमा च्याउ लिन पुगेका मनहर्वाका १७ सर्वसाधारणलाई पनि नियन्त्रणमा लिई कुटपिट गरेको आरोप बम्जन माथि लागेको थियो।

विदेशमा बोलाहट आएको भन्दै नाम परिवर्तन गरी नागरिकता र पासपोर्ट बनाउन खोजे पछि जिल्ला  प्रशासन कार्यालय बाराले नबनाइदिए पछि उनका अनुयायीहरूले लामो समय पूर्व –पश्चिम महेन्द्र राजमार्गको निजगढमा अवरोध गरेर  विरोध प्रदर्शन गरेका थिए।

गाउँ घरमा उनको चलन चल्तीको नाम रामबहादुर बम्जन भएपनि पछिबाट ‘धर्मसंघ बम्जन’ भन्ने नाम राखी नागरिकता लिन खोजेपछि प्रशासनले रोक लगाएको थियो।

नागरिकता नबनाइदिएको भन्दै बम्जनले आफनै दिदी असली र आमा मायादेवी र अर्की राजकुमारीलाई कुटेको घटना सार्वजनिक भएको रतनपुरीका स्थानीयहरूले बताएका छन्।

तपस्वी बम्जनको संरक्षणमा सुरुमा बोधि श्रवण धर्म संघका संस्थापक अध्यक्ष बेद बहादुर थिङले तपस्वी राम बहादुर बम्जनलाई तपस्याबाट ज्ञान प्राप्त गरेका व्यक्ति भएको दाबी गरेका छन्। तपस्वी बम्जनलाई अनावश्यक विवादमा पर्ने कार्य राज्यले गरेको आरोप उनले लगाए।

गुरुले हासिल गरेको ज्ञानको कडर गरेर उनीलाई मान समान गर्नुको साट्टो उनलाई विवादित बनाएर नियन्त्रणमा लिएको कार्य ठिक नभएको तर्क थिङले गरे।

बाराका प्रहरी उपरीक्षक सुरेश काफलेले तपस्वी भनिएका रामबहादुर बम्जन विरुद्ध कुटपिट , शरीर बन्धक लगायतका उजुरीहरू पहिला देखि नै परेको बताएका छन्। पहिला देखि परेको उजुरीहरूको आधारमा बारा प्रहरीले पनि कारबाही प्रक्रिया अगाडी बढाउने काफ्लेले बताए।

प्रकाशित: २५ पुस २०८० ०८:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App