१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

विमान कुर्दाकुर्दै सुत्केरीको ज्यान गयो

उपचारका लागि नेपालगन्ज जान विमान नपाएपछि ज्यान गुमाएकी हुम्लाकी २३ वर्षीया सुत्केरी अंशु बुढा । उनको सोमबार राति बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्य भएको हो । तस्बिर : नागरिक

नेपालगन्ज जाने विमान कुर्दाकुर्दै हुम्लाकी एक सुत्केरीको बाजुराको कोल्टीमा ज्यान गएको छ। विमानको प्रतीक्षा गर्दागर्दै हुम्ला ताजाकोट गाउँपालिका–५ की २३ वर्षीया सुत्केरी अंशु बुढाको बाजुरा जिल्लाको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा सोमबार राति १० बजे मृत्यु भएको हो।

यही पुस १२ गते हुम्लाको ताजाकोट गाउँपालिकाको मदना स्वास्थ्य चौकीमा उनी सुत्केरी भएकी थिइन्। सुत्केरी भएको ११ दिनपछि अंशुमा श्वास–प्रश्वाससम्बन्धी समस्या देखिएपछि परिवारले उपचारका लागि मदना स्वास्थ्य चौकी लगेका थिए। त्यसपछि थप उपचारका लागि उनलाई बाजुराको कोल्टीस्थित प्राथमिक स्वास्थ्य केन्द्र लगिएको ससुरा जितबहादुर बुढाले बताए।

जितबहादुरले भने, ‘सुत्केरी हुँदा बुहारी र नातिनीको अवस्था ठीकै थियो। ११ दिनपछि एक्कासि बुहारीमा ज्वरो आउने, टाउको दुख्ने र सास फेर्नेजस्ता समस्या देखिए। उपचारका लागि मदना स्वास्थ्य चौकी लगियो। त्यहाँ उपचार नभएपछि डाक्टरले नेपालगन्ज लैजान भने। नेपालगन्ज जाने विमान नआएपछि बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा लगेर भर्ना गर्‍यौं।’ जितबहादुरका अनुसार कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरेर विमान, हेलिकोप्टरको प्रतीक्षा गर्दागर्दै अंशुको मृत्यु भयो।

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर रन्जित शाहका अनुसार उपचारका क्रममा सोमबार राति १० बजे अंशुको मृत्यु भएको हो। डा. शाहले भने, ‘सुत्केरी अवस्थामा सामान्यतया अक्सिजनको मात्रा ९५ भन्दा माथि हुनुपर्छ। कोल्टी ल्याउँदा बिरामीको शरीरमा अक्सिजनको मात्रा ४९ मात्रै थियो।’

दुर्गम क्षेत्रमा जोखिममा परेका विपन्न समुदायका गर्भवती र सुत्केरीको समयमै हवाई उद्धार गर्न राष्ट्रपति महिला उत्थान कार्यक्रम सञ्चालनमा रहे पनि पहुँच नपुगेपछि अंशुको ज्यान गएको हो।

प्रकाशित: २५ पुस २०८० ००:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App